धमाधम मर्जरको सम्झौता गर्दै बीमा कम्पनी, प्राइम, गुराँस र युनियन लाइफबीच पनि मर्ज हुने

  २०७९ वैशाख २९ गते १७:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन भइरहेको छ । एक साता अगाडि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने सम्झौता भएकोमा आज (बिहीबार) प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्झौता भएको हो ।

बिहीबार तीनवटा जीवन बीमा कम्पनीबीच एक आपसमा गाभ्ने गाभिनेबारे सम्झौता भएको हो । सम्झौतामा मर्जरपछि बन्ने संस्थाको नाम भने नयाँ नै हुने उल्लेख छ । कम्पनीहरुबीचको स्वाप रेसियो पनि टुङ्गिएको छैन ।

मर्जर समितिले नै सो विषयको टुङ्गो लगाउनेछ । तीन वटै बीमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड रुपैयाँ छ ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिकाे दबाबमा छन् । कम्पनीहरूले अहिले समितिसमक्ष पुँजी वृद्धिकाे योजना पनि पेश गरिसकेका छन्। कम्पनीहरूले पुँजी वृद्दीका लागि  हकप्रद र मर्जर तथा प्राप्ति लगायत  विकल्पहरू अगाडि सारेका छन्।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्याउन पत्राचार गरिसकेकाे छ । कम्पनीहरूले एक वर्षभित्र पुँजी पुर्‍याइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.