२०७९ वैशाख १२ गते १२:१२ विकासन्युज
काठमाडौं । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन् ।
सो भेटमा सद्गुरु र कार्यकारी सचिव थिएयुले माटो अनमोल स्रोत भएकोले यसलाई जोगाउन र विनास हुनुबाट रोक्न जरुरी रहेकोमा सहमत भए । हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछ र सचेतन भएर गरिने कार्यहरुले ठूलो भिन्नता ल्याउँछ भन्ने कुरा सबैले महसुस गर्नुपर्ने उनीहरुको भनाई छ ।
‘थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठान्दछन्, सर्वप्रथम, हाम्रो चेतनामा यो कुरा रहनुपर्छ कि माटो कुनै सामग्री वा वस्तु होइन, यो हाम्रो जीवनको स्रोत हो,’ सद्गुरुले भने ।
सद्गुरु र इब्राहिम थिएयु अहिले हामीले सामना गरिरहेका जलवायु परिवर्तन, जैविक–विविधतामा क्षति अनि पर्यावरणीय प्रणालीको विनाशलगायत वातावरणसम्बन्धी प्रमुख चुनौतीहरूको सरल र शक्तिशाली समाधान भनेको जमिन र माटोलाई पहिल्यैको अवस्थामा फर्काउनु हो भन्नेमा सहमत थिए ।
माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्ने गरेको छ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान भएको उनीहरुको दाबी छ । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ । विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैरसरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन् ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस् भन्ने ध्येय राखेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.