माटो जोगाउने सन्देश दिनको लागि ३५ सय किलोमिटर दौडदै पुन

  २०७९ जेठ ३१ गते १२:१७     विकासन्युज

काठमाडौ । माटो विनाश भइरहेको स्थितिबारे जानकारी फैलाउन र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्याउने उद्देश्यसहित माटो जोगाऔँ अभियानका स्वयंसेवक यमबहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौंबाट देशव्यापी दौड शुरु गरेका छन् ।

पुनले सातवटै प्रदेश छुने गरी ३५ सय किलोमिटर दुरीको देशव्यापी दौड गर्ने निर्णय गरेका हुन् । काठमाडौँको टुँडिखेलबाट शुरु भएको दौडलाई नेपाल फुटबल टिमका पूर्व कप्तान हरि खड्काले राष्ट्रिय झण्डा तथा माटो जोगाऔँ चित्रित झण्डा फहराएर उद्घाटन गरेका थिए ।

पुनले ६० देखि ७० दिनभित्र दौड पूरा गर्ने लक्ष्य लिएका छन् । काठमाडौँबाट शुरु भएको दौड तराई हुँदै पुर्बी सीमा पुग्नेछ । त्यसपछि उत्तरतर्फ अघि बढी पश्चिम सिमाना हुँदै दक्षिणतर्फ गई फेरि काठमाडौं आएर टुङ्गिनेछ । दौडको क्रममा देशका विभिन्न ठूला, साना तथा महत्त्वपूर्ण स्थान जस्तै चितवन, हेटौँडा, वीरगञ्ज, जनकपुर, विराटनगर, दमक, फिदिम, दिक्तेल बजार, पोखरा, कुश्मा–पर्वत, हटिया–बाग्लुङ्ग, सुर्खेत, पञ्चदेवल–अछाम, कञ्चनपुर, दाङ्ग, लुम्बिनी, बुटवललगायतका स्थानहरूमा कार्यक्रम गरी माटोको विनाशबारे जनचेतना फैलाउने र आम मानिसहरूलाई माटो जोगाउनको लागि जागरूक हुन प्रेरित गरिनेछ ।

‘माटो जोगाऔं’ अभियान सदगुरुद्वारा शुरु गरिएको विश्वव्यापी अभियान हो, जसअन्तर्गत हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोण सहित काम गर्न प्रोत्साहन गरिने आयोजकले जानकारी दिएको छ । विश्वव्यापी माटो जोगाऔं अभियानको लागि सदगुरुले गत मार्च २१ मा लण्डनबाट ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा सुरु गगरेका थिए । सोही यात्राबाट प्रेरित भई माटो जोगाऔँ अभियानका स्वयंसेवक पुनले नेपालमा ३५ सय किलोमिटर दौड गर्ने निर्णय गरेका हुन् ।

हाल माटोको अवस्था निकै भयावह रहेको अनि यसलाई जोगाउनसबै एकजुट भई अघि बढ्नुपर्ने सन्देश फैलाउने उद्देश्य बोकी पुनले दौड पूरा गर्ने सङ्कल्प लिएका छन् ।

संविधान सभाका पूर्व सदस्य डीबी परियार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलगायत उपस्थित भएर पुनलाई शुभकामना दिएका थिए । त्यसैगरी, अल्ट्रा मेरेथन धावक शेरबहादुर थारु, पुष्पलाल श्रेष्ठ, संयोगराज गुरुङ्ग, महेन्द्रमान सिंह, र माटो जोगाऔँ अभियानका स्वयंसेवकहरू संसार पलान्चोके, राजा कार्की, सन्देश अधिकारी, कुबेर साउद, शिवान्स कर्णले नागढुङ्गासम्म दौडेर पुनलाई साथ दिएका थिए ।

माटो जोगाऔँ अभियानलाई समर्थन गर्नको लागि नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आइरहेको छ । आफूलाई भू–मित्र भन्न रुचाउने समर्थकहरूले ‘माटो जोगाऔँ १ अहिल्यै केही गरौं, आउनुहोस् यसलाई साकार पारौं’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

उनीहरूले सडक नाटक, साङ्गीतिक कार्यक्रमदेखि विद्यालय, संघ संस्थाहरूमा गएर जनचेतना फैलाउने कार्यहरूसमेत गरिरहेका छन् । हालसम्म ३० वटाभन्दा बढी विद्यालय र ११ वटा संघ संस्थाहरूमा यस्ता कार्यक्रमहरु आयोजना भइसकेको छ । त्यसैगरी, ६ हजारभन्दा बढी विद्यार्थीले आफू माटोको दयनीय अवस्थाप्रति चिन्तित रहेको कुरा व्यक्त गरी माटोलाई पहिलेकै अवस्थामा फर्काउन र माटो सुरक्षित राख्ने नीतिहरू लागू गर्न आग्रह गर्दै राष्ट्रप्रमुखलाई चिठ्ठी लेखिसकेका छन् । यो क्रम अझै जारी रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.