२०७९ मंसिर ४ गते १३:५१ लक्ष्मी पण्डित
यस धर्तीमा अमर भन्ने कुरा सायद विरलै पाइन्छ, बस् आउँछन् जान्छन् । यो दुई दिने जीवन तैपनि धेरै प्रकारका घटनाहरू घटिरहेका हुन्छन् । ती पलहरूमध्ये केही खास हुन्छन् त केही खासै हुँदैनन्, कुनै मतलबका हुन्छन् कुनै बेमतलबका कुनै तिता हुन्छन् त कुनै मिठा, कुनै सम्झनलायक हुन्छन् कुनै बिर्सनलायक, कुनै चोट दिने हुन्छन् कुनै शोक, कुनै रम्य हुन्छन् त कुनै सौम्य, सबलाई समेटेर याद गरिराख्न सम्भव पनि हुँदैन । फेरि मिठा-मिठा पलहरूको मात्र सँगालो बनाउन चाहेर पनि सकिँदैन तर पनि कुनै-कुनै यस्ता पल हुन्छन् जुन चाहेर पनि हामी बिर्सन सक्दैनौं । एकदमै छोटो पलको हुन्छ तर यादगार बनेर जीवनभर बसिदिन्छ, पुरानो हुन्छ तर मौकामा आँखाका अगाडि ताजा गराइदिन्छ ।
दिनभरिको हिँडाइपश्चात् भोक र प्यासले तड्पिएको थकित शरीरलाई कुर्सीको आड दिन नपाउँदै टेबलमा राखिदिएको रातो कार्डमा मेरो आँखा पर्छ । कार्ड समाउन नपाउँदै लक्ष्मी नानीलाई भेट्नुछ भन्दै हुनुहुन्थ्यो । ढिला हुने थाहा पाएपछि कार्ड छोडेर जानुभयो भन्दै कार्ड उठाएर मेरो हातमा थमाई दिएर सहयोगी भाइ ढोकाबाहिर लाग्छ । मेरो आँखाले त परिचित नामलाई मात्र हेर्दै थियो तर मनमस्तिष्क भने उहाँको त्यो सफल इतिहासलाई पढ्न व्यस्त भइसकेका थिए । कुनै समयको कुनै–कुनै पलका भेटहरू यस्तो दैवसंयोग नै बनिदिन्छ कि जसले जीवनलाई अथाह नै परिवर्तन गरिदिन्छ । सुनमायाको जीवनमा पनि यस्तै भएको थियो ।
केही समय अगाडि बट्टाई दाइले कामका सिलसिलामा एक जना आमालाई लिएर आउनुभएको थियो । बट्टाई पालेको हुनाले हामी उहाँलाई बट्टाई दाइ भन्थ्यौं । उहाँ पनि सहुलियत कर्जाका ग्राहक हुनुहुन्छ । उहाँलाई २ वर्षअगाडि सहुलियत कर्जा दिएर नेपाल बैंकको ग्राहक बनाउन सफल भएका थियौं । उहाँको वास्तविक नाम ठग बहादुर भएकाले बट्टाई दाइ भन्दा हामीलाई सहज हुन्थ्यो । फेरि पनि कर्जाकै कुरा त होला नि भन्नठानेकी थिएँ मैले त । हुन त उहाँ बारम्बार आइरहने नै ग्राहक हुन् तर साथमा कोही भएकाले मलाई त्यस्तो लागेको थियो ।
मेरो भ्रम चिर्दै म्याडम अप्ठयारो पर्यो, उहाँलाई सहयोग गरिदिनुपर्यो भन्दै ढोकाबाट हँसिलो मुद्रामा छिर्नुभयो । रेमिट्यान्सबाट आएको रकम जम्मा गरेर छोराको भिसाका लागि तयारी गर्दै हुनुहुँदो रहेछ । तर, पाँच हजार कम भएपछि काम रोकिएकाले समाधान खोज्न आउनुभएको भनेर बेलिविस्तार गर्नुभयो । समस्यासँगै समाधान पनि हुन्छ नै । कुनै सजिलै भेटिन्छ कुनैलाई मेहनत कडै लगाउनुपर्छ । जो कोही सहयोग माग्न आउँछन् भने समस्या देखाउन मात्र आएका हुँदैनन्, समाधान पनि सँगै खोज्दै आएका हुन्छन्, त्यो पनि तपाईंबाट नै । तपाईंसम्म आइपुग्दा धेरै आफन्तहरु दोबाटो छोडिएका हुन्छन्, अनि धेरै आफन्तहरू ओझेलमा पारिएका हुन्छन् ।
