२०७९ भदौ १ गते १६:३५ विकासन्युज
काठमाडौं । जीवन बीमा कोषको आधारमा नेपाल लाइफ इन्स्योरेन्स नम्बर वान बन्न सफल भएको छ । २० वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ यो कोषमा करिब दोब्बर रकमले अग्रस्थानमा देखिएको हो ।
कम्पनीहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकारमा नेपाल लाइफ पहिलो स्थानमा छ भने दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । यी दुई कम्पनीको जीवन बीमा कोषको आकारमा करिब ८० अर्ब रुपैयाँ बढीको अन्तर देखिएको छ ।
कम्पनीले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार नेपाल लाइफको उक्त कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ बढी छ । जबकी अन्य कम्पनीको उक्त कोषमा खर्बभन्दा तल छ भने दोश्रोमा रहेको लाइफ इन्स्योरेन्स कम्पनीको कोषमा ९३ अर्ब ६३ खर्ब रुपैयाँ सञ्चित छ ।
गत आवमा नाफा घटाएको नेपाल लाइफले जीवन बीमा कोषको आकार भने २१.५८ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष कम्पनीको यो कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ थियो ।
समग्रमा १९ जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार कूल ४ खर्ब ६५ अर्ब रुपैयाँ बढीको छ । जुन अघिल्लो आवको तुलनामा औषत २१.३९ प्रतिशतले बढी हो । उक्त रकम अघिल्लो आवमा ३ खर्ब ८३ अर्ब रुपैयाँ थियो ।
प्रतिशतको आधारमा रिलायबल लाइफको जीवन बीमा कोषको आधार सर्वाधिक बढेको छ । एक वर्षमा कम्पनीको कोषको आकार ७८.१३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा हाल ४ अर्ब ६० करोड रुपैयाँ बढी सञ्चित छ ।
कुन कम्पनी कति बलियो ?
त्यस्तै, सबैभन्दा कम जीवन बीमा कोष हुनेमा महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको उक्त कोषमा २ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ । जुन अन्य कम्पनीको तुलनामा कम भएपनि अघिल्लो वर्षको तुलनामा भने २२.२६ प्रतिशतले बढी हो ।
के हो बीमा कोष ?
बीमा कम्पनीहरुले प्रत्येक बीमा व्यवसायको छुट्टाछुट्टै कोष राख्नु पर्ने व्यवस्था छ । र बीमा व्यवसायबाट प्राप्त रकम सम्बन्धित कोषमा जम्मा गर्नु पर्नेछ । तर एउटा बीमा व्यवसायको लागि राखिएको कोषबाट अर्को बीमा व्यवसाय सम्बन्धी दायित्व व्यहोर्न नपाइने समेत व्यवस्था छ । कम्पनीहरुको कोषमा जति बढी रकम हुन्छ, त्यति नै बलियो मानिन्छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.