‘४/१२ को नीति खारेज गर्नुपर्छ, तरलताको समस्या समाधान नभए अर्थतन्त्र मन्दीमा जान्छ’

  २०७९ असार १९ गते १५:४९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ राष्ट्र बैंकले ध्यान दिनु पर्ने बताए ।

उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए । आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको उनले बताए ।

अध्यक्ष गोल्छाले ५० लाख सेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको र उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताए । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए ।

यस्तै, अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गरे ।

उनले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी सेयर बजारमा डुबेको पनि बताए । अध्यक्ष गोल्छा सेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको उनले बताए । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयर बजारले समेत गतिलिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।

अध्यक्ष गोल्छाले अहिले बैंकको ट्रेजरी बिलकोसमेत ब्याज बढेर १० प्रतिशत माथि पुर इन्टर बैंकिङ ब्याजदर समेत बढेर ५ प्रतिशत नागेको बताए । अध्यक्ष गोल्छाले बैंकको सिडी रेसियोको चाप बढ्न थालेको ८ महिना बढी हुँदा बजारमा तरलता समस्या सुधारको संकेत समेत नभएको दाबी गरे । अध्यक्ष गोल्छाले बजारमा तरलताको समस्या आगामी आर्थिक वर्षसम्म पनि कायम रहनसक्ने बताएका छन् ।

अध्यक्ष गोल्छाले नेपाल सरकारले भन्सार प्रयोजनको लागि प्रयोग गरेको आइपीएस प्रणाली भुक्तानी २० लाखको थ्रेसहोल्डमा वृद्धि गरे व्यवसायीलाई राहत पुग्ने पनि बताए । उनले पहिला व्यवस्था रहेको उत्पादनमुलक उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ र मेसिन आयात गर्दा युसेन्स एलसीको सुविधा निरन्तरता हुनुपर्ने धारणा राखे ।

उनले निजी क्षेत्रले विदेशबाट ऋण ल्याउन प्रोत्साहन गर्ने नीति ल्याउन माग गरे । यस्तै, उनले बढ्दो ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने बताए । गोल्छाले वाह्य कारणले समस्या भएकाले मौद्रिक नीतिको ठूलो चुनौती रहेको भन्दै विगतमा प्रभावित क्षेत्रलाई दिएको पुनर्कर्जालाई निरन्तरता दिनुपर्ने बताए ।

यस्तै, उनले सेयर धितोकर्जामा गत वर्ष लागू गरिएको ४/१२ को नीति ले निराशा छाएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताए । उनले डिम्याट खाता खोलेर बसेका लाखौं सार्वसाधारणको ठूलो लगानी सेयर बजारमा डुबेकाले मौद्रिक नीतिमा त्यस्ता समस्या समेट्न माग गरे ।

‘सेयर धितो कर्जामा गत वर्ष देखि ४/१२ को नीति धेरै चर्चा भएको छ, ४/१२ को नीतिले सेयर बजारमा निराशा छाएको छ, यसलाई फेरी पुनःविचार गर्नुपर्छ, अहिले निजी क्षेत्र निराश छ, उद्योगी व्यवसायीहरु पनि उद्योगमा लगानी गर्न निरुत्साहित भएका छन्, यसमा नीति परिमार्जन गर्नुपर्छ, बैंकिङ कर्जाको कागजी प्रक्रियामा एक रुपता हुनुपर्छ, नेपालमा पनि विदेशीले घर किन्नसक्ने व्यवस्थाको तत्काल नियमावली बन्नुपर्छ,’ उनले भने ।

अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीहरुलाई बैंकिङ कर्जाको कागजी प्रक्रियामा एकरुपता हुनुपर्ने माग पनि गरेका छन् । उनले बजेटमार्फत् नेपालमा पनि विदेशीले घर किन्नसक्ने व्यवस्था गरेको भन्दै तत्काल नियमावली बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.