तपाईंसम्म आइपुग्दा तपाईंप्रति बनेको सकारात्मक सोच अनि आँखामा देखिने एक प्रकारको यकिनको चमकलाई मर्न नदिन हामीले केही न केही कोसिस त गर्नैपर्छ । हाम्रो कोसिसले जस्तो सोच चमकले आउनुभएको थियो नि, नखल्बलीकन नै जस्ताको तेस्तै फर्किन सक्छ । जीवनभर तपाईंप्रतिको सम्बन्ध त्यस्तै नै रहन्छ र आभारी बनिरहन्छ । यो मेरो नितान्त व्यक्तिगत सोच होला तर यस्तो मौका कहिलेकाहीँ आउँछ बारम्बार आउँदैन, यो पनि सत्य हो । त्यसैले कहिलेकाहीँ आउने यस्तो मौकामा हामी झुक्न पनि सक्नुपर्छ, कोल्टे फेरेर साइड दिन पनि सक्नुपर्छ ।
कुलको इज्जतका लागि होस्, व्यक्तिको पहिचानका लागि होस्, या त संस्थागत गुडविलका लागि, कारण जे होस् हामी चेतनशील प्राणी, नभए पनि भएको जस्तो, पेट नभरिए पनि पेट भरिएको जस्तो, नसके पनि सकेको जस्तो देखिन सक्नुपर्छ, मौकामा । समस्याको समाधान हुन्न र सक्दिनँ भन्ने विकल्प हो जस्तो लाग्दैन मलाई । निस्वार्थ सेवाले ग्राहक खुसी बनाउन सक्नु नै हामी कर्मचारीको कर्तव्यको पहिलो चुनौतीपूर्ण खुड्किलो हो जस्तो लाग्छ मलाई । यसै क्रममा रेमिट्यान्स खातालाई बैंकले दिएका सुविधाहरू थाहा पाएर उहाँले रेमिट्यान्स खाता नै खोल्ने भनेपछि पक्रिया गरेर रेमिट्यान्स खाता खोलिदियौं । यो गुन कहिल्यै बिर्सिन सक्ति नँ नानी, धन्य छौँ, म आउँदै गर्छु नि नानी भन्दै जानुभएको थियो । तर, जाने बेलामा बैंकको बुसर हातमा राखिदिँदै आमा, नेपाल बैंकमा पनि खाता खोल्नुस् न धेरै सुविधाहरू आएका छन्, पुरानो बैंक तपाईंहरूकै विश्वासिलो बैंक पनि भनेकी थिएँ मैले ।
धेरै समय अगाडि यसरी चिनजान भएको मान्छे फेरि एकदिन लौन नानी यो नजिकतिरको सुन पसलहरूसँग कुरा गरिदिनू न, अनि फोन नं. छ भने दिनुस न, मलाई आपत् पर्यो भन्दै हस्याङफस्याङ गर्दै एक्लै आउनुभयो । उहाँको नाम सुनमाया हो, एकछिन आराम गर्नुस् अनि है आमा, ग्लासमा पानी दिँदै भनेँ । आमाको उमेरकी भएकीले म उहाँलाई आमा नै भन्थे, अनि उहाँलाई म्याडम शब्द दोहोर्याई रहन अप्ठयारो भइरहेको थियो, नानी, छोरी जे भन्दा नि हुन्छ नि आमा भनेपछि नानी भन्न थाल्नुभएको थियो ।
निधारको पसिना हातले पुछ्दै बेलिविस्तार लगाउन थाल्नुभयो । नानीबाबु स्कुल गएका थिए, छोरा कलेज र म बाहिर काममा गएका बेला घरमा कोही नभएको मौका पारेर घरमा भएको सबै पैसा र सुन चोरिदिएछ । बोका, खसी र कुखुरा बेचेर भर्खरै एक लाख पैसा र केही सुन घरमै राखेकी थिएँ, सबै चोरेछ, कस्तो दशा रहेछ मेरो, मलाई पनि आजै निस्कनुपर्ने, सँगै लानुपर्ने रहेछ, मुन्छे पनि थाहा छ मलाई भन्न मिलेन के गर्नु भन्दै रुँदै सुनाउन थाल्नुभयो । तर सुन यतै बाँडाकामा नै बेचेको हुनुपर्छ, मेरो सुन चिन्छु म, नानी यही भएर म आएकी यहाँ, एकै सासमा सबै भन्नुभयो ।
