दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै

  २०७९ असोज १२ गते १३:०८     विकासन्युज

त्रिवेणी । नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो ।

पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बर्ताए । नवलपुरसहित पाल्पा र तनहुँका कालीगण्डकी नदी आसपासका क्षेत्रका लागि समेत यही बाटो हुँदै यातायात सञ्चालन हुने गर्दछन् ।

पहाडी क्षेत्रबाट आवतजावत गर्ने मुख्य बाटो भए पनि साँघुरो हुँदा समस्या पर्दै आएकाले यसको विस्तारको काम हुनलागेको नगरप्रमुख न्यौपानेले बर्ताए । ‘यो पहाडी क्षेत्रको आवतजावत गर्ने मुख्य बाटो हो, तर साँघुरो हुँदा सवारी सञ्चालनमा कठिनाइ छ’ नगरप्रमुख न्यौपानेले भने, ‘कम्तीमा दुई लेनको बनाएपछि यातायात सञ्चालनमा सहजता हुने छ ।’

पहाडी क्षेत्र मुख्य प्रवेशद्वारसँगै पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको देवचुलीको कुमसोतका कारण यस खण्डमा सवारी चाप बढ्दै गएको छ । बाटो दुई लेनमा विस्तारले दुर्घटना न्यूनीकरणका लागि समेत सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए ।

दलदले–मुण्डे हुँदै कुमसोतसम्मको करिब १० किलोमिटर सडकखण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत करिब १० किलोमिटर सडकखण्ड विस्तारको काम अघि बढाउन लागिएको हो । बाटो विस्तारका क्रम सुरु गर्न लागिएकाले बाटोको अधिकार क्षेत्रभित्रका संरचना हटाउन नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

जिल्लास्तरीय सडकका रूपमा रहेको यस खण्ड विस्तारको काम अघि बढाउन लागिएकाले बाटो अधिकार क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ । सडक विस्तारका लागि बोलपत्र प्रक्रियामा गएकाले चाँडै काम सुरु हुने नगर प्रमुख न्यौपानेले बताए । दलदले–कुमसोत सडकखण्ड विस्तारका लागि हाल दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.