मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

  २०७९ वैशाख २३ गते १२:२१     विकासन्युज

बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए ।

साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ ।

विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ ।

राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडाैं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । एघार मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि सात मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उनले बताए ।

सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्साङ्कनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.