भोजपुरे खुकुरीको साख जोगाउँदै गणेश गजमेर, जोडे करोडौंको घरजग्गा

  २०७९ साउन ३० गते १६:१२     राजिव न्यौपाने

काठमाडौं । भोजपुर जिल्ला खुकुरीको लागि प्रख्यात मानिन्छ । ४५ वर्षदेखि त्यही खुकुरी बनाउँदै आइ रहेका छन् भोजपुरका गणेश गजमेर । लामो समयदेखि खुकुरी बनाउँदै आइरहेका गजमेर अहिले ५७ वर्षका भए । उनले १२ वर्षको उमेरदेखि खुकुरी बनाउन सुरु गरेका हुन् । उमेरले ढल्कँदै गए पनि गजमेरले पुर्ख्यौली पेसालाई छाडेका छैनन् ।

झन् जोस र नयाँ डिजाइनको खुकुरी बनाउन उनी लागि परेका छन् । लामो समयदेखिको त्यो अनुभव र मेहेनतलाई मिसाउँदै नयाँ तथा आकर्षक खुकुरी बनाउँदै आइरहेका छन् उनी ।

अहिले आरनमा बसेर खुकुरी बनाउँदै बित्छ उनको दैनिकी । त्यसो त भोजपुरे खुकुरी अहिले देश विदेशमा परिचित छ । उनका बाबुआमा पनि खुकुरी बनाउने पेशामा नै रमाउँदै आएका थिए । १२ वर्षको कलिलो उमेरमै उनी बुवासँग आरनमा बसेर खुकुरी पिट्ने गर्थे । बाबु छोराको दिन खुकुरी बनाउँदै बित्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएका कारण टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बाट उनी गाउँभन्दा बजारमा राम्रो कमाइ हुने ठानेर सदरमुकाम गए ।

आफ्नो बुबाको आरन भएका कारण उनलाई फलामको बारेमा धेरै ज्ञान थियो । कामको खोजिमा उनी सदरमुकाममा भौतारिए । कामको खोजीमा उनले सदरमुकाममा रहेको खुकुरी बनाउने आरनमा काम पाएको उनी बताउँछन् ।

कमजोर आर्थिक अवस्थाका आरन सदरमुकाम खोलेर बस्न सक्ने स्थिति थिएन । अरुकै आरनमा काम गरेर भए पनि उनको गुजारा चलिरहेको थियो । फलामको काम त्यति सजिलो त छैन । तर, काम गर्न दुःख भए पनि गजमेर मेहेनतका साथ काम गरे ।

घरको आरनमा फलाम पिट्ने पेशाले परिवार धान्न गाह्रो थियो । पछि उनी पैसा कमाउने सपनाले विदेश गए । तर, विदेशमा पनि राम्रो आम्दानी गर्न सकेनन् । अन्ततः उनी घर फर्किए । घर फर्केर पुर्ख्यौली आरनमा फलाम पिट्ने पेशा उनले अँगाले ।

आरनको काम गर्दै, मेलापात गर्दै उनले आफ्नो जीविको पार्जन गर्थे । उनका तीभाइ छोरा छन् । समयक्रमसँगै छोरा छोरी बढ्दै थिए । उनीहरूको शिक्षा दीक्षाको लागि आर्थिक जुटाउनु पर्ने बाध्यता छदै थियो । ३ भाइ छोरालाई पनि सोही आरनमा खुकुरी बनाउन सिकाउँदै गए ।

गजमेरले छोराहरूलाई उच्च शिक्षासम्म पढाए । घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराहरू पनि विदेश जानु पर्ने बाध्यता आइलाग्यो । ‘मैले सक्ने र गर्ने जति छोरा छोरीको लागि गरे, पढाएँ, छोराहरू पनि विदेश गए, मैले पनि आफ्नो पेशा लाई निरन्तरता दिएर बस्ने, एउटा आफ्नै खुकुरी उद्योग खोल्ने सपना थियो, छोराहरु विदेशबाट आएपछि त्यो सपना सम्भव भयो,’ उनले भने ।

