‘ब्याजदर बढ्दा सेयर बजारमा आतंक मच्चियो, तत्काल भद्र सहमति गर्नुपर्छ’

  २०७९ असोज ४ गते १०:४१     छोटेलाल रौनियार

छोटेलाल रौनियार- पूर्वअध्यक्ष, इन्भेष्टर्स फोरम

ब्रोकर लाइसेन्स र नयाँ स्टक मार्केटको लाइसेन्स खुल्ने भनेपछि दुई दिन मार्केट राम्रो बढेको थियो । तर, बजार बढेको तेस्रो दिन नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्यो । भद्र सहमति तोडेर आफूखुसी ब्याजदर तोक्ने भनेपछि बजार फेरी ओरालो लागेको हो । दुई तीन वटा बैंकहरुले किचलो गरेका कारण ब्याजदर खुकुलो पारेको भन्ने सुनिएको छ । राष्ट्र बैंकले पनि नयाँ सिस्टम अनुसार बोनस वितरण गर्न रोकिरहेको छ । एउटा सिस्टम खडा गरेर बैंकहरुलाई वित्तीय विवरणमा एनपीएल वा एनपीए बढाउन लगाउने कुराहरु गरिरहेको छ । बोनस सेयर वितरण गर्ने धेरै बैंकले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइसकेका छन् । यसमा राष्ट्र बैंकले पनि स्वीकृति गरिरहेको होला ।

यसअघि पनि पहिला बैंकहरुले आफूखुसी ब्याजदर बढाएका थिए । त्यसपछि त्यसको ठूलो विवाद भयो । आफूखसी ब्याजदर तोक्दा कम्प्लेन आएको थियो । त्यसको छानबिन गरेर बैंकहरुले रकम तिर्नुपरेको थियो । फेरि यसपटक बैंकहरुले भद्र सहमति तोडेका छन् । बैंकहरुले भद्र सहमति तोडेर ब्याजदर बढाएर कमाउन खोजिरहेका छन् ।

पहिलादेखि नै दुई तीनवटा बैंकले ब्याजदर बढाउन किचकिच गरेको हामीले सुन्दै आएका थियौं । अहिलेपनि यी दुईतीनवटा बैंकले कचकच गर्दा ब्याजदरको भद्र सहमति तोडिएको हुनसक्छ । अहिले ब्याजदरको भद्र सहमति तोडिएर वृद्धि गर्दा सेयर बजार घटेको हो ।

यस्तै, केही बैंकर्सहरुले नै ब्याजदर १८ प्रतिशत पुग्छ भनेर सार्वजनिक बक्तव्य दिइरहेका हुन्छन् । बैंकर्सहरुले बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु सार्वजनिक रुपमा बोल्नु हुँदैनथ्यो । ब्याजदर बढ्यो भने पूँजी बजारका लगानीकर्ताले नेगेटिभ रोल खेल्छन् । ब्याजदर बढ्यो भने पूँजी बजार घट्छ, ब्याजदर घट्यो भने पूँजी बजार बढ्छ । अहिले भएको पनि यहि हो, ब्याजदर बढ्यो पूँजी बजार घट्यो ।

जुन दिन नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोड्यो त्यो दिनदेखि पूँजी बजार घटिरहेको छ । यसमा लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ । एक वर्षअघि ३२ सय बढी इण्डेक्स हुँदा त्यो बेला लगानीकर्ताहरुको मास साइकोलोजी बुलिस थियो । त्यसपछि नियमनकारी निकाय सेबोनले ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को सीमा तोक्नु, अर्थमन्त्रालयबाट पनि यस्तै प्रकारका सार्वजनिक बक्तव्य आइरहनु, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायतका जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा आम लगानीकर्ताको मास साइकोलोजी मनोविज्ञान कमजोर बनेको छ । १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् ।

