२०७९ असोज १३ गते १५:२६ विकासन्युज
काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । दशैंअघि अन्तिम दिन खुलेको बिहीबारको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले बढी हो ।
बुधबारको तुलनामा बिहीबारको सेयर कारोबार पनि बढेको छ । बुधबार ४८ करोडको कारोबार भएको बजारमा बिहीबार भने ६३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ । इन्स्योरेन्सको एकैदिन ४ करोड ४८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६६ रुपैयाँ छ ।
बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४३८.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३९.८० रुपैयाँले बढी हो ।
यता टप लुजरको शीर्ष स्थानमा भने साम्लिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ७.९४ प्रतिशतले घटेर प्रतिकित्ता ४६४ रुपैयाँमा झरेको छ ।
बिहीबार जीवन बीमा समूह बाहेक सबै समूह हरिया देखिएका छन् । जीवन बीमा समूह भने सामान्य ५.६१ अंकले घटेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.