मलेसियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा सुरु

  २०७९ मंसिर १ गते १९:३०     विकासन्युज

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा शुभारम्भ गर्दै राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकसँग अन्तक्र्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए ।

सुरक्षागार्ड तथा सरसफाइसम्बन्धी कम्पनीमा कार्यरत नेपाली श्रमिकको गुनासो आएपछि उहाँले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए ।

राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएरसमेत छलफल गर्दै आएका छन् । मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरशः पालना गरिने उनले बताए ।

सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढथापालगायत दूतावासका कर्मचारी उपस्थित थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.