जग्गा प्लटिङ र खरिद बिक्री रोकेर हेटौडालाई व्यवस्थित सहर बनाउँछु : मेयर लामासँगको कुराकानी

  २०७९ असार ३ गते १५:२४     विकासन्युज

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको प्रमुख पदमा मिना कुमारी लामा विजयी भइन् । एक कार्यकाल उपमेयर भएर काम गरी मेयर पदमा निर्वाचित लामा शिक्षा, स्वास्थ्य, सडक निर्माणसँगै व्यवसायिक क्षेत्रका रुपमा स्थापित हेटौडालाई व्यवस्थित सहर बनाउने योजना बनाउँदैछिन् । एक कार्यकाल उपमेयर भएर काम गरेको अनुभव भएकोले पनि उनीसँग हेटौडामा कसरी काम गर्ने, कुन योजनालाई बढी प्राथमिकता दिने, नागरिकहरुका समस्या के कस्ता छन् लगायत विषयहरु उनलाई राम्रोसँग थाहा छ । उनै नवनिर्वाचित मेयर लामासँग उपमहानगरको विकास, आगामी आर्थिक वर्षको बजेटमा उपमहानगरका प्राथमिकता र योजनाका विषयमा विकासन्युजका राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

एक कार्यकाल उपप्रमुखमा काम गरी मेयर पदमा निर्वाचित हुन भएको छ, हेटौडाका मुख्य समस्याको रूपमा के देख्नु भएको छ र समाधानको लागि तपाईं को भूमिका के कस्तो हुन्छ ? 

उपमहानगरपालिकामा धेरै समस्या छन् । ती समस्याको पहिचान गरी समाधान गर्नको लागि हामी लाग्नेछौं । नागरिकलाई हेटौडा उपमहानगरपालिकाको नागरिक हो भन्ने अनुभूति दिलाउनको लागि पूर्वाधार साथै स्वास्थ्य, शिक्षा र उत्पादनसँग जोडेर अगाडि बढ्नु मेरो मूल जिम्मेवारी हो । सडक विस्तार पनि हाम्रो महत्वपूर्ण योजनाका रुपमा छ । शिक्षा र स्वास्थ्यलाई समानुपातिक तरिकाबाट अगाडि बढ्न नसक्दा केही समस्याहरू देखिएका छन् । शिक्षामा गुणस्तर र स्वास्थ्यमा प्रभावकारी बनाएर अगाडि बढ्ने योजनामा छु ।

भौतिक पूर्वाधारको क्षेत्रमा यहाँको प्राथमिकताको योजनाहरू के–के छन् ? कसरी अगाडि बढाउने सोच्नुभएको छ ?

हेटौडा मकवानपुरको राजधानी पनि हो । पूर्वाधारको विकास गर्न ठुला योजनाहरू बनाई काम अगाडि बढाउने नै छौं । निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूलाई पनि पूरा गर्नुछ । सबैभन्दा पहिलो कुरा यस उपमहानगर भित्र सडक सञ्जाल विस्तार गर्ने र त्यसलाई स्तरीय बनाउनु हो । प्रत्येक घरमा सडक सञ्जालमा जोड्ने, निर्माणाधीन सडकको काम सम्पन्न गर्ने,सडक सञ्जालले उपमहानगरभित्रका अन्य विकास निर्माणका काम गर्न पनि सहज हुन्छ । त्यसैले पूर्वाधार विकासमा उपमहागरले विशेष जोड दिनेछ ।

हेटौडा आफैमा एक व्यावसायिक तथा औद्योगिक क्षेत्र हो, यसको विस्तार, विकास र थप व्यावसायिक क्षेत्र बनाउन के कस्ता काम गर्दै हुनुहुन्छ ?

औद्योगिक क्षेत्र हाम्रो अधिकार भित्र पर्दैन । तर, हाम्रो उपमहानगरपालिकामा औद्योगिक क्षेत्र भएको हुनाले समन्वय र व्यवस्थित गर्नको लागि हाम्रो पहल हुनेछ । औद्योगिक क्षेत्रको विकास गर्न कसरी पुराना उद्योगलाई सञ्चालनमा ल्याउने र नयाँ उद्योगहरू कसरी स्थापित गर्न सक्छौं भनेर प्रदेश संघ सरकारसँग छलफल गर्ने नै छौं । उद्योगलाई पुनः सञ्चालन गर्ने, विस्थापित हुने अवस्थामा रहेका उद्योगीहरूको भावना बुझ्ने र सुविधा दिएर भए पनि उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनाएको छु । यसबाट अर्थतन्त्र चलायमान मात्र होइन, प्रशस्त रोजगारी पनि सिर्जना गर्न सकिन्छ भन्ने आशा लिएको छु । औद्योगिक क्षेत्रको विकासको लागि निजी क्षेत्रको भूमिका पनि महत्वपुण रहेको छ ।

हेटौंडामा व्यवासायिक तथा उद्योग सञ्चालन गरी बस्नेहरुलाई कर छुट तथा उपमहानगरको तर्फबाट सहजीकरण गर्ने बारेमा केही सोच्नु भएको छ ?

