विदेशी सपिङ ‘कल्चर’लाई नेपालमा देखाउँदै चार साथीभाई, २० करोडको लगानीमा खोल्दै नेक्स्ट स्मार्ट सपिङ

  २०७९ भदौ २ गते १३:४७     राजिव न्यौपाने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा ‘नेक्स्ट स्मार्ट सपिङ’ खुल्ने भएको छ । यही वर्षदेखि सञ्चालनमा आउँने गरी सो सपिङ खुल्ने भएको हो । चार जानले साझेदारी गरेर उक्त सपिङ खोल्न लागेका नेक्स्ट स्मार्ट सपिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज भाइ श्रेष्ठले जानकारी दिए । नेक्स्ट स्मार्ट सपिङ नयाँ अवधारणासहित खाेलिदैछ । सीईओ श्रेष्ठका अनुसार २० करोड रुपैयाँको लगानी गरेर काठमाडौंका विभिन्न ठाउँमा ५ वटा नेक्स्ट स्मार्ट सपिङ खोल्ने तयारी छ । जस मध्ये एउटा स्मार्ट सपिङ यही महिना भित्र सञ्चालनमा आउँदैछ ।

‘म पनि लामो समयसम्म विदेश बसेँ, बाहिर बस्दा सपिङको बारेमा अध्ययन पनि गरे र काम गर्ने अवसर मिल्यो, त्यो अनुभवलाई मिलाएर नेपालमा सञ्चालन भइरहेको भन्दा फरक तरिकाले काम गर्याे भने राम्रो हुन्छ भनेर नेक्स्ट स्मार्ट सपिङ अवधारण ल्याएका हौं,’ उनले भने ।

अस्ट्रेलियाको कोल्स र जापानको ताकाशिमाया सपिङ सेन्टरको अवधारणलाई मिसाउँदै नेपालमा पहिलो पटक नेक्स्ट स्मार्ट सपिङ सुरु गर्ने तयारी गरेको पनि श्रेष्ठले बताए । उनका अनुसार सो स्मार्ट सपिङमा ४ जनाको नै बराबरी लगानी गरेका छन् ।

‘हामी चारै जना लामो समयसम्म विदेश बस्यौं, विदेशबाट फर्केर नेपालमा नै केही गर्ने योजना बनाएका थियौं, सोही अनुरूप मलाई पनि विदेशका सपिङ सेन्टरमा काम गर्ने अवसर मिल्यो, त्यहाँ काम गरेको अनुभवलाई मिसाएर नेपालमा नेक्स्ट स्मार्ट सपिङ सञ्चालन गरेका हौं, चारै जना साथीहरू लामो समयको विदेश बसाइ पश्चात् नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ स्मार्ट सपिङ सञ्चालन ल्याउने तयारीमा छौं,’ उनले भने ।

जग्गा भाडामा लिएर स्मार्ट सपिङ खोल्न लागेको पनि श्रेष्ठले बताए । उनका अनुसार विदेशका सपिङ सेन्टरको जस्तो अनुभूति नेक्स्ट स्मार्ट सपिङबाट ग्राहकले पाउने छन् । यसपछि के होला भन्ने उत्सुकता मान्छेमा आओस् भनेर नेक्स्ट स्मार्ट सपिङ नाम राखेका उनको भनाइ छ । यो वर्ष काठमाडौं भित्र ५ वटा स्मार्ट सपिङ खोले पश्चात् उपत्यका बाहिर पनि यसका शाखा विस्तार गर्ने योजना कम्पनीको छ ।

यी पाँच ठाउँमा खुल्दैछन् शाखा

नेक्स्ट स्मार्ट सपिङ पहिलो चरणमा काठमाडौंका ५ वटा ठाउँमा खुल्दैछन् । जसमध्ये पहिलो स्मार्ट सपिङ बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ कपन सुन्दर बस्तीमा खुल्ने भएको छ । सो ठाउँमा हाल स्मार्ट सपिङको भवन निर्माण भई फिनिसिङको काम भइरहेको छ । उक्त स्मार्ट सपिङ सञ्चालनमा आए पश्चात् त्यसको शाखा बौद्धमा खुल्ने पनि श्रेष्ठले बताए ।

बौद्धमा सो सपिङ ५ रोपनीको क्षेत्रफलमा हुनेछ । बौद्धमा स्मार्ट सपिङ निर्माण भइसकेपछि पेप्सीकोलामा खुल्नेछ । श्रेष्ठका अनुसार कपनको शाखा निर्माण भइसकेपछि बौद्धमा र पेप्सीकोलामा एकै चोटि सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । हाल उक्त ठाउँमा नेक्स्ट स्मार्ट सपिङ खोल्नको लागि संरचना तयारीको काम भइरहेको छ ।

श्रेष्ठका अनुसार २ ठाउँमा अहिले जग्गाको विषयमा कुरा चलिरहेको छ । जग्गाको व्यवस्थापन पश्चात् भौतिक संरचनाको काम भई सपिङका आवश्यक पूर्वाधारहरू निर्माण भई नेक्स्ट स्मार्ट सपिङ खुल्नेछ ।

‘जग्गाको व्यवस्थापन भई नसकी हामीले ठाउँको बारेमा बताउन मिल्दैन, जहाँ हामी कुरा चलाएका छौं, त्यहाँबाट सकारात्मक नै कुरा आएको छ, करिब ९९ प्रतिशत कुरा मिलिसकेको छ, अब निर्णय हुन बाँकी छ,’ उनले भने ।

