सुरेश ठाकुर : कपाल काटेरै छोरालाई सीए बनाए, ठड्याए तीन तले घर

  २०७९ असोज ५ गते १५:०७     विकासन्युज

चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाएका छन् । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका छन् ।

त्यसो त उनका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लागेका हुन् । स्थानीयस्तरमा काम सिकेर छ महिना उनले भारतको दिल्ली पुगेर तालिम लिएका हुन् ।

विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उनले कपाल काट्न सुरु गरे । त्यतिबेला उनको उमेर १८ वर्षको थियो । उनले भने, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उनी अहिले केही पर सरेका छन् ।

यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उनी सम्झाँउछन् । त्यतिबेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उनलाई अनुभव छ ।

अहिले यो सङ्ख्या ३०/३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उनमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसकेका थिए । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किने । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थालेका छन् । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गरेका छन् । उनका छोरी कक्षा १२ पढ्दै छिन् । अहिले पनि निरन्तर कपाल काट्दै आएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउँछन् ।

जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भने, ‘मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।’ कर्मथलो चितवन बनाएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उनी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.