दशैं चाड मात्र होइन, सिकाईको साइत पनि हो 

  २०७९ असोज १४ गते ९:४५     डा. बुद्धि मल्ल

दशैं सम्झाना साथ मनमा एक प्रकारको मिठो अनुभूति एवं खुशी छाउँछ । मिठो खाने, राम्रो लगाउने, साथीभाई तथा ईष्टमित्रहरु भेटघाट गरि हर्षोउल्लासका साथ मनाईने यस महान चाडबाट हामीले धेरै शिक्षा आर्जन गर्न सक्छौं । त्यसैले दशै चाड मात्र होईन, धेरै कुराहरु सिकाउने पर्व पनि हो, टिकाको साथसाथै शिक्षा पनि सिक्ने साईत पनि हो ।

आदर सत्कार

मानिसहरु बर्षभरी भेट नभएता पनि दशैंमा आफूभन्दा ठूलाहरुको हातबाट टीका र आशीर्वाद थाप्न टाढाबाट पनि पुग्छन् । आगो ताप्नु मूढाको, अर्ति सुन्नु बूढाको भन्ने उखानलाई मनन गर्दै उनीहरु ठूला मानिसहरुलाई टीका ग्रहण गरेपछि शिर निहुर्यांउछन् । आफूभन्दा ठूलालाई आदर सत्कार गर्नुपर्छ भन्ने नैतिक शिक्षा दशैंले दिन्छ ।

सन् १९७० मा बनेको दिलिप कुमारको हिन्दी चलचित्र गोपिमा नायक दिलिप कुमारले आफ्नो दाजुलाई चिनाउंदै भन्छन्-उहाँ नै हुनुहुन्छ जसको दर्शन गरेपछि मलाई मन्दिर जान आवश्यक पर्दनथ्यो । आफ्नो दाजुलाई गरेको आदर सत्कार, मांयाका यो दृश्यले आफूभन्दा ठूलालाई आदर सत्कार कसरी गर्नुपर्छ भन्ने शिक्षा प्रदान गरेको छ । मानिसले बाँच्नको लागि खानु पर्छ, श्वास लिनु परे जस्तै एउटा सभ्य मानिसले ठूलाहरुलाई आदर सत्कार गर्न जरुरी हुन्छ ।

माया

दशैंमा ठूलाले सानालाई टिका लगाईदिएर आशिर्वाद दिन्छन् । उनीहरुको भलो चिताएर मांया, ममता प्रकट गरिने यस चाडले हामीले आफ्ना कर्मचारीहरु तथा सहयोगिहरुको भलो चिताउनुपर्छ, उनीहरुको प्रगतीको कामना गनुपर्छ भन्ने सन्देश दिएको छ । दशैंमा दिएको मांया, स्नेहले १ बर्षभरि हामीलाई सकरात्मक एवं निकट बनाउने भएकोले हामीले आफ्ना परिवार, साथीभाई तथा सहकर्मीहरुको भलो चिताएर उनीहरुलाई पनि सकरात्मक एवं निकट बनाउन सकिन्छ भन्ने शिक्षा प्राप्त गर्न सकिन्छ ।

ठूलाले माया दिएनन् भने सानाहरुले पनि आदर नदिन पनि सक्छन् । जति ठूला मानिस भएतापनि सानाले टिका थाप्न गएनन् भने उनीहरुको दशैं खल्लो हुन्छ, त्यसैले परिवार, साथीभाई तथा सहकर्मीहरुलाई माया दिएमा उनीहरुले पनि आदर सत्कार गर्छन् ।

इच्छा पुरा

दशैंले धेरै मानिसहरुको इच्छा तथा मनोकामना पुर्याउने साईत जुर्याईदिन्छ । यो संसारमा सबै मानिसहरु केहि न केहि अभावमा बांचिराखेका हुन्छन् । परिवारसँग समय बिताउने, घुम्न जाने, मिठो मिठो खाने, राम्रो राम्रो लाउने आदि । मानिसहरुले दशैंलाई यस्ता ईच्छा वा लक्ष्यहरु पूरा गर्ने साईतको रुपमा लिएको देखिन्छ । यस्ता विभिन्न इच्छा वा लक्ष्यहरु जस्तै मानिसले जिन्दगीमा लक्ष्यहरु लिएर पूरा गर्ने दृढ संकल्प सहित अगाडी बढ्यो भने सफल हुन्छ भन्ने दशैंबाट सिक्न सकिन्छ ।

मानिसहरु ठूला ठूला इच्छाको पछाडी दौडंडा दौडंदा साना साना इच्छाहरु मारेर वा दबाएर राखेका हुन्छन् । हामीले सानो सानो इच्छा वा सपनामा पनि खुशी पाउन सक्छौं, त्यसैले साना वा ठूला ईच्छामा रमाउने र सोहि अनुसारको योजना बनाएर अगाडी बढ्दा राम्रो हुन्छ । भारतका अन्तराष्ट्रिय उत्प्रेरक शिव खेराले भनेका छन् ‘सपना त्यो होईन जुन निंद्रामा देखिन्छ, सपना त्यो हो जसले निदाउन दिंदैन ।’ सानो होस् या ठूलो होस् सपना पुरा गर्दै जानु पर्छ, जबसम्म सपना पूरा हुंदैन त्यसमा खटिराख्नुपर्छ ।