म उपप्रमुख भएर आउँदा नै उपमहानगरपालिकामा भित्र धेरै उद्योगहरू दर्ता गराई सञ्चालनमा आएका थिए । सञ्चालन भएको उद्योगले उपमहानगरमा कर पनि तिरिरहेका छन् भने करको छुट पनि उपमहानगर गर्दै आएको छ । हामीले औद्योगिक क्षेत्रको विस्तार गर्नको लागि औद्योगिकीकरण नभईकन त्यसको अर्थ कृत्रिम नहुने भएका कारणले गर्दा स्थानीय तहको तर्फबाट हामीले पटक–पटक अन्तरक्रिया गरेका छौं । मैले भन्ने गरेको छु, औद्योगिक तथा व्यापार व्यवसाय गर्ने चाहनेहरूको लागि कर पनि छुट गरिदिने छौं । औद्योगीकरणलाई बढाउने, रोजगारी सिर्जना गर्ने र थप नगरपालिले सहयोग गर्नु परेमा त्यो पनि गर्न तयार भनेर धेरै पटक जानकारी गराएका छौं ।

व्यवसायीलाई पर्ने समस्याको समाधान गर्नतर्फ हामी लागेका छौं । औद्योगिक क्षेत्रहरूको विकासका लागि स्थानीय सरकारले के कस्तो सहयोग गर्नु पर्याे, के केमा छुट् गर्नु पर्याे यी सबै हामी गर्न तयार छौं । व्यावसायिक वातावरण सिर्जना गर्नको लागि उपमहानगरपालिका तत्पर छ । औद्योगिक क्षेत्रको व्यवस्थित गरी विशेष योजनाका साथ हामी अगाडि बढ्ने छौं । गत वर्ष उपमहानगरले पुराना उद्योगहरूलाई वर्ष तोकेर नै करमा छुट दिएका थियौं ।

हेटौंडा सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन के– कस्ता काम गर्ने सोच बनाउनुभएको छ ?

उपमहानगरपालिकाको विभिन्न ठाउँमा वातावरण दिवसको अवसर पारेर ५० बिरुवा रोप्ने भनेर घोषणा गरिसकेका छौं । सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वाकांक्षी योजना बनाउने छौं । सुन्दर र सफा उपमहानगर बनाउन नगरमात्र नभई उपमहानगरवासी पनि लाग्नु पर्छ ।

हेटौडा अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन केही सोच्नु भएको छ ?

यो समस्या हटौडामा व्याप्त छ । अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री सम्बन्धी नीति तथा कार्य योजना पनि बनाउँदैछौं । अव्यवस्थित हेटौडालाई व्यवस्थित बनाउनका लागि मेरो पहल कदमी हुन्छ । अव्यवस्थित जग्गा प्लटिङ पनि रोक्नु पर्छ । हेटौंडालाई व्यवस्थित सहरको रूपमा विकास गर्नु हामी सबैको जिम्मेवारी हो ।

स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि यहाँको योजना के छ ?

विशेष गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । प्रत्येक वडाका अस्पतालमा एमबीबीएस डाक्टर राख्न छौं । स्वास्थ्य क्षेत्रको पनि संरचना बनाउने नै छौं । स्वास्थ्य बीमा, निःशुल्क औषधी लगायतका कुरामा ध्यान दिएर व्यवस्थित स्वास्थ्य सेवा प्रधान गर्नको लागि हामी लागि रहेका छौं । समग्र रूपमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतीलाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ ।

यस्तै, शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउने छौं । सामुदायिक विद्यालयमा पनि निजी विद्यालय भन्दा राम्रो शैक्षिक गुणस्तर सुधार गर्ने मेरो योजना छ । शैक्षिक सुधारका लागि लागि प्रत्येक विद्यालयमा शैक्षिक सुधार समितिको बनाउने छौं ।

अब केही समयपछि तपाईंले तपाईंको कार्यकालको पहिलो नीति तथा कार्यक्रम र बजेट ल्याउँदै हुनुहुन्छ । त्यसमा तपाईको प्राथमिकताको क्षेत्रहरु के–के पर्छन् ?

उपमहानगरपालिकामा सम्पुण आवश्यकता र क्षेत्रहरूलाई समेटेर हामी नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं । नीति तथा कार्यक्रममा क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता, रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण दिगो विकास, पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा पनि पर्न सक्छन् । बजेटको बारेमा बजेट नै आएपछि धेरै कुरा थाहा पाउनु हुने छ । बजेटमा विद्युतीय सवारीको बारेमा पनि समेटिने छन् ।

उपमहानगरपालिकाले प्रवाह गर्ने सार्वजनिक सेवालाई अझ प्रभावकारी नागरिकमैत्री बनाउने कुनै योजना पनि बनाउनु भएको छ ?

उपमहानगरपालिकाको सेवालाई डिजिटल बनाउने योजनामा छौं । त्यो अनुसार नै हेल्प डेक्स पनि राख्दै छौं । जनतालाई दिने सेवामा प्रभावकारी र सहज बनाउने कोसिस गर्ने छु ।

तपाई निवर्तमान उपमेयरसमेत हुनुहुन्थ्यो, अघिल्लो निर्वाचनमा तपाईको घोषणापत्रमा उल्लेख गरेका कुराहरू पुरा हुन सकेको थिएन, अब पहिलाको कुराहरू कतिको प्राथमिकता पाउँछन् ?

उपमेयर पदमा निर्वाचित हुदा घोषणापत्रमा उल्लेख गरेका कुराहरू केही पुरा गर्न बाँकी छन् । घोषणापत्रमा उल्लेख भएका तर पुरा नभएका कुराहरू पनि आवश्यकता अनुसार निरन्तरता दिनेछु ।

तपाईंको ५ वर्षको कार्यकालपछि हेटौंडा कस्तो बन्छ ?

हेटौंडालाई संवृद्ध बनाउने सम्पुणा खाका ५ वर्षमा तयार हुन्छ । विज्ञहरूसँग छलफल गरी सो खाका तयार गर्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.