रङले हाम्रो छालासँगै स्वास्थ्यलाई राम्रो गर्छ, यसलाई नकारात्मक नलिउँ: डा. काफ्ले

  २०७८ चैत ३ गते १२:३९     विकासन्युज

काठमाडौं । होली पर्वलाई समाजमा सकरात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । फागुन शुल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकरात्मकता र सद्भावना ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरुले जोड दिएका हुन् ।

रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ साटासाट गरेर मनाइने प्रचलन छ । कोरोनाका कारण गत तीन वर्ष हर्षोल्लासका साथ मनाउन नपाएको होली यस वर्ष भने नेपालको काठमाडौंसहित देशभर नै हर्षोल्लासका साथ मनाउन लागिएको हो । सह प्राध्यापक डा. प्रियंवदा काफ्लेले होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताए । उनले अहिले नेपालमा होलीलाई नकरात्मक तवरबाट मनाइँदै आएको बताउँदै होली राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने पर्व भएको बताए । उनले होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा जोड दिए । सह प्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकोले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताए ।

सह प्राध्यापक काफ्लेले भने, ‘फागुलाई २/३ वटा दृष्टिकोणले हेर्न सकिन्छ । राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने फागुपर्व, अर्को पक्ष भनेको कृष्ण भगवानले गोपिनीहरुसँग वसन्तोत्सव मनाएको फागु पर्व होली हो । पौराणिक कालदेखि नै यो शुरुवात भएको देखिन्छ । यो मुख्यतया राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने यो खालको पर्व हो । मान्छे, पशुपंक्षी, वनस्पति, प्रकृति सबैप्रति हामी निरन्तर सद्भाव राख्छौँ भन्ने कुरालाई सन्देशको रुपमा बोकेको पनि यो पर्व हो । यसलाई रङहरुको पर्वको रुपमा धेरैले जान्दछन् । रङहरुको महत्वलाई हेर्दा हाम्रो सबै चाडपर्वहरु प्रकृतिसँग नजिक छ । हामीले प्रकृति रङहरुलाई ग्रहण गर्नुपर्छ । प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो त्वचा (छाला) लाई, स्वास्थ्यलाई धेरै नै लाभ पुग्छ । कृत्रिम खालका रङहरुलाई हामीले लिँदा त्यसले धेरै हानी गर्दछ । अहिलेको बालबच्चाहरुलाई हामीले रङहरु कसरी बनाउने, चुकन्दरबाट पनि हामीले एक प्रकारको बैजनी खालको रङ बनाउन सकिन्छ । बेसारबाट पहेँलो रङ हुन्छ । बेसार हाम्रो त्वचाको निमित्त औषधिय गुणले भरिपूर्ण हुन्छ । चामलको पीठोबाट हामीले सेतो रङ बनाउन सकिन्छ । चामलको पीठो पनि हाम्रो त्वचाको निमित्त असाध्यै राम्रो हुन्छ । दाद, पोतो हराउने हुन्छ । विभिन्न फूलहरुको लेप लगाउने, त्यस्तै किसिमका स्नान द्रव्यले स्नान गर्ने त्यो किसिमको वातावरण हामीले बनाउनु पर्छ । घरमै बनाइएका रङहरुलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ । कसैले पनि यसलाई नकारात्मक रुपमा व्याख्या गर्न हुँदैन ।’

सह प्राध्यापक काफ्लेले होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने बताए । उनले प्रकृति मेरेपछि संस्कृति नरहने जिकिर गर्दै नेपाली भाषालाई प्रोत्साहन गर्नुपर्ने र होली लगायतका नेपाली चाडपर्वहरुलाई विषयगत पाठ्यक्रममा राख्न आजको आवश्यक्ता भएको बताए ।

सह प्राध्यापक काफ्लेले भने, ‘होलीको महत्व बुझाउनको निमित्त हामीले शिक्षामा यसलाई समावेश गर्न आवश्यक छ । प्रकृति हाम्रो निमित्त कति आवश्यक छ ? प्रकृति मरेपछि हाम्रो संस्कृति मर्छ, सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाइदिएपछि भाषा मर्छ । हाम्रा बालबालिकाहरु, नेपालीहरुले नेपाली भाषा नजान्ने अवस्था आउनसक्छ । भाषा नजानेपछि भाषाले बोकेको संस्कृति र सन्देश पनि मर्दै जान्छ । शिक्षामा हामीले नेपाली भाषाको माध्यमले पढाउनुपर्छ ।’

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । होलीका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.