नारायणगढ-मुग्लिन सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध

  २०७९ जेठ २६ गते ९:३१     विकासन्युज

तस्विरः सामाजिक सञ्जाल

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

जेठ २६ गते बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

त्यस्तै, दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.