२०७९ साउन २५ गते १३:२२ विकासन्युज
काठमाडाैं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
बैंकले रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयास गरेको थियो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ ।
आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस। फइले सानिमा बैंकमा गरिएको लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताए । उनले नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास रहेको बताए ।
सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.