यसरी ठगी हुन्छ सामाजिक सञ्जालमा : ९ महिनामा ८ करोड ठगी

  २०७९ वैशाख २० गते १२:०२     विवश कुलुङ


काठमाडौं । नेपालमा फेसबुक, भाइबर, अनलाइन बैंकिङ, ह्वाट्स एप, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्म थाहा नपाउने कमै होलान् । अझ धेरैले प्रयोग पनि गरिरहनु भएको होला ।

यस्ता डिजिटल प्लेटफर्महरू कुनै मनोरञ्जनका लागि बनेका हुन् । कुनै सूचनाका लागि । कुनै डिजिटल कारोबारका बनेका डिजिटल प्लेटफर्म हुन् । फरक–फरक प्रायोजनका लागि प्रविधिहरू बने पनि ठगी हुने कारण भने लगभग एउटै रहेको प्रहरी अनुसन्धानले देखाउँछ ।

‘एकजना ग्यारेजमा काम गर्ने भाइ थियो, उसलाई चिठ्ठा परेको भनिएछ र चिठ्ठाको रकम लिन कर तिर्नु भनिएछ, त्यो भाइले पनि रकम कसैको बैंक खातामा हालिदिएछ, तर उसले रकम नपाएर ठगीमा परें भन्दै यहाँ आयो,’ नेपाल प्रहरीको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला सुनाउन लागे –अनुसन्धानको क्रममा के पत्ता लाग्यो भने भाइ सामाजिक सञ्जालमा एक अपरिचितसँग चिनजान भएपछि जागिरको लोभमा आफ्नो खाताबाट कारोबार गर्न दिएको देखियो ।’

प्रहरीका अनुसार उसको अपराध गर्ने नियत होला/नहोला तर उसको खाताबाट कारोबार भएकोले उसको संलग्नता देखिन्छ ।

प्रहरीका अनुसार ग्यारेजवाला भाइको अपरिचित साथी नेपाली नभएर पाकिस्तानी हो । पाकिस्तानीले केही दिनको बोलचाल पछि जागिर दिने आश्वासनमा चारवटा खाता खोल्न लगाउछ । काम केही गर्नै नपर्ने । खातामा पैसा जम्मा भइरहने र मासिक २० हजार आफ्नो तलब कटाएर बाँकी मैले भनेको ठाउँमा जम्मा गर्नु भनेर ती पाकिस्तानीले पैसा जम्मा गर्ने गरेको रहेछ ।

‘म नेपालमा व्यापार गर्छु, व्यापारको रकम जम्मा गर्नु भनेर ती ग्यारेजवालालाई प्रयोग गरेका छन्, ग्यारेजवालाको आफ्नै खाताबाट कारोबार भएकोले ग्यारेजवाला भाइ दोषी हुन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने ।

त्यस्तै, एक जनाको नागरिकता र फोटो प्रयोग भएको बैंक खाताबाट कारोबार भइरहेको छ । तर, जो कागजातमा संलग्न छन् उ न बैंक पुगेको छ न हस्ताक्षर नै आफूले गरेका छन् । तर उसको खाताबाट कारोबार भइरहेको छ ।

त्यस्ता खाताहरू पछिल्लो समय मौलाउँदै गइरहेको क्रिप्टोकरेन्सीजस्ता कारोबारसमेत अपराधीहरूले प्रयोग गरिरहेका छन् । जब प्रहरीकहाँ मुद्दा दर्ता हुन्छन् तब डिजिटल अपराधका खेलाडीसम्म पुग्न मुस्किल हुन्छ भने साधारण व्यक्ति फस्छन् ।

प्रेम सम्बन्ध पनि अचेल आर्थिक नोक्सानीको कारक बन्न थालेको छ । यस्तै, एउटा विषय प्रहरीको साइबर व्युरो हुँदै अपराध महाशाखासम्म पुगेको छ ।

एउटा उदाहरण यस्तो छ, केटा केटीबीच प्रेम बसेपछि म्यासेन्जरबाट कुरा हुन्छ । भेटका प्रेमिल क्रियाकलापहरू मोबाइलमा कैद गरिएको हुन्छ । केटा र केटीबीच राम्रो सम्बन्ध हुँदासम्म गोप्य राखिने भिडियो र फोटो जब सम्बन्ध बिग्रिन्छ, तब सामाजिक सञ्जालमा धम्की दिने र पैसाको बार्गेनिङ गर्नेजस्ता उजुरी प्रहरीसँग दर्ता हुन्छ ।

‘फेसबुकमार्फत् हाम्रो चिनजान भयो, बेलाबखत भेटघाट हुन थाल्यो, सम्बन्ध नजिकिँदै जाँदा सहमतिमै शारीरिक सम्बन्ध पनि रह्यो, फोटो पनि खिच्यौं,’ पीडितले प्रहरी समक्ष भनेकी छन् ।

प्रहरीका अनुसार पीडित विवाहित हुन् । उनीहरूको सम्बन्धबारे श्रीमान् र परिवारका सदस्यले थाहा पाएपछि उनी ती परसम्बन्धबाट टाढा रहन चाहन्छिन् । तर, केटाले धम्की दिने र मोबाइलबाट फोटो हटाउनै परे पैसा दिनु भन्दै बार्गेनिङ गर्न थाल्छ । धम्की, बदनाम, बेइज्जती नरोकिने भएपछि महिलाले प्रहरीमा उजुरी दिन्छिन् ।

