२०७९ साउन २७ गते १५:०६ विकासन्युज
काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह(सचिव डा। भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
शुक्रबार बिहान गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको छ । डा। भुसालको संयोजकत्वमा मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित ७ जनाको टोलीसँग अहिले वार्ता भइरहेको छ ।
कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
पश्चिम नवलपरासीका ७७ जना मिटरब्याजी पीडित केही दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.