२०७९ असोज १२ गते १८:२७ विकासन्युज
काठमाडौं । बीमा समितिमा थप तीन वटा कम्पनीले लघु बीमा व्यवसाय सञ्चालनको लागि लाइसेन्स माग गरेका छन् । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार बुधबार थप तीन वटा कम्पनीले लाइसेन्सको लागि आवेदन दिएका हुन् ।
‘बुधबार मात्रै तीन वटा आवेदन परेको छ, भोलिसम्म अझै थपिन्छ होला,’ विकासन्युजसँग बोल्दै अध्यक्ष सिलवालले बताए ।
यससँगै लघु बीमाको व्यवसाय गर्नको लागि १० वटा कम्पनी इच्छुक देखिएका छन् । मंगलबार ७ र बुधबार ३ वटाकाे आवेदन गरी १० वटा कम्पनी लघुबीमा व्यवसाय गर्न इच्छुक देखिएका हुन् ।
त्यस्तै, असोज ११ गते ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले आवेदन दिएका थिए । जसमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् । असोज १२ गते थप ३ वटा कम्पनीको आवेदन परेको भनिए पनि नाम भने खुलाइएको छैन ।
यससँगै लघुबीमा कम्पनी खोल्न इच्छुकले आगामी असोज १३ गतेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् । उनीहरुले सो दिन अर्थात बिहीबार दिउँसो १२ बजेसम्म समितिको कार्यालयमा आवेदन दिन सक्ने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी गराए ।
समितिले बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म पुर्याउन भन्दै गत भदौ १० गते लघुबीमाको आवेदन खुला गरेको थियो । जसको लागि ३५ दिनको म्याद तोकेको थियो । जुन भोलि दिउँसो १२ बजेसम्म रहेको छ ।
बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।
लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ ।
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.