व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’

  २०७९ असार २७ गते १५:५३     राजिव न्यौपाने

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’

नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा ।

इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा ।

प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान ।

कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ ।

भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य ।

इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् ।

पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे ।

भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए ।

सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् ।

वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए ।

फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने ।

यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ ।

टावरको २ साइडमा लिफ्ट  हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ ।

उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् ।

‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने ।

टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए ।

भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ ।

२ अर्ब लगानी

निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ ।

त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने ।

रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.