२०७८ चैत ३० गते ११:४३ राजिव न्यौपाने
काठमाडौं । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको ५५ प्रतिशत काम सकिएको छ । भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाट जलविद्युत क्षमताको उक्त जलविद्युत् आयोजनाको काम तीव्र गति भइरहेको हो ।
पछिल्लो समय आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको लगानी बोर्डका उपप्रवक्ता रमेश अधिकारीले बताए । सो आयोजनाको काम एसजेभीएन अरुण तेस्रो पावर कम्पनी (एसएपीडीसी) गर्दै आएको छ ।
उपप्रवक्ता अधिकारीका अनुसार प्रसारण लाइनको काम १२ प्रतिशत भन्दा बढी र जेनेरेसन कम्पोनेन्ट कन्स्ट्रक्सनको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । सो परियोजनाको कुल लागत एक खर्ब ४४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
‘यो आयोजना भारत र नेपाल दूबैको लागि महत्वपूर्ण छ, परियोजनाको काम तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ, कम्पनीले पनि द्रुत गतिमा काम गरिएको छ, अहिलेका खर्च अनुसार उपलब्धि पनि राम्रो नै देखिन्छ,’ उनले भने ।
सन् २०२३ भित्र उक्त जलविधुत आयोजनाको काम सक्ने निर्माण कम्पनीको योजना छ । कोभिड महामारीका कारण आयोजनाको सम्पन्न हुने तालिका केहीपछि धकेलिने सम्भावना छ । यद्यपि, आयोजना निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले राखेको छ ।
अरुण तेस्रो नेपालमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । उक्त जलविद्युत आयोजनाको उद्घाटन २०७५ साल बैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गरेका थिए । आयोजना निर्माणको कार्य ५ वर्षमा सक्ने भनिएको थियो ।
भारतीय कम्पनी हाइड्रोले सो आयोजना बनाउन लागेको हो । सतलज कम्पनीमा भारतीय केन्द्रीय सरकारको ६४.४६ प्रतिशत सेयर छ भने हिमाञ्चल प्रदेशको २५.५१ प्रतिशत र बाँकी सर्वसाधारण सेयर छ ।
सतलजले एसजेभीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत आयोजनाको निर्माण सुरु गरेको हो । कम्पनीले नै संखुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४ सय केभीएको प्रसारणलाइन निर्माण गर्नेछ । आयोजनाबाट २ सय २५ मेगावाट क्षमताको चार वटा युनिटबाट ९ सय मेगावाट बिजुली उत्पादन गरिनेछ ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर पाउनेछ । एसजेभीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ । एसजेबीएनले स्टेट बैंक अफ इन्डिया (एसबीआई) बाट ४१ अर्ब भारु अर्थात् ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको छ ।
उक्त आयोजना निर्माण गर्नको लागि नेपालका नबिल र एभरेस्ट गरी २ बैंकले ९ अर्ब भारु अर्थात् १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेका छन् । भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेभीएनले ८० अर्ब रुपैयाँ अर्थात् ५० अर्ब भारु ऋण लिनेछ । ४ लटमा आयोजनाको काम भइरहेको छ ।
आयोजनालाई लगानी बोर्डले सहजीकरण गरिरहेको छ । मकालु–५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका–२ को पुखुवामा विद्युत् गृहस्थल रहनेछ । विद्युतगृह पुखुवामा भारतीय पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ ।
जलप्रवाह (आरओआर) मा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारी अन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाउन लागिएको हो । सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ ।
हाल पावर हाउस, ड्याम लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ । सो परियोजनामा हालसम्म २८ अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.