वालेटमा पैसा राखेर सेयर किनबेच, वाणिज्य बैंकको डाटामा राष्ट्र बैंकको शंका

  २०७९ भदौ १ गते १३:२८     सन्तोष रोकाया

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन चौथो साता आइपुग्दा वाणिज्य बैंकमा कुल ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । यो एक महिनाको अवधिमा वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब रुपैयाँ बाहिरिएको छ ।

नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्नुलाई धेरैले चासोको विषयका रुपमा लिएका छन् । असार मासन्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकमा साउन पहिलो सातामा कुल ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप कायम भयो । त्यतिबेला एक सातामै ६३ अर्ब रुपैयाँ घटेको देखियाे ।

यस्तै, साउनको दोस्रो साता वाणिज्य बैंकहरुमा ४४ खर्ब ५० अर्ब रुपैयाँ मात्रै रह्यो । त्यो भनेको साउन पहिलो साताको तुलनामा २८ अर्ब कम हो । साउन तेस्रो सातामा दोस्रो साताको तुलनामा निक्षेप चार अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब कायम भयो । साउन तेस्रो साताको तुलनामा चौथो सातामा २५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै रहेको बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

निक्षेप घटिरहँदा बैंकहरुको कर्जा लगानी भने खासै घटेको देखिँदैन । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा यथावत छ । गत असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा पनि ४१ खर्ब ७५ अर्ब नै देखिन्छ । याे बिचकाे साताहरुमा भने कर्जा दुई/चार अर्ब रुपैयाँले घटबढ भएको देखिन्छ ।

दिनप्रतिदिन बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि बैंकर्सका लागि मात्रै होइन सर्वसाधारणबाट पनि चिन्ता र चासो प्रकट हुन थालेकाे छ । जानकारहरुका अनुसार निक्षेपमा आएकाे याे गिरावट हालसम्मकै उच्च हाे । हालसम्म एक महिनाकाे अवधिमा यति ठूलो गिरावट नआएको उनीहरु बताउँछन् । तथ्यांकले पनि त्याे कुरालाई स्पष्ट पार्छ ।

नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो भने साउन मसान्तमा २४ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको देखिन्छ । त्यतिबेला एक महिनाकाे अवधिमा १५ अर्ब रुपैयाँले निक्षेप घटेको देखिन्छ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन मसान्तमा भने ३४ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको थियो । त्यस वर्ष पनि निक्षेप ८ अर्ब रुपैयाँले घटेको तथ्या‌ंकले देखाउँछ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउनमा ४१ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप थियो । सो वर्ष ४३ अर्ब निक्षेप रुपैयाँले घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । यस वर्ष भएकाे १ खर्ब २० अर्ब रुपैयाँको गिरावट हालसम्मकै उच्च भएको पनि तथ्यांकले पनि देखाउँछ ।

कहाँ गयो पैसा ?

वाणिज्य बैंकहरुको निक्षेप निरन्तर ओरालो लागेपछि अहिले धेरैले यसप्रति चासो दिन थालेका छन् । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल भने निक्षेप घट्नुमा दुई/तीन वटा कारण हुन सक्ने धारणा राख्छन् ।

‘पहिलो त असारमा केही बैंकहरुले आर्टिफिसियल डिपोजिट संकलन गरेको भन्ने पनि सुनिएको थियो, साउनमा राष्ट्र बैंकले कडाइ गरेपछि त्यो घटेको हुन सक्छ, सरकारले तिर्नु पर्ने रकम पनि साउनमै तिरेको हुन सक्छ, यी विभिन्न कारणले निक्षेपमा गिरावट आएको हुन सक्छ,’ उनले भने ।

उनका अनुसार यसअघिका वर्षहरुमा पनि निक्षेप र कर्जा घटेको ट्रेण्ड छ । तर, यो साउनमा भने ह्वात्तै घटेको उनको भनाइ छ ।

‘बैंकका म्यानेजरहरुले आफ्नो पफर्मेन्स राम्रो देखाउनका लागि बिजनेस म्यान या अरुलाई आग्रह गरेर निक्षेप राख्न लगाउने वा अन्य विधिबाट बिजनेस बढाउने गर्ने गरेका छन् तर साउन लागेपछि त्यो निक्षेप घट्छ, अहिले पनि सोही प्रवृति देखिएको हुन सक्छ,’ सानिमा बैंकका पूर्व सीईओ समेत रहेका दाहालले भने ।

