नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट

  २०७९ भदौ २० गते १३:१३     सीआर भण्डारी

काठमाडौं । केही दिन अघि एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल इन नेपालका अध्यक्ष मनोज शाहीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइटमा गएर केही तथ्यांक खोज्ने प्रयास गरे । उनले भेटाउन सकेनन् । त्यसपछि उनले पुनः नेप्सेको आम्दानी र खर्च पनि थाहा पाउन प्रयास गरे । तर, लामो समय प्रयास गर्दा पनि उनले  नेप्सेको खर्च आम्दानी तथा खर्चको विवरण भेटाउन सकेनन् ।

‘नेप्सेमा केही विवरण खोज्ने प्रयास गरेँ तर मैले खोज्न नजानेको होकि त्यसमा नभएको हो, भेट्टाउन सकिनँ, नेप्सेले कति आम्दानी गर्छ, कति खर्च थाहा छैन्, मैले पत्ता लगाउन सकिन,’ उनले विकासन्युजसँग भने ।

उनले नेप्सेको मात्रै नभएर नेप्सेमा सूचीकृत कम्पनीहरुको आधिकारिक तथ्याङ्क नै पाउन गाह्रो भएको धारणा राखे । नेप्से आफैले सूचीकृत कम्पनीहरुको विवरण माग्दा आफ्नो सूचना पनि सर्वसाधारणलाई नदिएको गुनासो उनको छ । सरकारी संस्था भएर पनि नेप्सेको आम्दानी र खर्च कति छ भन्ने विषय सर्वसाधारण तथा लगानीकर्तालाई नहुनु विडम्वना भएको उनको धारण छ । लगानीकर्ताले नेप्सेमा राखिएको तथ्याङ्कका आधारमा नै लगानीको गणना गर्ने भएकाले सबै विवरण वेवसाइटमा राख्नुपर्ने उनको माग छ ।

‘लिस्टिङमा गएपछि सानो हरफ छ, त्यहाँ केही पनि सूचना छैन्, केही विवरण पनि राखिएको छैन, विवरण नभएपछि कसरी इन्डेक्स क्याल्कुलेसन गर्ने ? इन्डेक्सको बारेमा केही पनि छैन, नयाँ प्रविधिमा गएको नेप्सेको सेवा किन सुस्त ? मैले नेप्सेको धेरै कमजोरी देखेँ,’ उनले भने ।

नेप्सेको नयाँ वेवसाइटमा एक वर्षभन्दा बढी अवधिको तथ्याङ्क नै नभएको उनको भनाइ छ । नयाँ वेवसाइट पूर्ण रुपमा नै व्यवस्थित नभई सञ्चालन गरेको नेप्सेले पुरानो तथ्याङ्क हेर्नको लागि पुरानै वेवसाइटमा जानु परेको उनको भनाइ छ । ‘अहिले आएको नयाँ साइटमा एक वर्षको भन्दा बढीको डाटा पाउन सकिन्न, पुराना तथ्यांक हेर्न पुरानो साइटमा जानु पर्छ, नयाँ साइटमा कुनै पनि विवरण नै भेटिदैनन,’ उनले भने ।

उनले नेप्सेमा ‘ट्रेडएबल इन्डेक्स’ नभएको बताए । ‘भोलिका दिनमा नेप्से टेन या नेप्से फिफ्टी बनाइयो भने इन्डेक्स प्रडक्टहरु बनेपछि काम छैन, ती प्रडक्टहरुलाई आवश्यक गरेको बेलामा खरिद बिक्री गर्न नसकेमा त्यसको महत्व हुँदैन,’ उनले भने ।

लगानीकर्ता विष्णु बस्यालले नेप्सेले लगानीकर्तालाई आवश्यक पर्ने जरुरी सूचना समेत उपलब्ध नगराएको गुनासो गरे । आफूले बारम्बार सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत् नेप्सेलाई झक्झक्याउँदा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

‘नेप्सेले लगानीकर्तालाई अत्यन्त जरुरी सूचना समेत उपलब्ध गराएको छैन, बारम्बार सामाजिक सञ्जालमार्फत् सूचना उपलब्ध गराउनुपर्याे भनेर झकझक्याएको छु, त्यसको सुनुवाइ नै भएन,’ उनले भने, ‘ब्यक्तिगत सम्बन्धका आधारमा सूचना मागे पनि आम लगानीकर्ताले भने प्राप्त गर्न सकिरहेका छैनन्, नेप्सेले पहुँच भएकालाई मात्रै सूचना प्रदान गरिरहेको हुन्छ तर आम लगानीकर्ताको पहुँच हुँदैन, सूचनामा पहुँच हुन पब्लिक गर्नुपर्छ, तथ्याङ्क माग्नलाई सम्बन्ध किन प्रयोग गर्ने, तथ्याङ्क पाउनेहक अधिकार हो ।’

नेप्सेले सिस्टममा सुधार गरेर बजार सहभागिताको लागि नभई नहुने सूचनाहरु सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले सबै सूचना उपलब्ध गराउन नसक्दा नेप्से असफल भएको समेत धारणा राखे । उनको पनि नेप्सेले लगानीकर्ताका लागि इन्भेष्टमेन्ट र ट्रेडिङ निर्णय गर्न जरुरी पर्ने सूचना नदिएको आरोप छ । नेप्सले आफ्नो सूचना बिक्री गर्न सक्ने भएपनि त्यो गर्न नसकेको उनको धारणा छ ।