प्रहरी अनुसन्धानको क्रममा खुलेका यस्ता तथ्यले के देखाउँछ भने समयअनुसार आएका प्रविधिलाई सदुपयोग गर्न जानिएन र सकिएन भने वा आफन्त वा प्रेमको नाममा हदभन्दा बढी विश्वास गर्दा फस्न सकिन्छ । साथै आफूले आफ्नो परिचय खुल्ने कुनै डकुमेन्ट अरूलाई दिँदा सहजै अरूले अपराध गरिरहने र मुद्दा पर्दा आफू फस्ने भएकोले यसबारे सजग रहन प्रहरीको आग्रह छ ।

डिजिटल प्लेटफर्म प्रयोग गरेर अपराध गर्नेहरूले तपाईका सबै डाटा अध्ययन गरिरहने भएकोले आफ्नो नामबाट अरूलाई सिम निकाल्न, आफ्नो नामबाट अरूलाई बैंकिङ कारोबार नगराउन र आफूले प्रयोग गरेका कुनै पनि सामाजिक सञ्जालको पासवर्ड जस्ता गोप्य विवरणहरू कसैलाई नदिन प्रहरीको सुझाव छ । यसले आफू संलग्न नभए पनि आफू फस्ने भएकोले सजग हुनुको विकल्प नरहेको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनदेखि यता प्रहरीमा करिब ८ करोड रुपैयाँ ठगीका उजुरी परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एवं प्रहरी उपरीक्षक कोइरालाका अनुसार विभिन्न शीर्षकमा ४२१ वटा आर्थिक रुपमा ठगिएको भन्दै उजुरी परेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकअनुसार चिठ्ठा परेको छ भन्दै ठगी ८२ वटा, विदेशबाट पार्सल पठाइदिन्छु भनी ठगी ६३ वटा, मोबाइल किन्न भन्दै ठगी ५७ वटा, फेसबुक ह्याक गरी ठगी ५० वटा, बैंक खाताको ओपीडी कोड मागेर ठगी २२ वटा र इसेवा भनी ठगीका २१ वटा उजुरी परेका छन् ।

त्यस्तै, अनलाइनबाट रोजगारी दिन्छु भनी ठगी १० र अन्य विविध प्लेटफर्मबाट ठगी १०८ वटा गरी ४२१ वटा उजुरी परेका प्रहरीले जानकारी दिएको छ ।

उक्त ४२१ पीडितहरूबाट ७ करोड ८७ लाख ७९ हजार ४९७ रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको हो । सबैभन्दा धेरै गत मंसिरमा मात्र दुई करोड ८० लाख ठगीका उजुरी परेको थियो । प्रहरीले अनुसन्धान जारी राखेको छ भने ४७ अनुसन्धानको किनारा लगाउदै ६९ लाख ३० हजार ३९० रुपैया रकम असुल गरेको छ ।

‘कारोबार भएको डिभाइससम्म प्रहरीको पहुँच पुग्दैन, दर्जनौ सामाजिक सञ्जाल प्रयोग हुन्छ तर नेपालमा एउटाको पनि सम्पर्क कार्यालय छैन । एक्लो प्रयासबाट अनुसन्धान जटिल र ढिला हुन्छ,’ अनुसन्धानमा किन प्रहरी कमजोर देखियो भन्ने प्रश्नमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइराला भन्छन् ।

प्रहरीका अनुसार धेरैजसो अपराध विदेशबाट हुने र त्यसको अनुसन्धानका लागि विदेशी निकायसँग समन्वय गर्दा ढिला भएको हो । साथै समन्वय गर्दा नीतिगत समस्यका कारण पनि समस्या भएको हो ।

नेपालबाटै हुने अपराधमा पनि वास्तविक अपराधीसम्म पुग्न धेरै समय लाग्छ । किनकि अपराधिहरूले आफ्नो नामको वाइफाइ प्रयोग नगर्ने, आफ्नो नामको सिम प्रयोग नगर्ने र इसेवा तथा बैंक खाता पनि अर्कैको प्रयोग गर्ने भएकाले सोझासिधा फस्ने तर ठगी प्रकरणमा संलग्नहरू उम्किने समस्या छ ।

नेपालको कमजोर नीति र व्यवस्थाका कारण अरूको नाममा सबै डकुमेन्ट लिन र प्रयोग हुने गरेकोले नीतिगत असहयोग भएको प्रहरीको भनाइ छ । प्रहरी संगठनभित्र डिजिटल प्रविधिमा दक्ष जनशक्ति नभएकोले पनि समस्या भएको छ ।

अनलाइन वा विभिन्न सामाजिक सञ्जालबाट ठगी हुँदा गरिने कार्वाहीसम्बन्धी ऐन कानून पनि नबनेको प्रहरीले भनाइ छ । अहिले प्रहरीले यस्ता प्रकृतिका मुद्दा बैंक तथा वित्तीय संस्था ऐन २०७५ अनुसार अनुसन्धान र कारबाही गरिरहेको छ । ऐन नबनेकै कारण यो ऐनको आधारमा काम कारबाही गरिरहेको प्रहरीले जनाएको छ ।

यसरी पछिल्लो ९ महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरी र अनुसन्धान हेर्ने हो भने ठगी हुने कारण एउटै हो, प्रयोग गर्न नजान्नु ।

त्यसैले आफ्नो नागरिकता प्रयोग गरी अरूलाई सिम निकाल्न नदिन, इसेवा, बैंक खाता खोल्न नदिन र श्रमभन्दा बढी आम्दानी हुने काममा हात नहाल्न प्रहरीको सुझाव छ । त्यस्तै, फेसबुकको पासवर्डमा मोबाइल नम्बर, जन्ममिति, आमाबुबाको नाम, जन्मस्थान, कलेजको नाम आदी प्रयोग नगर्न तथा प्रेम वा आफन्तको नाममा हदभन्दा बढी विश्वास गरेर अश्लिल फोटो वा भिडियो नखिच्न पनि प्रहरीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X