तेल र मसलाबिनाको अचार

  २०७९ जेठ ३१ गते १०:२५     विकासन्युज

चितवन । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईं हामीले खाइरहेका छौं । तर तेल र मर मसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।

भरतपुर महानगरपालिका-४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेका छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गथिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् ।

सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईं सन् २०१६ मा नेपाल भकिइन् । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परिन् । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् ।

चापागाईं अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहेकी छिन् । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताइन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनी आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छिन् । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन् ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उनले बताइन् । पूर्णकलाले भनिन्, ‘स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।’ परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताइन् । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भनिन्, ‘सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छौं ।’ एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.