२०७९ वैशाख २५ गते १८:२२ विकासन्युज
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य ठूला राजनीतिक दलहरुले घाेषणापत्रमा सार्वजनिक यातायातलाई प्राथमिकतामा साथ उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले सार्वजनिक यातायात क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन् । तीनै दलले सार्वजनिक गरेको घोषणा पत्रमा संघीय सरकारको योजनालाई पार्टीहरुले मतदाता आर्कषण गर्नलाई समावेश गरेको जानकारहरु बताउँछन् । यातायात इन्जिनियर आशिष गजुरेल राजनीतिक दलहरुले ठूला एजेन्डा छोडेर सबै स्थानीय तहमा कालोपत्रे पुर्याउने योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।
उनले सहरलाई सहरजस्तो बनाउन यातायात क्षेत्रको राम्रोसँग विकास हुनुपर्नेमा जोड दिए । ‘सहरलाई सहरजस्तो बनाउन यातायात क्षेत्रलाई राम्रो बनाउनुपर्छ, जबसम्म हामीले यातायात प्रणालीको विकास गर्न सक्दैनाैं, तबसम्म राम्रो विकास हुँदैन’, उनले भने ।
‘स्थानीय तहबाट मेट्रोरेल र मनोरेल सञ्चालन गर्न सम्भव छैन, यसअघिको निर्वाचनमा मुख्य राजनीतिक दलले त्यसलाई नै मुख्य एजेन्डा बनाउनु भएको थियो, स्थानीय तहबाट र ५ वर्षमा निर्माण गर्ने सम्भावना नहुने देखिपछि अहिले उक्त विषय आएको छैन्’, उनले भने ।
उनले केबलकारले आम उपभोक्तालाई सार्वजनिक यातायात सरह सेवा दिन नसक्ने बताए ।
‘सार्वजनिक यातायातको रुपमा तत्काल केबलकारको प्रयोेग गर्न सकिँदैन, हामीले खोजेको सार्वजनिक यातायातको सुविधा पनि दिदैन, केबलकार भनेको पर्यटन क्षेत्रलाई प्रमोट गर्न हो, अहिले जतिपनि सञ्चालनमा छन् ती सबै धार्मिक तथा पर्यटकी क्षेत्रमा बनाइएको छ, अहिले नै सार्वजनिक यातायातको रुपमा हामीले केबलकार प्रयोग गर्न सकिदैन्, बसलाई व्यवस्थित गर्दै ठूला बसहरु सञ्चालनमा ल्याउनुपर्ने हो’, उनले भने ।
केबरकारको योजना छोडेर सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्याउनुपर्ने उनले जोड दिए । ‘राजनीतिक दलले सडक कालोपत्रे योजनालाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ, यस्ताखालका परियोजना राख्नुपर्छ, कुनै स्थानीय तहमा १०० किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा २० किलोमिटर मात्रै कालोपत्रे भएपनि ठूलो उपलब्धी हो’, उनले भने ।
नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उल्लेख गरिएको छ ।
ठूला सहरहरुमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने, यातायात सुविधा पुगेका पालिकाहरुमा बस टर्मिनल, बस पार्क, पार्किङ क्षेत्र विकास, ढुवानीका साधन पार्क, अटो भिलेज आदीको विकास गर्ने उल्लेख गरिएको छ ।
यस्तै, नगर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने, विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने, आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने उल्लेख छ ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा निजीक्षेत्रको समेत सहयोगमा पर्यटकीय स्थानहरुमा केबलकार, रोपवे निर्माण तथा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै, उक्त घोषणा पत्रमा सबै गाउँ नगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्याउने, सडकमा अनिवार्य फुटपाथ र साइकल लेनको व्यवस्था गरी स्थानीय तहहरुलाई पैदल यात्रु र साइकल मैत्री बनाउने तथा अपांगमैत्री सार्वजनिक यातायातलाई सञ्चालनमा ल्याउने उल्लेख छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले हरेक पालिकाहरुले आप्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरु योजना बनाई लागू गर्ने उल्लेख गरेको छ ।
पालिकाको योजनाविना जथाभावी सडक बनाई कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावतरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहन गरिने, केन्द्र तथा प्रदेश सरकारका योजनासँग समन्वय गरी अर्काे पालिका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण गरिनुका साथै भएका सडकको स्तरोन्नति गर्ने उल्लेख छ ।
यस्तै, पालिका केन्द्रदेखि वडा केन्द्रसम्म सहज यातायातका लागि सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिने तथा सडकका नाममा जग्गाको नक्सा पास गराएर मात्र निर्माण सुरु गर्ने उल्लेख छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.