५० प्रतिशत सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरेका श्रेष्ठको बैंकमा पनि लगानी, कति छ सम्पत्ति ?

  २०७९ साउन २९ गते १५:१६     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत् शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन् । आइतबार भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उनले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको बताएका हुन् ।

‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु, चार नाफारहित अस्पताल बनाउँदैछु,’ उनले भने ।

उनले आफ्नो ५० प्रतिशत सम्पत्ति सरकारलाई दिने घोषणा गरेसँगै उनीसँग कति सम्पत्ति छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । व्यवसायिक पृष्ठभूमीका राज्यमन्त्री श्रेष्ठ गत वर्षको साउनमा राज्यमन्त्री बनेका थिए ।

उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेको समयमा उनले आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गरेका थिए ।

उनले राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा पनि गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको साउन १० गते उनलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसको केही समयपछि उनी तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री बने ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन् । उनको अन्य धेरै क्षेत्रमा पनि लगानी छ । नेपालमा शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै ४० अर्बभन्दा बढी लगानी रहेको छ ।

श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा पनि उनको लगानी छ ।

यस्तै, उनको तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालि, जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा पनि उनले लगानी गरेका छन् । पोखरामा पनि उनकै लगानीमा एउटा होटल छ ।

महेन्द्र नारायाण निधी अस्पतालमा पनि उनको लगानी छ । एकान्तकुनामा हेलोइस अस्पताल पनि उनकै लगानीमा बनेको हो । शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।

उनले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना उनको योजना छ । श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए ।

उनी प्राइम बैंकको सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । साढे १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम बैंकमा श्रेष्ठको ३.१० प्रतिशत सेयर छ ।

One comment on "५० प्रतिशत सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरेका श्रेष्ठको बैंकमा पनि लगानी, कति छ सम्पत्ति ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.