शिलान्यास भएपनि छेला औद्योगिक क्षेत्रको गति सुस्त, एक अर्ब विनियोजन

  २०७९ साउन ३० गते १६:५४     विकासन्युज

काठमाडाैं । डेढ वर्षअघि कञ्चनपुरको छेला औद्यागिक क्षेत्रको शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको बेदकोट नगरपालिमा पर्ने औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि त्यसपछि आयोजनाको गति भने सुस्त छ । झण्डै तीन सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा १७ महिना बितिसक्दा पनि त्यहाँ पर्ने रुखको लगत लिने काम सकिएको छैन ।

डिभिजन वन कार्यालयले १७ हजारभन्दा बढी रुखको छपान कार्य सकिए पनि वर्षात्का कारण अहिले रोकिएको जनाएको छ । रुख छपान र नम्बरिङको काम सकिने समय लाग्ने देखिएको छ । रुख छपानको काम सकिएपछि वन मन्त्रालयमा उक्त फाइल पेश भएपछि मन्त्रिपरिषद्ले रुख कटानको निर्णय गर्ने वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले बताए ।

बेदकोटका वडा नं २ र ३ मा नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य लिइए पनि सुरुवातमा तीन सय बिघामा स्थापनाको काम थालिएको हो । औद्योगिक क्षेत्रमा २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ ठूला उद्योग स्थापनाका लागि आवेदन परेका छन् । सरकारले चालु आवमा औद्योगिक क्षेत्र निर्माण प्रक्रियाका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ ।

केही महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको निरीक्षण गरेर फर्किएपछि बजेट विनियोजन गरिएको हो । उनले सो औद्योगिक क्षेत्र र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणका लागि सरकार लागि परेको भन्दै चालू आवमै निर्माणको थालनी गरिएको जनाउनुभएको थियो । रु आठ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युत्जन्य उद्योग, फलाम तथा स्टील, निर्माणसम्बन्धी उद्योग स्थापनाको योजना रहेको छ ।

छब्बीस वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा छेला औद्योगिक क्षेत्र स्थापना गर्ने भए पनि दशकौँ बितिसक्दा पनि निर्माणको सुरुवात भएको छैन । बेदकोटका नगरप्रमुख भोजराज बोहराले चाँडै औद्योगिक क्षेत्र निर्माणको थालनी हुनेमा आफू आशावादी रहेको बताए ।  “प्रधानमन्त्रीदेखि उद्योग मन्त्रीसम्म यस क्षेत्रकै भएकाले औद्योगिक क्षेत्रको कामअघि बढ्नेमा आशावादी छौँ”, उनले भने, “निर्माण प्रक्रियाका लागि सरकारले रु एक अर्ब बजेटसमेत बिनियोजन गरिसकेको छ ।” उनले रुख छपानपछि कटानको प्रक्रिया तत्काल अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.