‘नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार छ तर त्यो तथ्याङ्क बिक्री गर्न पाउने भनेर नीति बनाए पनि तथ्याङ्क बिक्री गर्ने व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टलबाट अनाधिकृत रुपमा लिनु परेको छ, बजारमा तथ्याङ्कको माग बढ्दो छ तर नेप्सेले आफ्नो सम्पत्तिबाट पैसा कमाउन सक्ने भएप नि कमजोर बनेको छ, नेप्सले आधिकारिक रुपमा सूचना दिन सकेको छैन्, उल्टै तथ्याङ्क अनधिकृत रुपमा बजारमा आइरहेको छ,’ बस्यालले भने, ‘नेप्सेले बेलाबेला तथ्याङ्क अनाधिकृत रुपमा प्रयोग गरेकानुनी कारवाही गर्ने चेतावनी दिन्छ ।’

बस्यालले नेप्सको दुई वटा वेवसाइटको औचित्य नभएको धारणा राखे । दुइटा वेवसाइट हुँदा लगानीकर्ता दुविधमा परेको उनको बुझाइ छ । एउटा वेवसाइट बनाउन पनि वर्षाैं लागेकोप्रति उनले आक्रोस पोखे ।

नेप्सेले डिलिस्टेड भएका कम्पनीको बारेमा लगानीकर्तालाई सूचीकृत गराउन पनि कञ्जुस्याईं गरेको उनको आरोप छ । ओभरल इन्डेक्समा कयौं वर्षसम्म डिलिस्टेड भएका कम्पनीको पनि बजार पूँजीकरणमा गणना गरिएको प्रति उनले आपत्ति जनाए ।

‘ट्रेड नभएका कम्पनी बजार पूँजीकरण गणना गर्दा इन्डेक्समा फरक पर्छ, यो अवैज्ञानिक भएकाले नेप्सेले सुधार गर्नु पर्छ, हरेक सूचना पारदर्शी हुनुपर्छ, लगानीकर्तालाई अधिकतम दिने नियत राख्नुपर्छ तर यहाँ सूचना लुकाउने नियत बढी देखिन्छ, सकेसम्म सूचना दिन नपरोस भन्ने खालको नियत छ,’ लगानीकर्ता बस्यालले भने ।

नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई सूचना तथा तथ्याङ्क उपलब्ध गराउन नसक्दा लगानीकर्ता मर्कामा परेको गुनासो गरेका छन् । नेप्सेसँग लगानीकर्तालाई लगानी गर्न र ट्रेड गर्न आवश्यक पर्ने तथ्याङ्क नहुँदा समस्या परेको लगानीकर्ताको गुनासो छ । यस्तै, नेप्सले उपलब्ध गराई रहेका सूचना पनि फरक फरक वेवसाइटमा आउँदा अलमलमा पर्ने गरेको उनीहरु बताउँछन् ।

अधिकांश लगानीकर्ताले नेप्सेको तथ्याङ्कका आधारमा विश्लेषण गरेर नै लगानी र ट्रेडिङ गर्छन् । तर, नेप्सेको वेवसाइटमा आवश्यक पर्ने तथ्याङ्क नहुँदा लगानीकर्ताहरु समस्यामा परेका हुन् ।

नेप्सेका सीईओ कृष्ण कार्कीले लगानीकर्ताका लागि सबै तथ्याङ्क लाइभ गर्ने गरेको बताए । उनले लगानीकर्तालाई आवश्यक पर्ने सूचना उपलब्ध गराइ रहेको दाबी समेत गरे । उनले नेप्से आफ्नो वित्तीय विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने भएकाले सार्वजनिक गर्नुपर्छ भन्ने नभएको तर्क दिए ।

‘लगानीकर्तालाई सबै सूचना प्रदान गरिरहेको छौं, नेप्सेको वित्तीय विवरण सार्वजनिक नगरेपनि सम्बन्धित निकायमा पेश गरिन्छ, नेप्सेको अडिट हुने भएकोले शंका गर्नु पर्दैन,’ उनले भने, ‘सर्वसाधारणलाई दिनुपर्ने सूचना लाइभ गर्ने र लाइभ नगर्ने अर्काे गरी २ वटा सूचना छन्, नेप्सेसँग हजारौं सूचना भएकाले राख्नु पर्ने राख्छौं, कतिपय गोप्य पनि हुन्छन्, लगानीकर्ताका लागि सूचीकृत कम्पनीको तथ्याङ्क सबै वेवसाइटमा राखिएको छ ।’

नयाँ वेवसाइटमा पुराना तथ्याङ्क माइग्रेसन गर्न बाँकी रहेको उनको भनाइ छ । नयाँ वेवसाइटमा डाटा माइग्रेसन गरेर पुरानो वेवसाइट बन्द गर्ने उनले बताए । ‘सबै तथ्याङ्क एउटै ठाउँमा राखिन्छ, सबै प्रक्रियामा छ, पुरानो वेवसाइटबाट नयाँ वेवसाइटमा ट्रान्सफर्मर गर्न बाँकी छ, सार्वजनिक सूचनामा हामीले बञ्चित गर्दैनौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.