डण्डीको मूल्य घट्यो, सिमेन्टको ५० रूपैयाँसम्म बढ्यो

  २०७९ साउन २५ गते १३:३९     विकासन्युज

काठमाडौं । सामान्यतया वर्षाको समयमा सधैँ नै निर्माण सामाग्रीको माग तथा खपतमा कमी हुने गर्दछ । माग र खपतमा कमी हुने भएपछि निर्माण सामाग्रीकाे मूल्य पनि घट्छ ।  उत्पादकहरु (सिमेन्ट र छड) ले सधैँजसो नै निर्माण सामग्रीको मूल्य वर्षा मौसममा कटौती गर्ने गर्दथे । तर, यसपटकको वर्षा मौसममा भने सिमेन्टको मूल्य उद्योगीहरुले बढाएका छन् ।

बजारमा १ हप्तादेखि होङ्सी र ह्वासिन सिमेन्टको मूल्यमा ५० रुपैयाँ बढेर आएको निर्माण व्यवसायी महासंघका उपाध्यक्ष दीपक श्रेष्ठले बताए । अरु सिमेन्टको मूल्यमा पनि बढ्ने कुरा सुन्नमा आएको उनको भनाइ छ । तर, स्टिलको मूल्य भने निरन्तर रुपमा घट्दो क्रममा रहेको उनको भनाइ छ ।

‘बजारमा जगदम्बा, सर्वोत्तम, हामा लगायतका छडको मूल्य १ सय १० रुपैयाँ सम्म आएको छ तर, हिमाल स्टिलको मूल्य भने १२८ रुपैयाँ सम्म छ, स्टिलको मूल्य निरन्तर रुपमा घट्दो क्रममा छ,’ श्रेष्ठले भने । सिमेन्टको मूल्य बढाउनुपर्ने अवस्था नभएको तर, कोइलाको मूल्य बढेको कारण देखाएर उद्योगीहरुले सिमेन्टको मूल्य बढाउन खोजेको उनले बताए । अहिले सिमेन्टकाे मूल्य बढाउन सान्दर्भिक नभएको उनको भनाइ छ ।

ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले अहिले बजारमा स्टिलको मूल्य घटेको बताए । ‘मैले जगदम्बाको स्टिल ल्याउ गर्छु, पहिला यसको मूल्य १ सय ४० सम्म पुगेको थियो, तर, अहिले मैले १ सय १५ रुपैयाँमा किनेर ल्याएँ,’ अध्यक्ष कटवालले भने । कटवालका अनुसार अहिले निर्माणका वस्तुहरुको अर्डर असाध्यै कमी रहेको र बिक्री पनि कम भैरहेको अवस्था छ ।

सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले भने अहिले उद्योगीहरु सिमेन्टको मूल्य बढाउने वा घटाउनेतर्फ नभएको बताउँछन् । ‘अहिले बजारमा सिमेन्टको माग कमी छ, उद्योगहरु पनि ३० देखि ४० प्रतिशत मात्रै क्षमतामा सञ्चालन भएको अवस्था छ तर, मूल्य घटाउने विषयमा हामीले सोचेका छैनौं,’ उपाध्यक्ष पोखरेलले विकासन्युजलाई बताए । ‘मूल्य घटाएपनि बिक्री बढ्दैन, मूल्य घटाउने पनि थप घाटा खाएर नै घटाउने हो,’ पोखरेलले भने ।

सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा बाहेकका आइटमहरु भारतबाट ल्याउन पर्ने अवस्था रहेको र भारतबाट आयात हुने सबै वस्तुहरुको मूल्य बढेको पोखरेलको भनाइ छ । पहिलको अवस्थामा भारतका व्यापारीहरुले उधारोमा सामग्री दिनेगरेकोमा पछिल्लो समय त्यो अवस्था नरहेको र बैंकको ब्याज पनि बढेकोले उत्पादन लागत बढ्न पुगेको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.