आधा दर्जन बढी कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै छन् ?

  २०७९ असोज ५ गते १३:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रका कम्पनीहरु रहेका छन् ।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, हाइड्रोमा सानिमा माइ र अरुण काबेली पावरले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यता म्यान्युफ्याक्चरिङ समूह अन्तर्गतको नेपाल ल्युब आयलले लाभांश घोषणा गरि उक्त लाभांश पारित गर्नको लागि साधारण सभा समेत आव्हान गरिसकेको छ ।

यी कम्पनीले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् ।

कुनले कति ?

नेपाल लाइफ

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले खुलाएको छ ।

कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षमा नगदभन्दा बोनस सेयरमा फोकस भएको कम्पनी यो पटक भने नगदमा मात्रै केन्द्रित भएको देखिन्छ ।

नेशनल लाईफ 
नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।
योसँगै बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न कम्पनीलाई ३७ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।

एशियन लाइफ
एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई बीमा समितिले समेत पारित गरिसकेको छ ।

कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ ।

गुराँस लाइफ
गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर वापत ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा कम्पनीहरुको लाभांश प्रस्तावलाई नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुने छ ।

सानिमा माई
सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जान कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । यससँगै, असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त लाभांश पाउने छन् ।

अरुण काबेली पावर
अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ ।

हाइड्रो समूहअन्तर्गतका यी कम्पनीको प्रस्तावित बोनसलाई विद्युत नियमन आयोगले स्वीकृत तथा सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित कम्पनीका सेयरधनीले उक्त लाभांश पाउने छन् ।

नेपाल ल्युब आयल
नेपाल ल्युब आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते वार्षिक साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले सो दिन बिहान साढे ११ बजे ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आफ्नो ३१औं सभा बोलाएको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।

One comment on "आधा दर्जन बढी कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै छन् ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.