सार्वजनिक रुपमा टिप्पणी गरेको अभिब्यक्तिले बजारमा असर नगर्ने भए केही सामाजिक सञ्जालमा ब्रोकरले आफ्नो भाषा प्रयोग गर्न सक्छन् । कोही लगानकर्ता ट्रेडर छन् उनीहरुले बजार घटाउन विभिन्न हतियार प्रयोग गरेका छन् । यस्तै कुराले गर्दा बजारको मास साइकोलोजी कमजोर बनेको छ । सेयर बजारको मास साइकोलोजी सबैभन्दा महत्वपूर्ण हो । बजार सेन्सेटिभ हो । लगानीकर्ताको मनोबल कमजोर भएकाले खराब समाचार चाहीँ एकदम छिटो मनस्थितिमा हिट गर्छ । ब्याजदरको कुराले पनि सबैभन्दा छिटो हिट गरेको हो ।

हामीले १२/१४ वर्षदेखि ब्रोकरको लाइसेन्स खुलाउनुपर्ने माग गर्दै आएका थियौं । त्यो कार्यान्वयनमा आइसकेको छ । हामीले नयाँ स्टक ल्याउनुपर्छ भनेर माग गरेका थियौं । हामीले सिआश्वा शुल्क घटाउनुपर्ने लगायतका मागहरु राखेका थियौं । ती सबै कुराहरु पुरा हुँदै गएका छन् । यस्तै, दशैंतिहारपछि ब्रोकर, सिडिएस, नेप्से, सेबोन लगायतको कमिशन घटाउने पनि भनेको छ । हाम्रा राम्रा मागहरु पुरा भइरहेका छन् ।

अहिले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नै छैन । तर मास साइकोलोजी वीक भएपछि अलिकति गाह्रो भएको हो । यस्तो अवस्थामा सकारात्मक कुरा आएपनि लगानीकर्तालाई त्यति छिटो असर गर्दैन । तर नेगेटिभ कुराहरु आयो भने एकैपल्ट त्रसित हुने देखिएको छ । अहिले त्रसित वातावरणको अवस्था छ । त्यसकारण बजार घटेको हो । तर म बजार देख्ने कारण देख्दिन ।

१३ महिनामा निरन्तर १३ सय अंकले बजार घटेको छ । यो भनेको धेरै ठूलो घटाइ हो । जुन नहुनुपर्न थियो । आजको सेयर बजारमा ३ सय रुपैयाँमा सेयर किनेको छ भने करिब त्यसमा ६० रुपैयाँ ब्याजको पैसा छ । केहीकेही ब्यक्तिहरुले त्यो पैसा तिरिसक्यो । ३ सय रुपैयाँको सेयर किन्दा कष्ट ६० रुपैयाँ हो भने २४० रुपैयाँ वास्तविक हो नी त । १३ महिनाको त ब्याज तिरिसक्यो त्यहाँ ।

दशैं तिहार लगत्तै बोनस सेयर वितरण गर्ने समय हो । अब पाकेको रोटी खाने समय हो । बालिनाली भित्र्याउने समयमा सेयर बिक्री गर्नु भनेको घाटा हुन्छ । सेयर कारोबार घटेर ७०/८० करोड रुपैयाँमा झरेको छ । यसअघि १८ सयको इण्डेक्सबाट ११ सयको इण्डेक्समा झर्दा धेरैले त्यो बेलामा ९ सयमा झथ्र्याे भनेको थिए । तर ९ सयमा झरेन त्यो बेलामा ।

त्योबेला लगानीकर्ताले सेयर बिक्री गर्न मानेन् । त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुने गरेको थियो । त्यसपछि विस्तारै बजार बढ्न थाल्यो । अहिलेको अवस्था पनि त्यहि देखिरहेको छु । अहिले सेयर लगानीकर्ता बिक्री गर्न मानिरहेका छैनन् ।

बजारमा नयाँ लगानीकर्ता धेरै भएकाले उनीहरु आत्तिएका छन् । अहिले जसलाई जरुरी उनीहरुले बिक्री गरिरहेका छन् । नयाँ लगानीकर्ताका लागि सेयर शिक्षाको कमी छ । ५४ लाख डिम्याट खाता खोल्ने पुगिसकेका छन् । अनलाई टिएमस लिने १३ लाख बढी पुगेका छन् । यसअघि आईपीओमा २७ लाखले आईपीओमा आवेदन दिएपनि अहिले । धेरै लगानीकर्ता शिक्षित छैनन् । उनीहरुलाई सेयर शिक्षा पुगेको छैन् । त्यसैले उनीहरु आत्तिने र मात्तिने गरेका छन् । हरियो वा पोजेटिभ सर्किट लाग्यो भने किन्न जान्छन् । अनि नेगेटिभ सर्किट लागेर बजार घट्दै गयो भने झन् आत्तिएर बिक्री गरेर आत्तिन्छन् ।

