७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा

  २०७९ असोज १ गते १५:२०     विकासन्युज

काठमाडौं, १ असोज । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अभियानले यस्तो घोषणा गरेको छ । अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने जनाएको हो ।

अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोखे । उनले देशमा कृषिक्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन ? भनेर प्रश्न गरे । उनले देश बनाउनको लागि सबै युवाहरु पार्टीको विचारभन्दा माथि उठ्नुपर्ने माजोड दिए । अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ ।

कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भने, ‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकता छ । अब खेतीयोग्य जमिन बाँझो रहने छैन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं । हरित क्रान्तिले देशमा पर्यटकहरु भित्र्याउनेछौं ।’

उनले अहिले देशका युवाहरु एक छाक खानाको लागि सस्तो पारिश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए । उनले अहिले प्रत्येक नेपाली नागरिकको टाउकोमा ऋणको भारी थपिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.