साथीहरुले काम गर्न सक्छौ र भन्छन्, म मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउन लागिरहेको छु

  २०७९ कार्तिक २४ गते १५:२६     सन्तोष रोकाया र सीआर भण्डारी

फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयराज भण्डारीलाई साथीभाईले सुझाव दिन्छन्, ‘तिमीले काम गरिरहेको क्षेत्रमा ठूलो चुनौती छ, यो क्षेत्रमा काम गर्न सक्दैनाै, अन्य क्षेत्रमा काम गर ।’ तर, भण्डारीको प्यासन फिनटेक क्षेत्र हो । सूचना प्रविधि (आईटी)को क्षेत्रमा उनी २० वर्षदेखि काम गर्दै आएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा अझैं २० वर्ष काम गर्ने लक्ष्य छ, जे गरेको छु, राम्रै छ, यो क्षेत्र मेरो प्यासन हो ।’

उनी थप्छन्, ‘सरकार अहिले डिजिटल नेपालको नारा लगाइरहेको छ, म २० वर्ष अगाडिदेखि नै यो क्षेत्रमा सक्रिय थिएँ ।’ वि.सं २०३८ सालमा जन्मेका भण्डारीको बाल्यकाल काठमाडौंको ‘व्यापारिक हब’ कमलादीमा बित्यो । देशमा राजसंस्था हुँदा उनका हजुरबुवा सचिव भएर काम गर्थे भने उनका बुबा प्रजन्यराज भण्डारी व्यवसायी । प्रणयराजको इच्छा थियो बुबाले थालेको बिजनेसलाई विस्तार गर्ने र ठूलो व्यवसायी बन्ने ।

उनले सानैदेखि गोदावरीमा रहेको सेन्ट जेभियर स्कूलमा पढे । त्यतै होस्टलमा बसे । कक्षा एकदेखि एसएलसीसम्म सेन्ट जेभियरमै पढे । ‘काठमाडौं कमलादीमा जन्मिएँ, कक्षा एकदेखि कक्षा दशसम्म सेन्ट जेभियरमा पढेँ, उनी भन्छन्, ‘म सानैदेखि एभरेज विद्यार्थी हुँ, कोर्स बुकभन्दा पनि म बिजनेससँग सम्बन्धित पुस्तकहरु पढ्न रुचाउँथेँ ।’

सेन्ट जेभियरले उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिन्छ । विद्यालयमा भर्ना हुन गाह्रो थियो । एउटा कक्षामा ४५ जना भर्ना गर्न ३/४ हजारले आवेदन दिने गरेको उनी सुनाउँछन् । ३ सय जना विद्यार्थी । शिक्षक पनि राम्रै । सेन्ट जेभियर गोदावरीमा पढाइसँगै अन्य सामाजिक कार्यमा बढी जोड दिने गरेको उनी सुनाउँछन् । सामाजिक कार्यमा अग्रसर हुन उनले विद्यालयबाट नै सिकेको बताउँछन् ।

वि.स. २०५५ सालमा एसएलसी उतीर्ण गरेका उनलाई विज्ञान विषय पढ्न मन थियो । एसएलसी दिएपछि कुन विषय पढ्ने भनेर छनोट गर्न सकस भयो । अन्ततः उनी विज्ञान विषय लिएर प्लस टु पढे । प्लस टू पास गरेपछि उनी इन्जिनियर पढ्न दक्षिण भारतको बैङ्लोर पुगे । अहिलेको जस्तो इन्टरनेट सुविधा त्यो बेलामा थिएन । उनी बैंङ्लोरमा ४ वर्षे कम्प्युटर इन्जिनियरिङ सकेर नेपाल फर्किए ।

इन्जिरियङ पढ्दा उनले कम्प्युटर इन्जिनियरमा धेरै प्रोग्राम रैछन् भन्ने थाहा पाए । ‘केही सूचनाका लागि पनि किताब पढ्नु पर्थ्याे, त्यो बेला इन्टरनेटको कुनै पहुँच थिएन, किताबमा सैद्धान्तिक ज्ञान हुन्थ्यो, किताब पढ्न मन लाग्दैनथ्यो, ४ वर्षे इन्जिनियरिङ सके लगत्तै स्वदेशमै केही गर्छु भनेर उनी नेपाल फर्के ।

इन्जिनियर सकिएपछि धेरै साथीहरु बैंङ्लोर, चेन्नइ लगायतका ठाउँमा काम गर्न थाले तर म स्वदेशमै केही गर्छु भनेर नेपाल फर्कें,’ उनी स्मरण गर्दै भन्छन्, ‘मलाई नेपालमै बसेर रियल लाइफ एप्लिकेसन गर्न मन थियो ।’

नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि काम

भारतबाट इञ्जिनियर पढेर आएपछि उनलाई बैंक तथा वित्तीय क्षेत्रमा काम गर्न मन लाग्यो । उनले वि.स. २०६१ सालमा नेपाल इन्भेष्टमेन्ट बैंकमा आईटी डिपार्टमेन्टमा काम थाले । बैंकमा हुँदा उनले डेढ वर्ष आइटी डिपार्टमेन्टमा र डेढ वर्ष कर्पाेरेट क्रेडिटमा काम गरेको बताउँछन् । उनलाई कर्पाेरेट क्रेडिटमा काम गर्दा कर्जाका लागि आफन्तहरुले कति सकसमा पार्छन् भन्ने विषयको ज्ञान आफुलाई सधैंका लागि भएको उनी सुनाउँछन् ।

‘कर्पाेरेटमा काम गर्दा बैंक बुझ्न पाएँ, ३ वर्ष काम गर्दा डेढ वर्ष आईटी र डेढ वर्ष कर्पाेरेटमा काम गरेँ तर कर्पाेरेटमा काम गर्दा दिक्क लाग्यो, ग्राहकले कर्जा मागेर नतिर्ने, सुरुमा धेरै आग्रह गर्ने, नदिएपछि तैंले विश्वास गरिनस् भनेर टाढिन्थे,सबैभन्दा जटिल काम भएपनि अहिले सम्झिँदा इन्ट्रेस्टेङ लाग्छ,’ उनले बैंकमा काम गर्दाको अनुभव सुनाउँदै भने ।

बैंकमा काम गर्दाको तीन वर्षका उनका लागि ठूलो सिकाइ बन्यो । उनले बैंक बुझ्ने अवसर पाए । बैंकमा काम गर्दा गर्दै उनलाई म्यानेज्मेन्ट नपढेकोमा पछुतो भयो । उनलाई थप पढ्ने रुची जाग्यो । वि.स २०६५ मा उनी एमबीए पढ्न बेलायत गए । जतिबेला विश्वमा विश्व वित्तीय संकटका रुपमा देखिएको थियो । सन् २००७/२००८ मा वित्तीय संकट चलिरहेको थियो ।

उनले सो घटनाबाट पनि धेरै बुझ्ने मौका पाए । ‘सन् २००७/२००८ को वित्तीय संकट एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो, बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको थियो, त्यतिखेर एमबीए पढ्दै गर्दा बैंकहरुको जोखिमको विषयमा पनि बुझ्ने अवसर मिल्यो, त्यो आर्थिक संकट पछि नेपालका बैंकहरु ट्रेडिसनल लाग्यो,’ उनले आफ्नो अनभुव सुनाउँदै भने, एमबीए पढेपछि बैंकमै केही गर्न सक्छु भन्ने जोश पनि आयो ।’

२ वर्षे एमबिए कोर्स सकेर उनी बेलायतबाट वि.सं २०६७ मा नेपाल फर्किए । नेपाल आएपछि पनि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमै काम गरे । बैंकमा काम गर्दा उनले धेरै कुराहरु परिवर्तन भएको पाए । शाखाहरु सेन्ट्रलाइज भए । शाखाहरु केन्द्रिय बैंकसँग प्रत्यक्ष जोडिए ।

‘बैंकहरुले त्यतिखेर नै एटीएम राख्न सुरु गरे, छोटो समयमै बैंकहरुले धेरै प्रगति गरे, एनआईबीएल पनि भिजा कार्डको सदस्य बन्यो, मैले त्यहाँ २०७० सम्म काम गरे । बैंक छोडेपछि उनलाई वेस्टर्न यूनियनबाट अफर आयो । नेपाल र भुटानको लागि वेस्टर्न युनियनको कार्यालय नेपालमा छ । वेस्टर्न यूनियन एउटा विशाल कम्पनी हो । ‘वेस्टर्न युनियनले फरक/फरक देशबाट पैसा ल्याउने काम गर्छ । कम्पनीले १२० देशमा काम गर्छ । उनले वेस्टर्न यूनियनमा काम गर्दा पनि रेट्यिान्स विजशेन विषयमा बुझ्ने मौका पाए ।

एससीटीले दियो उद्यमी बन्ने आइडिया

वेस्टर्न यूनियनमा डेढ वर्ष काम गरेका उनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)पुगे । उनी बैंक तथा वित्तीय संस्थामा काम गर्दा सूचना प्रविधिसँग नजिक भइसकेका थिए भने वेस्टर्न यूनियनमा काम गर्दा रेमिट्यान्स बिजनेसको विषयमा पनि जानकार भइसेकका थिए ।

उनले एससीटीमा चिफ विजनेश अफिसर भएर ३ वर्ष काम गरे । एससीटीमा ठूलो चुनौती आइपर्याे । कारण थियो, एससीटीलाई भिजाले चुनौति दियो । एससीटीको विजनेस केही घटेको आभास काम गर्नेहरुलाई भयो ।

