ब्याजदर ट्रेण्डले बढेको हो, आत्तिनु पर्दैन : डेपुटी गभर्नर मिश्र

  २०७९ असोज १२ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दा नआत्तिन आग्रह गरेका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएकाले ब्याजदर बढ्दा धेरै आत्तिनु पर्दैन,’ उनले भने ।

रुस र युक्रेन युद्धका कारण विदेशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको हुँदा यसले नेपालमा प्रभाव पारेको उनको भनाई छ । साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति पनि सकारात्मक आउने उनले बताए ।

‘अहिले विभिन्न सूचकमा रेमिटान्सले ठूलो योगदान गरेको छ, हरेक महिना यो तथ्यांक बढी रहेको छ, पर्यटकको संख्या बढेको छ, नेपाल राष्ट्र बैंकले रेमिटान्स र पर्यटकबाट अर्थतन्त्र सहज हुने ठूलो अपेक्षा गरेको छ,’ उनले भने ।

अहिले नेपाल के के मा आत्मनिर्भर छ भनेर आयात र निर्यातको तथ्यांकले नदेखाएको बताउँदै उनले आगामी दिनमा लसुन, प्याज, आलु लगायत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । उनले आयात प्रतिस्थापन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । ठूला छिमेकी देशमा जनसंख्या धेरै भएकाले निर्यात गर्दा ठूलो बजार रहेको बताउँदै उनले अर्बौं जनसंख्या भएका छिमेकी देश रहेकाले निर्यातको लागि बजारको चिन्ता गर्नु नपर्ने उनको भनाई छ ।

नाफिजको कार्यक्रममा बोल्दै उनले आर्थिक पत्रकारिताको इतिहास धेरै लामो नभएको र यो पत्रकारिता प्रोफसनल रूपमा विकास हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.