उपभोक्ता हितविपरित खाद्यान्न उत्पादन गर्ने तीन उद्योग कारबाहीमा

  २०७९ असोज ७ गते १९:५०     विकासन्युज

काठमाडौं । उपभोक्ता हितविपरित खाद्यान्न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन् । अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

बजार अनुगमनको क्रममा उपभोक्ता हितविपरित काम गर्ने व्यास-२ दमौलीस्थित सृष्टि एण्ड सितल बेकरी उद्योग र पोखरा-१ कास्कीको लक्ष्मी एण्ड सन्तोष दालमोठ उद्योग कारवाहीमा परेका छन् । भरतपुर-१ चितवनस्थित कुँवर एण्ड ब्रदर्श ग्रुपको मुद्दा विचाराधिन अवस्थामा छ ।

बेकरी उद्योगका सञ्चालक राममाया कुमाल र मुजफ्फरपुर भारत घर भई हाल दमौली बस्ने सोनेलाल सहनीलाई जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ५ गते जनही १५/१५ हजार रुपैयाँ जरिवाना गरेको थियो । बेकरी उद्योगले आफ्नो उत्पादनमा अर्को लेबल प्रयोग गरेको, उद्योग नवीकरण नगरेको, सरसफाइ नगरेको कसुरमा डिभिजन कार्यालयले भदौ ५ गते ४०/४० हजार रुपैयाँ जरिवाना माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

तनहुँमा गरिएको बजार अनुगमनको क्रममा दालमोठमा लेवल नराखिएको भेटिएपछि पोखरा-१ कास्कीमा रहेको लक्ष्मी एण्ड सन्तोष दालमोठ उद्योगलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । डिभिजन कार्यालयले कारवाही माग गर्दै भदौ १ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा मुद्दा दायर गरेको थियो ।

उपभोक्ता हितलाई प्राथमिकतामा राखेर आफूले खाद्य, दाना, बजार, उद्योग, होटलको अनुगमन तीव्र पारेको र कैफियतको शङ्का लागे नमूना सङ्कलन गरी परीक्षणको लागि पठाइने डिभिजन कार्यालयका प्रमुख प्रशान्त पोखरेलले बताए ।

आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता अधिकार हनन गर्ने शुक्लागण्डकी नगरपालिका-६ शुक्लास्थित कृष्ण पाउरोटी उद्योगलाई पाँच हजार, भिमादनगरपालिका-६ भिमादस्थित अभिषेक बेकरी उद्योगलाई सात हजार पाँच सय, भक्तपुरस्थित क्षितिज पुष्टकारी उद्योगलाई एक हजार, भरतपुरस्थित ग्लोबल एग्रो प्रोडक्ट्सलाई ३० हजार, भरतपुरकै कुँवर एण्ड ब्रदर्श ग्रुपलाई १० हजार र नवरपुरस्थित सरस्वती डेरी उद्योगलाई तीन हजार रुपैयाँ जरिवाना गरिएको थियो । बजारमा कुनै खाद्यान्नमा कैफियत देखिए आफूले प्रमुख जिल्ला अधिकारी समक्ष कारबाही माग गर्दै मुद्दा दायर गरिने कार्यालय प्रमुख पोखरेलले बताए ।

गत आर्थिक वर्षमा एक सय ७७ खाद्य नमूना र १३ वटा दानाको नमूना परीक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष २४ वटा उद्योग, खाद्य अनुगमन ५० वटा र आठ वटा दाना बजारको अनुगमन गर्ने लक्ष्य रहेको छ । २०७५ साल कात्तिक १५ गतेदेखि दमौलीमा सेवा सुरु गरेको कार्यालयको तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वीनवरपरासी समेतमा क्षेत्र पर्दछ । कार्यालयमा हाल एक कार्यालय प्रमुख, दुई जना प्राविधिक सहायक, एक कार्यालय सहयोगी गरी चार जना छन् ।

उपभोक्ता अधिकार हनन् गर्ने छुट कसैलाई नभएकोले खाद्य उत्पादक उद्योग विशेष सतर्क रहनुपर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘उपभोक्ताहितमा खाद्य उद्योग विशेषगरी गम्भीर बन्न जरुरी छ,’ प्रजिअ अर्यालले भने, ‘उपभोक्ता हितविपरितको गतिविधि देखिए सङ्लग्न उद्योगी कारबाहीको भागिदार हुनुपर्दछ ।’

बजारमा कुनै खाद्यान्नमा कैफियत र शङ्का देखिए जानकारी दिने दायित्व र जिम्मेवारी आम नागरिकको पनि भएकाले नागरिक सचेत रहनुपर्नेमा उनले जोड दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.