यसमा मैले गर्न सक्ने त गरौंला आमा भन्दै नम्बर दिएर फोन पनि गरिदिएँ नजिकको चिनेको पसलेलाई अलि शान्त भएपछि अब तपाईं यो बैंकमा महिला बचत खाता पनि खोल्नुस् आमा भनें । यस्तो त कति देखेको सुनेको थिएँ, आज आफैलाई परेर चेतें मैले । बानी नभएर होला पैसा जति घरमै राखिन्छ । बोका, खसी र कुखुरा बेचेको पैसा राखेपछि त ब्याज पनि पाइन्छ है नानी, कति पाइन्छ ? हो नि आमा, पाइन्छ भन्दै बेलिविस्तारसँगै खाता पनि खोलिदिएँ । फेरि सुन राखेर सस्तो ब्याजमा कर्जा पनि पाइन्छ आमा ।
भन्नुस् त कति ब्याज तिर्नुहुन्छ सुनपसलेलाई, २४ प्रतिशत नानी क्या करम चोट्टेमा काम लाग्ने भनेर मात्र अस्तिको पटक त सिक्री नै परिवर्तन भएजस्तो लाग्यो, दुईपट्टिको साइज नै फरक भएर थाहा पाएँ नानी, निधार खुम्चाउँदै भन्नुभयो । कसलाई विश्वास गर्नु अब नानी । बेचैनीसाथ बोलिरहनुभएको थियो । के गर्नुहुन्छ त आमा यति धेरै बैंकहरू खुलेका छन् । कति सुविधाहरू ल्याएका छन् । अझ महिला र जेष्ठ नागरिकलाई झन् थप सुविधाहरू पनि दिएको छ । तपाईंहरू भने यस्तैमा फस्नुहुन्छ । अनि हो नि नानी अरूमा त होइन सरकारको बैंकमा खाता खोल्न पाए हुन्थ्यो भन्ने थियो आज पूरा भो । अलि अक्षर चाहिँ चिन्न सक्ने लेखपढ रहेछ उहाँको । त्यो दिन पनि बचत खाता खोलेर जानुभयो ।
त्यसको एक हप्तापछि फोन गर्दै भन्नुभयो नानी अचम्मै भयो आज । म त्यहाँबाट आएपछि भोलिपल्ट सबै बाँडाहरूकोमा गएँ तर सुन भेटिन, माया मारिदिएकी थिएँ, आज अचानक मेरो ढोकाभित्र राखिदिएर गएछ पैसा त सोध्न भ्याईहालेँ, पैसा चाहिँ खाए अब भन्नुभयो । ल ल आमा जे हुनु भयो अब यस्तो गल्ती नगर्नुस् है भने । नेपाल बैंकमा खाता खोलेपछि म ढुक्क हुन थालेकी छु । मलाई भगवानको अदृश्य सहारा मिलेजस्तो आभास भएको छ । म एक दुई दिनमा फेरि आउछु बैंकमा काम छ भन्नुभयो ।
केही दिनपछि आउनुभयो सुन राखेर कर्जा निकाल्न । केही कुखुराका चल्ला ल्याउनका लागि धरौटी राख्नुपर्ने रे भन्दै । सबै मिलाएर कर्जा दिएर पठाइदियौं । बैंकप्रतिको भ्रम पालेर बसेको उहाँ सस्तो ब्याज र सहजता देखेर धेरै नै खुसी भएर जानुभयो । त्यसको दुई महिना नबित्दै आएर कर्जा चुक्ता गरेर मुद्दती खाता खोलेर जानुभएछ । म अफिसमा नभएकाले फोन गरेरै सबै बेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो कि सुन कर्जा लिएर किनेको चल्ला ४५ दिनमा बेच्न मिल्ने हुनेरहेछ । त्यही कुखुरा बेचेर आएको रकम बैंकमा मुद्दती खातामा राखेर आएँ । उहाँको बोलीका शब्दबाटै म महसुस गर्थे कि कति खुसी हुनुभएको छ भनेर । अझै भन्दै हुनुहुन्थ्यो रेमिट्यान्स रकमको खातामा त कति धेरै ब्याज आउने रहेछ नि नानी अर्काे पटक त त्यो पनि खोल्छु ।