अब गजमेर एउटा आफ्नै खुकुरी उद्योग खोलेर बस्ने भए । तर, कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा गजमेर अलमलमा नै थिए । बुझ्दै जाँदा साना तथा मझौला उद्योग अन्तर्गत उद्योग दर्ता गरेर व्यापार व्यवसाय सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने थाहा पाए ।

त्यस पश्चात् घरेलु तथा साना उद्योगमा ‘रञ्जिता खुकुरी उद्योग’ दर्ता गरी आफ्नै लगानीमा व्यापार सुरु गरे । उनको २ लाख रुपैयाँको लगानीबाट व्यावसायिक यात्रा सुरु भयो । २०७२ सालमा छोराहरूको साथमा उद्योग दर्ता गराएको गजमेर बताउँछन् । पसल सञ्चालन गरेको केही महिना देखिनै व्यापार पनि राम्रो हुन थाल्यो । त्यहाँ बनाएको सामान बजारमा पनि माग बढ्न थाल्यो ।

उनी भोजपुरे खुकुरीको इतिहास सम्झँदै भन्छन्, ‘पहिला राजा महेन्द्र भोजपुर घुम्न आउँदा यहाँका खुकुरी बनाउँनेहरुले मायाको चिनो स्वरुप खुकुरी दिए, त्यस पश्चात् उहाँले दरबारमा गएर यहाँको खुकुरीको चर्चा गर्नु भएछ, त्यसपछि भोजपुरे खुकुरी नाम दिएर यहाँको खुकुरी लोकप्रिय बन्न पुगेको हो ।

अहिले उनको उद्योगबाट २ जनाले रोजगारी पनि पाएका छन् । गजमेरका अनुसार उनका छोराले उनलाई खुकुरी बेच्नदेखि बनाउनसम्म सहयोग गर्दै आएका छन् । भोजपुरे खुकुरी भन्ना साथ नेपालमा मात्र नभएर विदेशमा समेत नाम चलेको छ ।

भोजपुरे खुकुरीको माग बढी रहेको र उत्पादन भने कम भएकाले उक्त मागलाई ध्यानमा राखेर खुकुरी उद्योग खोल्ने सोच आएको पनि गजमेरले बताए । ‘भोजपुर खुकुरीका लागि प्रख्यात भएपनि पछिल्लो समय जिल्लामा खुकुरी उत्पादन कम भइरहेको थियो, त्यसैले हामीले उद्योग सञ्चालन गरेका हौं,’ उनले भने ।

आफ्नै आरन र पसल भएपछि खुकुरीले राम्रो बजार पायो । गजमेरको उद्योगबाट रोजगारमात्र नभई निःशुल्क खुकुरी बनाउने तालिम पनि दिँदै आएको छ । ‘हामीले यो पेसामा लाग्ने इच्छुक व्यक्तिहरूलाई निःशुल्क तालिम पनि दिन्छौं, राम्रो काम गर्याे भने हाम्रो उद्योगमा रोजगारी पनि दिने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

गजमेरले खुकुरी बनाउने आफ्नो पुर्खौली पेशा भएका कारण यस पेसालाई नछाड्न छोराहरूलाई पनि आग्रह गरेको गजमेर बताउँछन् ।

मासिक डेढ लाखको आम्दानी

खुकुरी पसल सञ्चालन गरेर मासिक डेढ लाख रुपैयाँको आम्दानी गरेको पनि गजमेरले बताए । ‘खुकुरीको व्यापार सिजन अनुसारको हुन्छ, अहिले यो व्यापार खासै छैन, दशैं, तिहार तथा मंसिर/पुसमा यसको सिजन हुन्छ, त्यो अवसर पारेर मानिसहरू विभिन्न ठाउँबाट भोजपुर आइपुग्छन्, उनीहरूले कोसेली वा चिनेको रूपमा खुकुरी लिने गरेका छन्,’ उनले भने ।

