दरबारको भनिएको मर्सिडिज गाडीको विषयमा सरकार नै वेखबर

  २०७९ असोज ५ गते १६:२२     विकासन्युज

काठमाडौं । सोमबार काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टबाट निकालेर अन्यत्रै लगिएको बा १झ ६९० नम्बरको मर्सिडिज बेञ्ज गाडीको विषयमा सरकारी पक्षसँग कुनै जानकारी नभएको पाइएको छ । विभिन्न व्यक्तिहरुले सो गाडी पूर्व राजा विरेन्द्रले प्रयोग गर्दै आएको हुनसक्ने आशंका गरेपनि सम्बन्धित कार्यालयहरुले सो विषयमा तथ्यांक नै नभेटिएको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्र कुमार केसीले लक्ष्मी बैंकबाट निकालिएको गाडीको विषयमा मन्त्रालयलाई जानकारी भएको तर सो विषयमा थप अनुसन्धान नगरी केही भन्न नसकिने धारणा राखे ।

नारायणहिटी दरबार संग्रालयकी प्रमुख ज्योति रावलले आफूहरुले पनि अनलाइनमा आएको सामग्री हेरेको तर त्यहाँ देखिएको सवारी साधन दरबार संग्राहलयको रेकर्डमा नरहेको बताइन् । उनले झट्ट हेर्दा राजा चढ्ने जस्तो गाडी देखिएको तर सो विषयमा आफूहरुलाई जानकारी नभएको बताइन् ।

‘हामीले पनि सञ्चार माध्यममा नै आएर थाहा पाएकाैं हाैं, त्यो गाडी दरबार संग्रालयको रेकर्डमा छैन’, उनले भनिन्, ‘हामीसँग रेकर्डमा भएको गाडीहरु हामीसँग नै छन्, त्यो गाडीको विषयमा हामीलाई जानकारी नै भएन, समाचारमा हेर्दा त त्यहाँ भए जस्तै देखिन्छ ।’

समाचारमा हेर्दा गाडीको पछाडि सरकारी नम्बर प्लेट पनि देखिएको तर सो विषयमा आफूहरुलाई कुनै जानकारी नभएको रावलको भनाइ छ । ‘सरकारी नम्बर प्लेट पनि छ, पहिला–पहिला राजाको समयमा लिलाम पनि हुन्थ्यो भन्ने हामीले सुनेको, त्यतिबेला बाहिर निक्लेको पनि हुन सक्छ’, रावलले विकासन्युसँग भनिन् ।

यातायात व्यवस्था कार्यालय सानाठूला सवारीका प्रमुख मदन पोख्रेलले आफ्नो कार्यालयमा लक्ष्मी बैंकको बेसमेन्टबाट निकालिएको गाडीको विषयमा कुनै तथ्यांक नभएको बताए । पोख्रेलले सो गाडीको विषयमा धेरै व्यक्तिहरुले जानकारी लिन खोजेको तर आफ्नो कार्यालयमा कुनै जानकारी नभएकाे धारणा राखे ।

०४६ साल भन्दा अगाडि चलेका गाडीहरुको रेकर्ड प्रहरीकोमा हुने गरेको र पछि प्रहरीले हस्तान्तरण गरेतापनि ३३०० गाडीको सवारी रेकर्ड नआएको पोख्रेलले बताए ।

‘०४६ सालभन्दा अगाडि सबै रेकर्डहरु प्रहरीकोमा हुँदो रहेछ, ३३०० नम्बर भन्दा अगाडिको रेकर्ड हामीसँग नहुँदोरहेछ’, उनले भने, ‘उहाँहरुले रेकर्ड हामीलाई हस्तान्तरण गर्नुभयाेे तर पहिलो लटको ३३०० भन्दा अगाडिको चाहिँ ज्यादै पुरानो गाडी भएको हुनाले रेकर्ड हाम्रो कार्यालयमा छैन्,’ उनले भने ।

त्यो गाडीको रेकर्ड कहाँ छ भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको उनकाे भनाइ छ । यस विषयमा खेतान समूहसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित सामग्री : दरबारको मर्सिडिज गाडी कसरी पुग्यो व्यवसायी राजेन्द्र खेतानको घरमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.