यसरी नै उहाँको बैंक आउने र जाने त पानी पँधेरो जस्तो भैसकेको थियो । फेरि अर्काे दिन बैंकले महिलालाई सहुलियत कर्जा दिन्छ भन्ने सुनेर आएकी म । अझै बाख्रा, बोका, कुखुरा थप्छु नानी भन्नुभयो । हुन्छ नि आमा हजुरको सबै कागजात हुनुपर्छ भनेपछि भएको कागजात छोडेर जानुभयो । धेरै वर्ष अगाडि दर्ता भएको नेपाली कागजसँगै बाँकी सबै कागजात लिएर आउनुभएको रहेछ । आउनुभन्दा अगाडि बैंकमा फोन गरेर बुझ्नु भएको रहेछ, पछि थाहा पाएँ । पढाइ कम भएर के भयो र अनुभवको परिपक्वतासँगै बाठो पनि हुनुहुँदो रहेछ भन्ने थाहा भयो मलाई । सबै कागजातसँगै उहाँको अनुभव, मेहनत र इमान्दारिताका आधारमा महिला उद्यमी सहुलियत कजौ दिन सफल भयौं । आज ३ वर्षको अन्तरालमा उहाँ नेपाल बैंकको सहकार्यमा एउटा सक्षम कृषि महिला उद्यमी बन्न सफल हुनुभएको छ । आज फोनमा भन्दै हुनुहुन्छ हामी महिलाहरूका लागि कस्तो राम्रो बचत खाता ल्याएको रहेछ नेपाल बैंकले ।
मैले त नारी सम्मान बचत खाता पनि खोलें नानी, लकर चार्ज रकममा पनि भारी छुट रहेछ लकर पनि लिएँ, डिम्याट/एटिएम/एसएमएस सबै निशुल्क रहेछ सबै लिएँ । अब त सेयर कारोबार पनि गर्छु नि नानी । यसमा पनि बैंकले सहयोग गर्छ कि नाइँ भन्दै मोबाइलमा हाँसिरहनुभएको थियो । नेपाल बैंकले दिएका सुविधाहरु मैले सजिलै सबै लिइरहेकी छु । अब त झन् घर नजिकै टोखामै नेपाल बैंक आएको छ । सुनमा सुगन्ध भएको छ नानी भन्दै हुनुहुन्थ्यो । सधैँ भन्नुहुन्छ बैंकको म प्रतिको विश्वासको सदुपयोगका कारण नै म आज नाम मात्रको नभई सही अर्थमा नै महिला उद्यमी हुन सफल भएकी छु । यसको असली धन्यवादको पात्र नेपाल बैंक हो नानी । धेरै धेरै धन्यवाद, आभारी छु नानी भनेर कहिल्यै थाक्नुहुन्न ।
सधैँ भन्नुहुन्थ्यो मेरी जेठी छोरीलाई पनि बैंकर बनाउने हो । ऋण गरेर भए पनि म छोरीलाई पढाउने हो । त्यसैको प्रतिफल हो, सस्तो ब्याजमा नेपाल बैंकले दिएको शैक्षिक कर्जा लिएँ । उच्च शिक्षाका लागि छोरीलाई अस्ट्रेलिया पठाउँदै हुनुहुन्छ । ढोका घर्याक्क खोलेको आवाजसँगै झस्किएँ म, कान्छो छोराको व्रतबन्ध गर्न लागिएकाले निम्ता गरिएको रहेछ रातो कार्डमा त्यसै कार्डभित्र सानो सेतो कागजका टुक्रामा लेखिएको थियो ‘नेपाल बैंक छोडेर कतै जाँदिनँ अब, नेपाल बैंकसँग सदा सदाको साथ रहनेछ, नेपाल बैंकप्रति म सदा आभारी रहनेछु, धेरै धेरै धन्यवाद !’
(लेखक नेपाल बैंकको उप-प्रबन्धक पदमा कार्यरत छिन् । नेपाल बैंकको विशेषाङ्क २०७९ बाट साभार)
Copyright © 2023 Bikash Media Pvt. Ltd.