काठमाडौं । नेपाल धितोपत्र बोर्डले कूल ३१ अर्ब ३७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले एक वर्षको अवधिमा सो मात्राको धितोपत्र निष्काशन गर्न विभिन्न कम्पनीलाई अनुमति दिएको हो ।
जसमध्ये १२ अर्ब ४८ करोड रुपैयाँ बराबरको डिबेन्चर, रु.७ अर्ब २० करोड बराबरको साधारण सेयर, ६ अर्ब ९० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर रहेका छन् ।
एक वर्षमा २ खर्ब ३७ अर्ब ६१ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त आवमा ८९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ५३ अर्ब २२ करोड रुपैयाँ बराबरको डिबेन्चर, २३ अर्ब २८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड सूचीकृत भएका छन् ।
२०७८ असार मसान्तमा २८८३.४ रहेको नेप्से परिसूचक २०७९ असार मसान्तमा २००९.५ कायम भएको छ । २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । जुन २०७८ असार मसान्तमा ४० अर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो ।
२०७९ असारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
नेप्सेमा २०७९ असारसम्ममा सूचीकृत ६ अर्ब ७७ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ छ ।