इको प्यानलसँगै पर्यटनमा पनि जम्दै कृष्णभक्त

  २०७९ कार्तिक २८ गते १७:३२     राजिव न्यौपाने

काठमाडौं । कम्पनी खोलेर मात्र हुँदैन, एउटा सफलताको श्रेणीमा पुर्याउनको लागि निकै मेहनत र लगनशिलता चाहिन्छ । यतिले मात्र पुग्दैन, समय पनि चाहियो । एउटा व्यक्तिले दुई/तीन पेशा अगाँल्नु आफैमा चुनौतिको विषय पनि हो । तर, भक्तपुरका कृष्ण भक्त दुवाललाई तीन वटा पेशा सँगै आत्मसाथ गरेर अगाडि बढ्ने बानी परिसकेको छ । बिहान–बेलुकाको समयमा कलेज पढाउने र दिउँसो उद्योग व्यवसाय सम्हाल्नमै उनको दिन बित्छ ।

भक्तपुरको एउटा सामान्य परिवार । बुबा कृषक । आमा घरको काम सम्हाल्थिन् । सानैदेखि चनचले कृष्णभक्त पढाइमा भने अब्बल । वि.सं २०३६ सालमा भक्तपुर नगरपालिकाको थाल्छेमा जन्मेका उनी कक्षा ४ सम्म घर नजिकैको विद्यालयमा पढे । वि.सं २०४९ सालदेखि उनले पढ्दै गरेको विद्यालयलाई छाडेर सिद्धार्थ वनस्थली इन्स्टिच्युट बालाजुमा पढ्न थाले । उनले कक्षा १० सम्मको पढाइ सोही विद्यालयबाट पूरा गरे । पढाइमा पनि लगनशील भएकै कारण उनलाई सबैले प्रोत्साहन गरे ।

एसएलसीमा टप, डाक्टर बन्ने सपना

कृष्ण भक्त दुवाल सानैदेखि तिक्ष्ण दिमागको भएको बताउँछन् । सानैदेखि पढाइमा अब्बल भएकै कारण उनी एसएलसी (हालको एसईई) भक्तपुर जिल्ला टप भए । ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट त्यतिखेर एसएलसी परीक्षा दिनेको संख्या ७ सय थियो, हामीसँगै पढ्ने ४ जना साथीले बोर्ड टप गरे, मैले जिल्ला टप गरेँ, भक्तपुरबाट पढ्न काठमाडौं गए पनि भक्तपुर जिल्लाको टपर थिएँ,’ उनले विगत स्मरण गर्दै भने ।

एसएलसी पास भएपछि उनी डाक्टर बन्न चाहन्थे । उनी सोही सपनालाई पछ्याउँदै पुगे तिनकुनेमा रहेको भीएस निकेतनमा । उनले सो कलेजमा विज्ञान संकायमा प्लस टुको पढाइ सुरु गरे ।

‘एसएलसीमा राम्रो अंक आएपछि मैले डाक्टर बन्नु पर्छ भनेर सोचिसकेको थिएँ, सोही कारण प्लसटुमा विज्ञान संकायमा बायोलोजी विषय लिएर पढ्न सुरु गरेँ, प्लस टुको परीक्षा पश्चात् डाक्टर पढ्न भनेर विभिन्न कलेजमा छात्रवृतिमा फाराम पनि भरेँ,’ कतै नाम निस्किएन, त्यसपछि डाक्टर बन्ने सपना तुहियो,’ उनी भन्छन्,‘त्यसपछि डाक्टर बन्छु भन्ने सपना देख्न पनि छोडेँ ।’

उनले आफैले शुल्क तिरेर डाक्टर पढ्न सक्ने अवस्था उनको थिएन । डाक्टर बन्ने सपना बिचमै हराएपछि उनी अब इञ्जिनियर बन्छु भन्ने दृढ इच्छाका साथ अगाडि बढे । दुवालले काठमाडौं इन्जिनियरिङ कलेजमा इञ्जिनियरिङ पढ्नका लागि नाम निकाले । सो कलेजमा उनले वि.सं २०५८ सालमा इञ्जिनियर पढ्न सुरु गरे ।

‘विज्ञानमा प्लस टु र इञ्जिनियररिङको पढाई पनि सकियो, खासै राम्रो रिजल्ट आएन तर पढ्दै गएँ हिम्मत हारिन,’ उनले भनी भन्छन्,‘ कर्म गर फलको आशा नगर भन्ने जस्तै सोचेँ ।’ दुवालले वि.सं २०६२ मा काठमाडौंको पुल्चोक क्याम्पसमा स्नातकोत्तरको पढाइ सुरु गरे । खुसीको कुरा, उनले स्नातकोत्तर उच्च अंकका साथ वि.सं २०६८ सालमा पास गरे ।

यस्तै, उनले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एडमिनिस्टरीमा स्नातकोत्तर पनि गरेका छन् भने चीनबाट पीएचडी गर्ने तयारी गरिरहेका छन् ।

दुवाल शिक्षक पनि

दुवाल सफल व्यवसायीका रुपले मात्रै परिचित छैनन् उनी एक शिक्षक पनि हुन् । एसएलसीको परीक्षा दिएलगत्तै पढाउन सुरु गरेका उनी अहिलेसम्म पनि शिक्षण पेशा अँगालिरहेका छन् । एसएलसीको परीक्षा दिएर आफूले घर नजिकैको विद्यालयमा कक्षा ९ र १० लाई गणित विषय पढाएको दुवाल बताउँछन् ।