उनले खुकुरी उद्योग सञ्चालन गरेर नै सदरमुकाममै एउटा घर पनि बनाएका छन् । उनी सोही घरमा बस्दै आएका छन् । खुकुरी बनाउँदै बेच्दै गरेर धरान लगायत अन्य ठाउँमा जग्गा पनि जोड्न सफल भएको पनि गजमेर बताउँछन् ।

सो उद्योगमा उत्पादन भएका खुकुरी अहिले देशका विभिन्न ठाउँमा पुग्छ । देश–विदेशमा राम्रो छवि बनाएको लोकप्रिय भोजपुरे खुकुरीको साख गिर्नबाट बचाउन र राम्रो आम्दानीको स्रोत बनाउन सकिने उनको बुझाइ छ ।

‘काम सानो ठुलो हुँदैन, जुन पेशालाई अगाडि बढाए पनि राम्रोसँग गर्याे भने विदेशमा कमाइनेभन्दा दोब्बर कमाई गर्न सकिन्छ, विदेश जानु ठुलो कुरा हैन, आफ्नै देशमा बसेर राम्रो काम सफल उद्यमी बन्नु जीवनको एउटा ठुलो सफलता हो जस्तो लाग्छ,’ उनले भने ।

कति पर्छ मूल्य ?

रञ्जिता खुकुरी उद्योगमा भोजपुरे, बोखिमे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले नामक खुकुरीहरूको उत्पादन हुन्छ । यी खुकुरीको आ–आफ्नै महत्व रहेको गणेश गजमेरका कान्छा छोरा दिनेश गजमेर बताउँछन् ।

यहाँ उत्पादन भएको खुकुरीको घरको कामदेखि घरको शोहो गर्न राख्न समेत प्रयोग गरेको पाइन्छ । छोरा दिनेशका अनुसार अहिले फरक खुकुरी बनाउँदा आवश्यक पर्ने कच्चा पर्दा भुजपुरकै फलाम पसलबाट वा धरान विराटनगरबाट खरिद गर्ने गरेका छन् ।

‘हामीले फलाम पत्थर कोइला लगायतका कच्चा पदार्थहरू धरान विराटनगरबाट खरिद गर्ने गरेका छौं भने विड, दाप बनाउन प्रयोग हुने काठ लगायतका अन्य सामाग्रीहरू भने स्थानीय नै प्रयोग गर्छौ,’ उनले भने । उद्योगमा उत्पादन भएका खुकुरीहरू नेपालका साथै विदेश समेत निर्यात गर्ने लक्ष्य रहेको गजमेरले बताए ।

भोजपुरमा हुने हरेक कर्मचारीको स्वागत र बिदाइमा समेत भोजपुरे खुकुरी उपहार स्वरुप प्रदान गर्ने चलन छ । खुकुरीको साइज अनुसारको मूल्य हुने पनि गजमेरले बताए । उनका अनुसार खुकुरीको ५ सय भन्दा बढी प्रजाति हुन्छन् । भोजपुर मात्र नभई देशका विभिन्न ठाउँमा पनि खुकुरीको उत्पादन हुँदै आइरहेको छ ।

खुकुरीको मूल्यको निर्धारण त्यसको आकार र बनावट हेरेर हुन्छ । दाप र विडले गर्दा पनि खुकुरीका मूल्य फरक फरक पर्न जाने गजमेरले बताए । ‘हाम्रो साना तथा मझौला उद्योग भएका कारणले ४ देखि २५ इन्चसम्मको खुकुरी बनाउन पाइन्छ, त्यसैले ८ सय देखि १४ हजार रुपैयाँसम्मको खुकुरी यहाँ उपलब्ध छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.