विद्युतीय गाडीको माग अत्याधिक, ६ महिनासम्म पाउँदैनन् ग्राहकले

  २०७९ मंसिर ६ गते १३:५०     विकासन्युज

काठमाडौं । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएसँगै पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दै गएकाे छ । सरकारले देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाएसँगै विद्युतीय गाडीको मागमा थप चाप परेकाे व्यवसायीहरु बताउँछन् ।

विद्युतीय गाडीको माग उच्च हुँदा बुकिङ गरेको ६ महिनासम्म समेत दिन नसकिएको बिक्रेताहरूकाे भनाई छ ।

विद्युतीय गाडी बिक्री गर्दै आएको हुण्डाईले विद्युतीय गाडीको माग धेरै हुँदा पुर्याउनै मुस्किल हुण्डाईको थापाथली शाे रुमका म्यानेजर दीवाकर रेग्मीले बताए । ‘हामीकहाँ गाडीको माग उच्च छ, उत्पादन कम्पनीले हामीलाई समयमा नै गाडी दिन नसक्दा बुकिङ गरेको ६ महिनासम्म लाग्ने गरेको छ’, उनले भने ।

जेठदेखि रोकियो एमजी ग्राडीको आयात

गत जेठदेखि एमजी ब्राण्डका गाडीको बिक्री वितरण रोकिएको छ । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको भन्सार र अन्तशुल्क करमा बृद्धि गरेपछि एमजी ब्राण्डका गाडीहरु बिक्री वितरण रोकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले चालुआर्थिक वर्षको बजेटमा १०० किलोवाट क्षमतामाथिका विद्युतीय साधनको भन्सार र अन्तशुल्क दुबैमा बृद्धि गर्दाको प्रत्यक्ष असर एमजी ब्राण्डको गाडीलाई परेको छ । १०० किलोवाट क्षमताभन्दा माथि रहेको एमजी ब्राण्डका गाडीको मूल्य बजेटपछि ३० लाख रुपैयाँसम्म बढेको र नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल बताउँछन् ।

‘हामीसँग अहिले कुनै पनि मोडलका गाडीको स्टक छैन्, पछिल्लो समय विद्युतीय गाडीको माग अत्याधिक हुँदा हामीसँग गाडीको मौज्दात नै हुदैनथ्यो, ल्याउँदै बिक्री गर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘बजेटपछि हामीसँग गाडी नै छैनन्, बजेटकै कारण एमजी ब्राण्डका गाडीहरु बिक्री गर्न सक्ने अवस्था छैन्, गत जेठदेखि हामीले गाडीहरु बिक्री गर्न सकेनाैं।’

उनले बजेटकै कारण नयाँ गाडीहरु ल्याएर बिक्री गर्ने वा यतिकै बस्ने भन्ने विषयमा छलफल भैरहेको बताए । ‘बजेटपछि हाम्रा गाडीहरु महंगो भयो, मंहयो भएपछि ग्राहकलाई पुरानै मूल्यमा बिक्री गर्न सक्ने अवस्था रहेन, गत जेठदेखि हामी यतिकै बसिरहेका छौं’, उनले भने, ‘एउटै गाडीको मूल्य २० देखि ३० लाख रुपैयाँले बढेको छ, हामीले गाडी ल्याउँछौँ, तर उपभोक्ताले खरिद गर्न नसक्ने भएपछि सजाएर मात्रै राख्ने कुरा भएन ।’

सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो ।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । १०० किलोवाट देखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ ।

हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.