स्नातक तहको पढाइ सकेपछि वि.सं २०६३ बाट कलेज पढाउन थालेको उनी बताउँछन् । उनले त्यतिबेला स्नातकोत्तर पढ्दै स्नातक तहका विद्यार्थीहरुलाइ इन्जिनियर पढाएको सुनाउँछन् । उनले शिक्षण पेशालाई निरन्तरता भने दिएनन् । बीचमा उनी व्यवसायिक क्षेत्रतर्फ पनि लागे ।

‘रिडिङ र टिचिङ मेरो प्यासन हो, पढाइ सँगसँगै मैले शिक्षण पेसालाई पनि निरन्तरता दिएँ, केही सयम व्यावसायिक व्यस्तताको कारण अध्यापन छाड्नु पर्यो तर अहिले पुनः पढाइरहेको छु,’ उनले सुनाए । हाल उनले नेपाल इजिनरिङ र खोको इञ्जिनियरिङ कलेजमा अध्यापन गराउँछन् ।

इट्टाको सट्टा इको प्यानल

कृष्णभक्त दुवालका बुबा र दाजु इट्टा भट्टा व्यवसाय गर्थे । परम्परागत ढंगले हुने इट्टा भट्टा कृष्ण भक्त आधुनिक र नयाँ किसिमले काम गर्न चाहन्थे । उनले स्नातकोत्तर पढाइ गर्दै गर्दा नेपालमा इको प्यानलको सम्भावनाको विषयमा पनि अनुसन्धान गर्ने अवसर पाए ।

पढाइ पनि इञ्जिनियरिङ भएकोले मैले स्नातकोत्तर पढ्दै गर्दा नेपालमा इको प्यानलको विषयमा अनुसन्धान पनि गरेको थिएँ, बुबाको इट्टा भट्टा तथा निर्माण सामाग्रीको वैकल्पिक उपाय अर्को के हुन सक्छ भनेर धेरै सोचेँ, त्यसपछि इट्टाको सट्टा प्यानलको अवधारणा ल्याएँ,’ उनले भने ।

उनले अनुसन्धान गर्दै जाँदा विभिन्न देशहरुमा पुगेको पनि बताए । उनले इको प्यानलकै विषयमा बुझ्न कोरिया, बहराइन, जापान चीन इटालीलगायतका देशमा पुगेको सुनाए । त्यसपछि उनी जोडिए गोर्खा इको प्यानलमा । वि.सं २०७० मा उनी गोर्खा इको प्यानलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । गोर्खा इको प्यानल स्थापना केही लगानीकर्ताहरु मिलेर स्थापना गरेका थिए । उनले सो कम्पनीमा ६ वर्ष काम गरे । गार्खा इको प्यानल स्थापना गर्न आफ्नो भूमीका पनि महत्वपूर्ण रहेको उनी बताउँछन् । सो कम्पनीले वातावरणमैत्री प्रिफाइबका घर बनाउने सामानको उत्पादन तथा खरिदबिक्री गर्दै आइरहेको छ ।

गोर्खा इको प्यानललाई एउटा सफलताको श्रेणीमा पुर्याएपश्चात् दुवालले सो कम्पनी छाड्नु पर्याे । उनले गोर्खा इको प्यानल छोडेर आफ्नै लगानीमा खोले नेपाल इको प्यानल । उनले सन् २०२१ मा नेपाल इको प्यानलको स्थापना गरे । हाल नेपाल इको प्यानल पनि छोटो समयमा नै लोकप्रिय कम्पनीको रूपमा स्थापित भइसकेको छ । दुवाल सो कम्पनीको सीईआको रूपमा कार्यरत छन् ।

‘आफूसँग ज्ञान नभएको काम गर्दा सफलता पाउन मुस्किल हुन्छ, जान्नको लागि सिक्नु नै पर्ने हुन्छ, पहिलाको कम्पनी स्थापना गर्नको लागि धेरै मेहनत गर्नु पर्यो, यो कम्पनीको स्थापना गर्न पहिलाको जस्तो समस्या परेन, धेरै ज्ञान भएकै कारण पनि छोटै समयमा धेरै उपलब्धि हासिल गर्न सफल भइयो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।

नेपाल इको प्यानलबाट डेढ सय भन्दा बढीले रोजगारी पाएको पनि उनले बताए । कम्पनीलाई एउटा ठूलो कर्पोरेट हाउसको रूपमा विकास गरी थप रोजगारी सिर्जना गर्ने योजना दवालको छ ।

होटलमा पनि लगानी 

दुवालले होटल व्यवसायमा पनि कारोडौं रुपैयाँ लगानी गरेका छन् । उनको नगरकोटमा आफ्नै होटल छ । सन् २००७ सालमा उनले नगरकोटमा होटल खोलेका थिए । एक वर्ष उनले सो होटल आफैले सञ्चालन गरे । शिक्षण पेसामा पनि भएको र कम्पनी पनि हेर्नु पर्ने कारणले उनले पछि होटल भाडामा लगाए ।

तर, विश्व महामारीका कारण अहिले सो होटल बन्द अवस्थामा रहेको उनी बताउँछन् । उनी अब होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसका साथै दुवालका १५ जना साथी मिलेर रारामा आन्तरिक तथा वाहिय पर्यटनलाई लक्षित गर्दै रिसोर्ट पनि निर्माण गरिरहेका छन् ।

६ करोड रुपैयाँको लगानीमा बनेको उक्त रिसोर्ट सञ्चालमा ल्याउने तयारी गरिरहेका छन् । सो कम्पनीले पनि विभिन्न ठाउँमा पर्यटकलाई लक्षित गर्दै होटल बनाउँदै जाने योजना बनाएको पनि उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.