लगानीकर्ता र बीमकको दशैं : वर्षौंपछि घर जाँदाको उत्साह र दौतरीसँगको तास

<p>काठमाडौं । गाउँ होस् या सहर । चारैतिर दशैंले घरिसकेको छ । विद्यालयसँगै अधिकांश कार्यालयहरु बन्द भइसकेका छन् । गाउँ घर फर्किनेहरु घर फर्किसके भने कोही जाँदै छन् । नयाँ लुगा किन्नेहरुले किनिसके भने कोही किन्नको लागि बजार धाउँदै छन् । कसैले दशैंको बिदामा नयाँ नयाँ ठाउँ घुम्न जाने योजना बनाएका छन् । कोही आफ्नै [&hellip;]</p>

काठमाडौं । गाउँ होस् या सहर । चारैतिर दशैंले घरिसकेको छ । विद्यालयसँगै अधिकांश कार्यालयहरु बन्द भइसकेका छन् । गाउँ घर फर्किनेहरु घर फर्किसके भने कोही जाँदै छन् । नयाँ लुगा किन्नेहरुले किनिसके भने कोही किन्नको लागि बजार धाउँदै छन् । कसैले दशैंको बिदामा नयाँ नयाँ ठाउँ घुम्न जाने योजना बनाएका छन् । कोही आफ्नै आफन्तजनको हातबाट टिका लाएर आशिर्वाद थापेर दशैं मनाउँदै छन् । यो अवसरमा पुँजीबजारका लगानीकर्ता तथा बीमा समितिका उच्च पदाधिकारीहरुले कसरी मनाउँदै छन् ?

सूर्य प्रसाद सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल आफ्नो दाजुको घरमा दशैं मनाउँदै छन् । दाजुभाई कोही कता कोही कता भएकाले कहिले कसको कहिले कसको घरमा गएपछि दशैं सकिने उनी बताउँछन् । यो पटक कतै घुम्न जाने योजना नबनाएका उनले दाजुभाइसँगै बसेर तास खेल्ने योजना भने बनाएका छन् । सिलवालको ससुराली घर उपत्यका बाहिर भएपनि यो पटक सबै काठमाडौंमै भएकाले यतै टिका लगाउने तयारीमा उनी छन् ।

राजुरमण पौडेल

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको पनि यो पटक दशैंमा कुनै योजना छैन । ‘मेरो प्लान केही छैन, घर बस्ने, मासु खाने, टिका लगाउने आशिर्वाद थाप्ने, त्यत्ति हो,’ उनले भने ।

पौडेलको पहाड घर गोरखा हो । तर स–परिवार काठमाडौंमै भएकाले उनी काठमाडौंमै दशैं मनाउँदै छन् । उनको ससुराली भने चितवन हो । टिका पछि भने उनी चितवन जाँदै छन् ।

राधा पोखरेल

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले यसपाली दशैं काठमाडौंमै मनाउने तयारी गरिरहेकी छिन् । नयाँ योजना खासै केही पनि नबनाएकी उनी यो पटक भने यताउता भेटघाटसँगै दशैंको कार्यक्रमहरुमा व्यस्त हुँदैछिन् । लगानीकर्ता पोखरेल तासमा पनि खासै रुची राख्दिनन् ।

पहिलो पटक चुनावमा उठ्न लागेकी उनी दशैंको समयमा पनि त्यतै व्यस्त हुने बताउँछिन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्वाचनको लागि चुनाव लड्दैछिन् । तर, हालसम्म भने कुन पार्टीबाट उठ्ने भन्ने एकिन नभइसकेको उनी बताउँछिन् । उनी एमाले वा स्वतन्त्र पार्टीमध्येबाट चुनाव लड्ने तयारीमा छिन् ।

तुलसीराम ढकाल

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाल यो पटक गाउँ जाने तयारीमा छन् । उनको गाउँ मोरङ हो । कोभिड महामारीको कारणले विगत तीन वर्षदेखि दशैंमा गाउँ नगएका उनी यो वर्ष हर्षउल्लासका साथ आफ्नो जन्मघर जाँदै छन् । पुराना साथीभाई भेट्ने र आफन्त मान्यजनहरुबाट टीका लाउने आशिर्वाद थाप्ने नै उनको मुख्य योजना छ ।

पछिल्लो समय तरलता आभावसँगै देशमा आर्थिक मन्दी छाएको छ । त्यसको प्रभाव नेपाल पुँजीबजारमा पनि परेको छ । तर बजार घटेर नोक्सान भए पनि आफ्नो चाडवाड भने रमाइलोसँग मनाउने उनको सोच छ । ‘दशैं भनेको वर्षमा एक पटक आउने चाड हो, यसलाई सब्य अनि भब्य तरिकाले मनाउनु पर्छ, लगानीको पाटो आफ्नो ठाउँमा छ, यसलाई परम्परागत रुपमा मनाउँदै आएको दशैंसँग जोडेर हेर्न मिल्दैन, दुःख कष्ट बिर्सिएर चाडवाडमा रमाउनु पर्छ,’ उनले भने ।

तास खेल्नमा खासै रुची नराख्ने लगानीकर्ता ढकालले आम साथीभाईलाई तास खेलेर समय बर्बाद नगर्न समेत आग्रह गरेका छन् । ‘म तास कहिल्यै खेल्दिन, तासको साटो पुँजीबजार नै हो, पुँजीबजार मेरो पहिलो व्यवसाय तथा म यसलाई उद्योगको रुपमा लिन्छु,’ विकासन्युसँग बोल्दै ढकालले भने ।

छोटेलाल रौनियार

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको पनि दशैं काठमाडौंमै हो । आफ्नै घरमै जमरा राखेका रौनियार आफैंले दैनिक पुँजा गर्ने गरेका छन् । पहिला पहिला तास खेल्न मन पराउने उनी हाल भने तास खेल्न खासै मन गर्दैनन् ।

उनी दशैंको समयमा विशेष गरी फुलपातीको दिनमा ट्रेकिङ जान भने औधी मन गर्छन् । तर, यो पटक भने उनको त्यो योजना छैन । ‘घरमा म र श्रीमती जी मात्रै हो, छोरी बाहिर गइन्, त्यसैले यो पटक ट्रेकिङ जान पाइएन,’ उनले भने ।

 

Share News