सबैको दिन आउँछ

अंग्रेजीमा भनाई छ ‘एभ्री डग ह्याज अ डे’ । जस्तोसुकै गरिब मानिस किन नहोस् अन्य दिनहरुमा जस्तो खाएता पनि जस्तो लाएता पनि दशैंमा राम्रो लाउने, मिठो खाएका हुन्छन् । त्यसैले हामीले जिन्दगीमा सफलता हासिल भएन भनेर निराश हुनु हुदैन । सबैको दिन आउँछ, दिनपछि रात आउँछ, रातपछि फेरी दिन आउँछ ।

एउटा अंध्यारो कोठामा बसेको मानिसलाई दिनरात उस्तै लाग्छ तर यथार्थमा दिन उसको लागि पनि आएको हुन्छ तर उसले त्यसलाई पहिचान गर्न नसकेको मात्र हो । त्यसैले आज मैले प्रगतिग र्न सकिन, म बढुवा हुन सकिन आदि इत्यादि कुरामा अल्झिनु हुंदैन । आफ्नो दिन पहिचान गर्न तयार भएर बस्नुपर्छ ।

योजना तर्जुमा

प्राय मानिसहरुले अधिकांश समय ठोस योजना बनाएका हुंदैनन् तर दशैंको लागि भने किनमेलको लागि पैसाको बन्दोबस्त, बिदाको सदुपयोगको योजना, मनोरञ्जन आदिको लागि योजना बनाएका हुन्छन् । कतिपयले त १ महिना अघिदेखि नै योजना बनाउंछन् र फलस्वरुप उनीहरुले दशैलाई सम्झनलायक तरिकाले धुमधामसँग मनाउँछन् । यदि हामीले कुनै पनि काम सम्पन्न गर्नको लागि राम्रोसंग योजना तर्जुमा गर्यौं भने त्यसको प्रतिफल पनि राम्रो हुन्छ भन्ने यसको सन्देश हो ।

दिनुपर्छ भन्ने भावना

जस्तोसुकै कठोर मानिस वा कन्जुस मानिस भएपनि उसले कुनै व्यक्तिले दशै मनाउनको पैसा वा अन्य केहि सहयोग मागेमा सकभर सहयोग गर्छ किनभने उसमा दशै सबैले मनाओस्, उ पनि खुशी होस् भन्ने भावना हुन्छ । यो महान चाडले अरुलाई सहयोग गर्नुपर्छ, अरुलाई पनि खुशी बनाउने भावना विकास गराएको देखिन्छ ।

दुईजना गरिब मानिसहरुको भक्तिबाट प्रसन्न भएर भगवानले बरदान माग्न भन्नु भएछ । पहिलो मानिसले भनेछ- प्रभु म गरिबको घरमा समेत माग्नको लागि जोगिहरु आईराख्छन्, मैले कसैलाई केहि दिनु नपरोस् तर, सबैले मलाई दिओस् । अर्कोले भनेछ- प्रभु मसँग जो जो माग्न आउँछन् कसैलाई पनि खाली हात फर्काउन नपरोस् । दुबैलाई भगवानले तथास्तु भन्नु भएछ । पहिलो मानिस जसले कसैललाई केहि दिन नपरोस भनेर मागेको थियो, भिखारी भएछ । दोश्रो मानिस जसले कसैलाई पनि खाली हात फर्काउन नपरोस भनेको थियो, त्यस गाउँको धनी व्यक्ति भएछ ।

दिने मानिस गरिब हुंदैनन् र उसको हात संधै माथि नै हुन्छ । तल त लिने मान्छेको हात हुन्छ । त्यसैले हामीले दिने बानी बसाल्नुपर्छ चाहे त्यो धनहोस् वा ज्ञान होस् । बी अ गिभर अर्थात सहयोगि बनौं, दिने बानी बसालौं ।

स्वतन्त्रता

दशैंको सबैभन्दा ठूलो उपलब्धि मानिसहरुले स्वतन्त्रता पाउनु हो । अहिलेको प्रतिस्पर्धात्मक जमानामा मानिसहरुले ब्यस्तताले गर्दा आफ्नै परिवारलाई पनि राम्रोसँग समय दिन नसकिरहेको अवस्थामा दशैंको बेला साना ठूला सँगै खाइपिइ गर्दै रमाईलो गर्दछन् । बुवाआमाले पनि आफ्ना छोरा छोरीहरुलाई दशैं हो रमाईलो गरोस् अर्थात उसले चाहेको गरोस् भनेर अलि स्वतन्त्र नै छाडिदिन्छन् । स्वतन्त्रता कहिल्यै दिइदैन यसलाई प्राप्ति गर्नुपर्छ । दशैंमा मानिसहरु सबै चिज छाडेर स्वतन्त्रता प्राप्तिको लागि प्रयास गर्ने भएकोले यस समयमा उनीहरु बढिभन्दा बढि खुशी हुन्छन् । यदि हामीहरु दशैंमा जस्तै अन्य दिनहरुमा पनि स्वतन्त्रताको प्राप्ति गर्न खोज्यौ भने दशैंमा जस्तै खुशी हुन सकिन्छ भन्ने दशैबाट शिक्षा प्राप्त गर्न सकिन्छ ।

दशैंबाट सिक्न सकिने अन्य धेरै कुराहरु पनि छन् तर माथि उल्लेखित कुराहरुलाई मात्र भए पनि हामीले अनुशरण गर्न सकियो भने हामीलाई धेरै फाईदा हुन्छ । स्वस्थ र अनुशासित ढंगले मनाउन सकियो भने मानविय स्वास्थ र समाजिक बातावरणमा राम्रो योगदान दिन सकिनेछ । बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।

(लेखक बैंकर हुन्)

One comment on "दशैं चाड मात्र होइन, सिकाईको साइत पनि हो "

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.