आफुलाई भने अर्कै बिजनेस आइडिया फुरेको उनी सुनाउँछन् । ‘एससीटीमा काम गर्दागर्दै आफैं काम गर्नुपर्छ भन्ने सोच पलायो, एससीटीलाई भिजा कार्डले चुनौति दियो, भिजालाई पनि चूनौति दिने बिजनेस आवश्यक छ भन्ने महसुस भयो, कार्डलाई भर्चुलाइज गरेर मोबाइलमा राख्यो भने कार्ड र चिप पनि चाहिँदैन, पस मेसिन पनि चाहिएन, क्यूआर भए पुग्यो भन्ने भयो,’ त्यसपछि त्यस विषयमा अध्ययन गरियो,’ उनी भन्छन्, ‘त्यसपछि सुरु भयो मोको वालेट ।’

एससीटीमा हुँदा नै उनले वि.सं २०७२ सालमा मोको सुरु गरेका थिए । मोको सुरु गर्दा स्मार्ट कार्ड, क्यूआर लगायतका बारेमा कसैलाई पनि जानकारी नै थिएन । भर्चुअल कार्ड, क्यूआर कोड, मल्टिपल क्यूआर, कार्डलाई क्रस बोर्डर गर्ने लक्ष्य लिएर उनले एससीटी छोडे र मोको सुरु गरे । ‘नेपालमा फिनटेकको सीमा कुवाको भ्यागुत्तो भयो, विश्वव्यापी बनाउनु पर्छ भनेर फुल टाइम काम गर्ने हिसाबले एससीटी छोडेर मोकोमा काम सुरु गरे,’ उनले भने ।

भण्डारी र आदिश श्रेष्ठ मिलेर मोकोको सुरुवात गरे । जसमा अहिले विभिन्न १० व्यक्ति तथा समूहको लगानी छ । उनै भण्डारी ३ वर्षदेखि सोही फोकसवान सोलुसनद्वारा सञ्चालित मोको वालेटको सीईओको रुपमा कार्यरत छन् ।

पारिवारिक पृष्ठभूमी नै व्यवसायी

प्रणयराज भण्डारीको परिवार ठूलो व्यवसायिक घराना नभए पनि सानो तिनो ब्यापार व्यवसायमा भने संलग्न छ । उनका हजुरबुबाले राजसंस्थामा काम गरे । उनका बुबाले नै व्यवसायिक बाटोको सुरुवात गरे । उनले सोही विजनेसलाई विस्तारमा जोड दिए ।

उनको परिवारको बैंकसँगै रिटेलको बिजनेस छ । अहिले उनको परिवारले चियर्स अनलाइन बिजनेस पनि गर्दै आएको छ । त्यससँगै उनको निउ कम्पनीका विद्युतीय स्कुटर र बकार्डीको पनि बिजनेस छ । बकार्डीको बिजनेस उनको भाइले सम्हालिरहेका छन् । उनका बुबा प्रजन्यराज भण्डारी भने नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा छन् । सात वर्ष अगाडि विवाह गरेका उनकी डेढ वर्षकी छोरी छिन् ।

मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउने

प्रणयराज मोकोलाई नै विश्व स्तरीय वालेट बनाउनका लागि काम गरिरहेको बताउँछन् । ‘नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सर्वसाधारणले डिजिटल नेपालमा जोड दिएका छन्, सबै क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ, सबै क्षेत्र स्मार्ट बन्न खोजिरहेका छन्, हामीलाई पनि अगाडि बढ्न टेवा पुगिरहेको छ,’ उनले भने ।

उनको करियर सुरु भएको नै यहि क्षेत्रबाट हो । त्यसैले पनि उनी अब यही क्षेत्रमै केही फरक गर्ने सोचमा छन् । ‘यहि क्षेत्रमा काम गरेको २० वर्ष हुन थाल्यो, अझै यो क्षेत्रमा २० वर्ष काम गर्छु, अहिले डिजिटल पेमेन्ट सुरु भएको छ, २ लाख क्रेडिट कार्ड होल्डर्स छन्, २० लाख क्रेडिट कार्ड होल्डर्स बनाउन मन छ,’ उनले २० वर्ष अघि भारतमा हरेक विद्यार्थीलाई एउटा क्रेडिट दिएको प्रसँग सम्झिदै भने, ‘क्रेडिट कार्डबाट कर्जा पाउनेदेखिसबै काम हुने क्रस बोर्डरको काम गर्ने इच्छा छ ।’

उनले मोकोलाई मल्टिपल पे गर्न मिल्ने बनाउने योजना पनि सुनाए । ‘डिजिटल नेपाल बनाउने हो, धेरै काम गर्न बाँकी छ, साथीहरुले भने सीईओ भएर यो क्षेत्रमा काम गर्न सक्छस् र भनेर प्रश्न गर्छन्, म मोकाे वालेटलाई वर्ल्ड क्लासको एप बनाउन लागिरहेको छु,’ उनले आफ्नो भावी योजना सुनाउँदै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.