२० औं अर्बको कम्पनीलाई पछाडि पार्याे नेष्डोले, पुरानाले ३ गुणा कमाउँदा नयाँ जोखिममा

  २०७९ भदौ ५ गते २३:०३     विकासन्युज

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो ।

२० अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र एक खर्ब रुपैयाँ भन्दा बढी पुँजीकरण भएको नेपाल टेलिकम, ग्लाेवल आईएमई बैंक, नविल बैंक लगायत धेरै कम्पनीहरुलाई २५ करोड ५० लाख रुपैयाँ पुँजी भएको नेष्डोले कारोबारमा जित्यो । साढे २५ करोड रुपैयाँको कम्पनीको बजार पूँजीकरण ८ अर्ब २६ करोड रुपैयाँ छ ।

कारोबार मात्र बढेको छैन, मूल्यले पनि सगरमाथा चढ्दैछ । आईतबार अन्त्यमा यो कम्पनीको सेयर प्रतिकित्ता ३ हजार २४० रुपैयाँमा किनबेच भयो ।

यति धेरै मूल्य भएको कम्पनीको न इतिहास गज्जब छ र न भविष्य भव्य छ । गत असार ३१ गते कम्पनीको तेस्रो साधारणसभा भयो तर कम्पनीले सेयरधनीलाई नगद वा बोनस सेयर केही पनि दिएन । त्यस्तै यो लघुवित्त निकट भविष्यमा अर्को कुनै संस्थासँग मर्ज वा प्राप्तिमा जाने निर्णय गरेको छ ।

नेप्सेका अनुसार यस लघुवित्तको पहिलो सेयर कारोबार गत गत चैत १४ गते भएको हो । पहिलो दिनको अन्तिम सेयर कारोबार ७४७ रुपैयाँमा भएको थियो । भदौ ५ गते ३ हजार २४० रुपैयाँमा कारोबार बन्दा भयो । यस अवधिमा कम्पनीको सेयर मूल्य ३३४ प्रतिशतले वृद्धि भएको छ ।

पुराना लगानीकर्ताले छोटो अवधिमा ३ गुणा भन्दा बढी कमाउँदा नयाँ लगानीकर्ता भने जोखिममा पर्ने जानकारहरु बताउँछन् । यस लघुवित्तमा सर्वसाधारणको सेयर ८ लाख २८ हजार कित्ता मात्र भएकोले कर्नरिङमा परेको लगानीकर्ताको भनाई छ । लघुवित्तमा  संस्थागत संस्थापक शेयरधनीको २ वटा र व्यक्तिगत संस्थापक शेयरधनी ८१ जना छन् ।

कुश्मा नगरपालिका ६ पर्वतमा ठेगाना रहेको यस लघुवित्तले वि.सं. २०७५ फागुन २१ गतेदेखि कारोवार शुरुवात हो । लघुवित्तसँग राष्ट्रिय स्तरमा कारोबार गर्न अनुमति पत्र छ ।

आईपीओ बाडँफाँट गर्दा नेष्डो लघुवित्तका म्यानेजिङ डाइरेक्टर विश्व प्रकाश प्रसाईं ठकुरीले शतप्रतिशत लाभांश वितरण गर्ने दाबी गरेका थिए । तर असारमा साधारणसभा गर्दा कम्पनीले सेयरधनीलाई खाली हात घर फर्कायो ।

गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा जनाएएको छ । जहाँ कम्पनीको जगेडा कोषमा ६१ करोड रुपैयाँ भएको उल्लेख छ ।

नाफा र जगेडा कोष हेर्दा कम्पनीले आगामी वर्ष राम्रो प्रतिफल दिने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर राष्ट्र बैंकले लघुवित्तमाथि बढाउँदै गरेकाे कसिलाे नीति र लघुवित्त प्रति सर्वसाधारणको बढ्दो असन्तुष्टिले लघुवित्तको सेयरमा उच्च मूल्य तिर्ने लगानीकर्ताहरु पनि उच्च जोखिममा रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.