२०७९ असोज १२ गते १८:०३ विकासन्युज
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा जथाभावी प्रिमियम लिँदा उद्योग क्षेत्र धरासायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
‘विगतका वर्षमा बेस रेटमा प्रिमियम कम हुँदा ब्याजदर सहुलियत थियो, तर अहिले आएर बेस रेटमा जथाभावी प्रिमियम लिएका छन्, अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउदा उद्योगी क्षेत्र धरासायी बनाएको छ,’ उनले भने ।
उनका अनुसार बढ्दो ब्याजदरले नकारात्मक स्थिति पैदा भएको छ ।
‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका विषयमा राष्ट्र बैंकसङ्ग छलफल गरिरहेका छौं, राष्ट्र बैंकले बैंकमा रकम आउँदा सुक्ष्म रुपमा हेर्ने भनेको छ, जसले गर्दा पनि बैंकमा रकम नआएको हुन सक्छ, अहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर जस्तै भएको छ । राष्ट्र बैंकसँग कति रकम छ भनेर तथ्यांक भएपनि खोजी तलासि गर्न सकिरहेको छैन,’ उनले भने ।
साथै, उनले आयातलाई नियन्त्रण गरेर स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । नेपालमा प्राकृतिक स्रोत र साधन प्रयाप्त रहेको र यसलाई भरपुर उपयोग गरेर निर्यात गरी स्वदेशमा नै उपभोग गर्ने बानी बसाल्नु पर्ने उनको भनाइ छ ।
नाफिजको वार्षिकोत्सवमा बोल्दै उनले पत्रकारले मुलुकको हित राखेर जनताको लागि काम गर्नु पर्ने बताए । ‘पत्रकार राज्यको चौथो अंक हुन्, उनीहरु बिना खबर पाइँदैन, खबर बिना मुलुक चल्न सक्दैन,’ उनले थपे ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.