विदेशमा रातो भयो भने किन्छन् हरियो भने बिक्री गर्छन् । वारेन वफेटले लगानी गर्दा हरियोमा भन्दा रातोमा बढी रमाइलो गर्नुपर्छ भनेका छन् । रातो भएका बेलामा लगानी गर्ने समय हो । हरियोमा बिक्री गरेर रमाइलो गर्ने हो । तर यहाँ रातो भयो भने सबैभन्दा बढी बिक्री गर्न हतार गर्छन् । अहिले किन्नु पर्ने बेला हो । अहिले रिस्क १५/२० प्रतिशत छ भने अवसर ७५/८० प्रतिशत छ । यसकारण अहिले लगानी गर्ने समय हो ।

वारेन बफेटले दीर्घकालका लागि लगानी गर्दा प्रतिफलमा धेरै हुन सक्छ भनेका छन् । ३२ सय विन्दुमा सेयर बजार हुँदा लगानी गरेको छ भने यो व्यवस्था लागू गर्ने हो भने केही फाइदा हुँदैन । यदि १८ सयमा बजार मूल्य हेर्ने हो भने यो सिस्टम पनि लागू भयो । अहिलेको सेयर बजारमा वारेन बफेटको दुईवटा सिद्धान्त नै लागू हुन्छन् ।

यसकारण अहिले लगानी गर्ने समय हो । अवसर पनि धेरै छ । सेयर बजारमा सधैं रिस्क भएपनि अहिले १५/२० प्रतिशत मात्रै छ भने अवसर ७५/८० प्रतिशत छ । वारेन बफेटले सबै डराएको समयमा सेयर किन्नुपर्छ भनेका छन् । राम्रो सेयर लगानीकर्ताहरु जोसँग पैसा छ उनीहरुले सेयर बिक्री गरिरहेका छैनन् । पैसा हुनेहरुले अहिले सेयर खरिद गरिरहेका छन् । अहिले आत्तिने र डराउनेहरुले सेयर बिक्री गरिरहेका छन् ।

अहिले बैंकको लोन लिएर सेयर किन्ने समय होइन । बैंकहरुले पनि यति महँगो ब्याजदरमा कर्जा दिनु हुँदैन । आफ्नो पैसा बचत छ भने लगानी गर्ने हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेलामा ब्याज खाने किन सेयर किन्ने भन्ने पनि हुन सक्छ । तर उद्यमी ब्यापारीहरुले ब्याजको पैसा खानेभन्दा पनि ब्यापार उद्यम गरेर पनि खान्छन् । ब्याजदर उच्च केही समयको लागि मात्रै हो । बजार बढ्ने नै हो, सधैं घट्दैन । बजार बढ्नुपर्छ ।

अहिले लगानीकर्ताले १३ महिनाको ब्याज तिरिसकेको, बोनस सेयर वितरण गर्ने समय, १३ महिनामा १३ सय अंक घटेको लगायतका सबै कुराहरुलाई राम्रो गरी बुद्धि पुर्याउने हो भने सेयर किनेर राख्ने हो । बोनस सेयर वितरण गर्छ, बजार पनि बढ्छ अनि बहुआयामीक रुपमा लगानीकर्तालाई फाइदा हुन्छ । २/३ वर्षमा डबल त्रिबल फाइदा हुन बेर लाग्दैन । तर, बैंक तथा वित्तीय संस्थामा राख्यो भने त्यो हुँदैन । बैंकबाट १२/१५ प्रतिशभन्दा बढी ब्याज पाइँदैन । त्यहि पनि उच्च ब्याज दिने भनेको रेमिट्यान्स खातामा मात्रै हो ।

नेपाल बैंकर्स एसोशिएसनले तोडेको भद्र सहमति पुनः भद्र सहमति गर्छन् । किनभने यसले बजारमा आतंक मच्चाएको छ । बैंकर्सहरुले पनि सर्भिस दिएर कमाउने हो । यसरी लुटेर मनपरी गरेर हुँदैन । बैंकहरुले एनपीए/एनपीएल बढाएर राष्ट्र बैंकले कारवाही गर्दा कर्जा लिने लगानीकर्तालाइ समस्यामा पार्ने काम गर्नु हुँदैन ।