एउटा सपिङको लागि पूर्वाधार निर्माण भइसकेको २ महिना पछि अर्को ठाउँमा काम सुरु हुने पनि श्रेष्ठले बताए । कपनमा निर्माणाधीन नेक्स्ट स्मार्ट सपिङ दुई हप्ता भित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । हाल स्मार्ट सपिङको लागि तयार भइरहेको भवनको फिनिसिङको काम भइरहेको छ ।

श्रेष्ठका अनुसार सो ठाउँमा निर्माण भइरहेको भवनको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणाधीन स्मार्ट सपिङ ६ रोपनी क्षेत्रफल फैलिएको छ । सो स्मार्ट सपिङ प्राङ्गडमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्छ ।

‘कपनमा निर्माण भइरेको नेक्स्ट स्मार्ट सपिङ हालसम्म सञ्चालनमा आइसक्थ्यो, भवनको निर्माण गर्ने क्रममा एसि जडानमा समस्या आयो, एसीमा राम्रो भएन भने पछि फेरी समस्या आएर सक्ने कुरालाई मध्यनजर गर्दै एसीलाई पुन परिवर्तन गर्नु परेकाले ढिला भयो, अब त्यो समस्याको पनि समाधान भइसकेको छ, अब सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।

काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षको जग्गामा सो स्मार्ट सपिङ निर्माण भएको हो । उक्त सपिङ सेन्टरमा बिद्युतीय गाडी चार्जिङ स्टेसन पनि जडान हुनेछ ।

‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको छ, खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरूको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको देखिन्छ, अहिले सडकमा पनि इभीको संख्या बाक्लो देखिन्छ, त्यसैलाई मध्यनजर गरेर चार्जिङ स्टेसन पनि सोच बनाएका हौं,’ उनले भने । श्रेष्ठका अनुसार महिनाको ३ लाख १५ हजार रुपैयाँ जग्गा भाडा तिर्नुपर्छ ।

के-के छन् सुविधा ?

घरको लागि चाहिने खाद्य र अन्य सम्पूर्ण (ग्रोसरी) सामान नेक्सट् स्मार्ट सपिङमा उपलब्ध हुनेछन् । ग्रोसरी सामान अन्तर्गत तरकारी, दुध जन्य पदार्थ आदि पर्छ । स्मार्ट सपिङमा पाइने ग्रोसरीका सामानहरू स्वस्थ्यकर हुनुको साथै गुणस्तर हुने पनि श्रेष्ठको दाबी छ । तरकारीका सामानहरू आफै उत्पादन गरेर प्याकिङ गर्ने सोचमा पनि कम्पनी छ ।

‘हाम्रो घरको भान्सामा तरकारीहरू पनि राम्रोसँग सफा नगरी पकाउने चलन छ, कसैको त तरकारी नपकाई पनि खाने चलन हुन्छ, यसैलाई मध्यनजर गरेर भिजिटेबलका सामानहरूलाई जारको पानीले सफल गरेर मात्र फलफूल अथवा तरकारी बेच्ने छौं,’ उनले भने । राम्रो पानी प्रोभाइट नभएसम्म जारको पानी नै तरकारी सफा गर्न प्रयोग हुने छ ।

यस्तै, स्मार्ट सपिङमा इलेकट्रोनिक्स सामानहरू पनि उपलब्ध हुनेछ । इलेक्ट्रोनिक्स सामान एउटा ब्रान्डको मात्र राख्ने योजना कम्पनीले बनाएको छ । गुणस्तरीय सेवालाई मध्यनजर गरेर स्मार्ट सपिङ खेल्ने योजना बनाएको पनि श्रेष्ठले बताए ।

नेक्स्ट स्मार्ट सपिङमा उपलब्ध सामान अनलाइनबाट पनि अर्डर गरेर खरिद गर्नुका साथै सपिङमा प्रत्यक्ष उपस्थिति भएर पनि किन मेल गर्न सकिन्छ । ‘अहिलेका मानिसहरू अफिसियल कामले अफिसमा नै धेरै समय बिताउनु पर्ने हुन्छ, आवश्यक परेका सामानहरू किन्न पाइरहेका हुँदैनन्, अफिसबाट निस्कनु आधा घण्टा पूर्व सामान अर्डर अनलाइन बाटै गरेर निस्किँदा हामी त्यही सामान लाई तयारी पारी राख्छौं, उनीहरू आएर पैसा तिरेर सामान लान सक्ने व्यवस्था छ,’ उनले भने ।

अन्य ठाउँमा पाइने सामान भन्दा करिब ५ प्रतिशत काम मूल्यमा स्मार्ट सपिङमा सामान उपलब्ध हुने पनि श्रेष्ठले बताए । ‘हामी आफै आयातकर्ता पनि हौं, सपिङ सेन्टर भित्रको सामानहरू हामी हाफैले आयात गर्ने सोचमा छौं, अन्य मार्टहरूलाई पनि हामीले आयात गरेको सामान सप्लाई पनि अहिले गरिरहेका छौं, हामीले नै सामानको आयात गर्ने भएकाले सामान अन्य ठाउँको तुलनामा सस्तो पनि पर्न जान्छ,’ उनले भने ।

यस स्मार्ट सपिङबाट धेरैले रोजगार पाउने विश्वास पनि कम्पनीले लिएको छ । श्रेष्ठका अनुसार एउटा सपिङमा २० देखि ३० जना कर्मचारीको आवश्यकता पर्छ, ५ वटै स्मार्ट सपिङ निर्माण भइसके पछि लगभग १ सय ५० भन्दा बढिले रोजगारी पाउनेछन् ।

One comment on "विदेशी सपिङ ‘कल्चर’लाई नेपालमा देखाउँदै चार साथीभाई, २० करोडको लगानीमा खोल्दै नेक्स्ट स्मार्ट सपिङ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.