यस्तै, ग्लोबल आईएमई बैंकका पूर्व सीईओ तथा अनुभवी बैंकर पर्शुराम कुवँर ६० अर्ब बढी रकम सरकारको ढुकुटीमै थन्किएको र बाँकी आयातित वस्तुको पेमेन्टमै गएकोले निक्षेप ह्वात्तै घटेको हुन सक्ने तर्क राख्छन् ।

‘६० अर्ब रुपैयाँ बढी सरकारको ढुकुटीमै थन्किएको देखिन्छ, आइतबारसम्म सरकारले ८२ अर्ब राजश्व संकलन गरेको छ त्यसको २० अर्ब मात्रै खर्च गरेको तथ्यांकले देखाउँछ, यसअघि पेमेन्ट गर्न बाँकी रकम पेमेन्ट पनि भएको देखिन्छ, त्यसैले पनि निक्षेप घटेको हुन सक्छ,’ उनले भने ।

राष्ट्र बैंकलाई तथ्यांकमै शंका

नेपाल बैंकर्स संघले एक महिनाको अवधिमा १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप घटेको तथ्यांक सार्वजनिक गर्दा राष्ट्र बैंकलाई भने सो तथ्यांकप्रति नै शंका लागेको छ । बैंकर्स संघले जुनसुकै तथ्यांक सार्वजनिक गरे पनि त्यसमा आफ्नो कन्सर्न नहुने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल बताउँछन् ।

‘बैंकर्स संघको तथ्यांकसँग राष्ट्र बैंकको तथ्यांकले मेल खाँदैन, हामीलाई उनीहरुले सही तथ्यांक पठाउनु पर्छ, बाहिर के दिन्छ त्यसमा हाम्रो कन्सर्न हँदैन, उसले के तथ्यांक निकाल्यो, उहाँहरुको हामीले एडभोकेसी गर्दैनौं, हाम्रो तथ्यांकले बैंकिङ क्षेत्रमै ९९ अर्ब रुपैयाँ मात्रै निक्षेप घटेको देखिन्छ,’ उनले भने ।

उनका अनुसार साउन एक गतेदेखि साउन ३० गतेसम्म बैंकि क्षेत्रकाे निक्षेप ९९ अर्ब रुपैयाँ घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो एक महिनाको अवधिमा २ अर्ब ३७ करोड लघुवित्तको, १० अर्ब ६१ विकास र ८६ अर्ब २६ करोड वाणिज्य बैंकको गरी कुल ९९ अर्ब २४ करोड निक्षेप घटेको देखिन्छ । राष्ट्र बैंक र बैंकर्स संघको तथ्यांकमा ३३ अर्ब ७४ करोड रुपैयाँको भिन्नता देखिएको छ । यसले पनि राष्ट्र बैंकलाई बैंकर्स संघको तथ्यांकमा शंका लागेको हो ।

साउन एक गतेदेखि ३० गतेसम्म २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी घटेको छ । वाणिज्य बैंकको एक अर्ब २९ करोड कर्जा बढेको छ । २ अर्ब ६८ करोड रुपैयाँ विकास बैंकको र ६४ करोड रुपैयाँ वित्तीय कम्पनीको कर्जा घटेको देखिन्छ । सह–प्रवक्ता पोखरेलले अहिलेको निक्षेपमा आएको गिरावट अस्वभाविक नभएको धारणा राखे ।

‘साउन एक गते कुनै बैंकले अर्को बैंकसँग इन्टरबैंकिङ कारोबार गरेको थियो भने त्यो अहिले तिर्नु पर्यो, राष्ट्र बैंकबाट लिएको एसएलएफ सुविधा बुझाउनु पर्यो, पुँजी बजारमा अहिले वालेटमा राखेर कारोबार भइरहेको छ, वालेटको पैसा बैंकमा देखिँदैन, आजभोलि महँगी बढेको छ, मुद्रास्फिति बढेको कारणले बजारमा बढी पैसा गएको छ, त्यसको सर्कुलेसन बढी हुनाले तत्काल बैंकिङ च्यानलमा त्यो पैसा आउँदैन, त्यस कारणले निक्षेप घटेको देखिएको हो, पैसा कहीँ गएको छैन, धेरैले बैंकबाट वालेटमा विथड्र गर्दा पनि बैंकिङ प्रणालीमा निक्षेप घटेको देखिएको हो तर पुनः पनि त्यो पैसा च्यानलमै आउँछ,’ उनले विकासन्युजसँग भने ।

‘आर्टिफिसियल डिपोजिट’ भने राष्ट्र बैंकले नबुझ्ने तर्क दिए । एउटै निक्षेपलाई चारपाँच वटा बैंकले सेयर गर्ने विषय राष्ट्र बैंकलाई जानकारी नुहने धारणा उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.