अहिले वेट एण्ड वाच गरेर बजार स्थिर भइसकेपछि सेयर खरिद गर्ने हो । केही दिन अघिसम्म बजार स्थिर भइसकेको अवस्था थियो । दुईचार विन्दु घट्नेबढ्ने भइरहेको थियो । त्यसपछि विस्तारै दुई दिन राम्रोसँग बढ्यो । बजार स्थिर हुन खोजिरहेको छ । बजार बढ्दा ट्रेडर्स पनि प्रवेश गरेका थिए । बैंकर्सहरुले पनि असोजसम्म हामी ब्याजदर बढाउँदैनौ भनेका थिए । तर अचानक यो भद्र सहमति तोड्दाखेरि बजार घटेको हो । यो निर्णय फिर्ता लिनै पर्छ । नेपाल बैंकर्स एशोसियसन, राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबैले हातेमालो गरेर २ कदम अघि बढ्नुपर्छ ।

यत्रो महँगो ब्याज लिँदा खेरि अन्ततः यसको फायर ब्याक बैंकलाई नै हुन्छ । एनपीएल धेरै नै बढ्छ । कर्जा लिनेहरुले महँगो ब्याज तिरेपछि उसले आफ्नो उद्योगधन्दा चलाउन सक्दैन । ब्याजदर नि तिर्न नसक्दा कम्पनी पनि डुब्छ । बैंकको एनपीएल बढ्ने भएपछि बैंक पनि यस कुरामा सावधान हुनुपर्छ । ब्याजदर बढायो भने बैंकलाई दूरगामी परिणाम हुन्छ । छोटो समयमा नाफा होला तर दीर्घकालमा बैंकलाई नै ब्याक फायर हुन्छ ।

बैंकहरुको सिडी रेसियो ८८ प्रतिशतको हाराहारीमा छ । ४/१२ को नीतिमा राष्ट्र बैंकले १२ सम्म दिने भनेको छ । अहिले कतिपय बैंकले पैसा लिन आउ भनरिहेका छन् । बैंकमा पैसा प्रयाप्त भएकाले लगानीकर्ताले सेयर धितो कर्जा पाइरहेका छन् । अहिले ब्याज मात्रै बढाएका हुन् । १ सय खर्बको हाराहारीमा बैंकले सेयर धितो कर्जा ब्याजदर बढ्दा घटेर ६०/७० अर्बको हाराहारीमा झरेको छ ।

बजार घटिरहेको बेलामा मार्जिन कल आइरहेको हुन्छ । १८ सय विन्दुमा झरेर माथि गइसकेपछि मार्जिन कल कम आएको थियो । बैंकहरुले सानोतिनो मार्जिन कल गर्नु हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो बेलामा लगानीकर्तालाई चारैतिरबाट घेरबन्दी हुँदा गाह्रो हुन्छ । सानोतिनो कर्जामा हामी मार्जिन कल गर्दैनौ भनेर बैंसर्कहरुले भनिरहेका छन् । अहिले धेरै ठूला-ठूला कर्जा धेरैले तिरिसके ।

अहिले लगानीकर्ताका राम्रो अवसर आएको छ । अब बजार यो भन्दा कम घट्दैन । अब बजार धेरै घट्ने ठाउँ पनि छैन । बजारको यथावत स्थिति सधैं रहँदैन । रेमिट्यान्स बढिरहेको छ, चुनावी खर्च आइरहेको छ, राष्ट्र बैंकले पनि बैंकहरुलाई यसरी काम गर्न दिँदैन । बैंकको असहमति भयो भन्दैमा यस्तो निर्दयीतरिकाले हिन्दैन । पहिला पनि भद्र सहमति तोडेर फेरि मिलेकै हो । सेयर बजारमा गैरआवासिय नेपाली पनि भित्र्याउने र विदेशमा जाने नेपालीहरुले आईपीओमा १० प्रतिशत आरक्षण पाउँदा लगानी बढ्छ ।

(नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियासँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.