सेयर बजारबाट अरिंगालले गुँड बनाउने परिस्थिति आउन सक्छ

  २०७८ चैत २ गते १७:१९     दीपेन्द्र बहादुर क्षेत्री

वस्तुवादी कुरा गर्न खोज्यो भने फरक हुँदो रहेछ । सेयर बजार भनेको त कम्पनीहरु सुचिकृत भएर आएका छन् । वर्षाैं वर्षदेखि उनीहरुले काम गरेका छन् । उनीहरुको तथ्य र तथ्यांकहरु सार्वजनिक भएको छ ।

यसमा केही अपवाद पनि रहेछन् । जस्तो कि राष्ट्रिय बीमा कम्पनीको पछिल्लो ४/५ वर्षको लेखापरीक्षण भएको रहेनछ । जस्तै बलबीर आएपनि त्यो अडिट चै गर्न मिल्दो रहेछ, कुन्नी किन हो ।

केही समय अघि राष्ट्र बैंकका अवकाश प्राप्त विशिष्ट श्रेणीको कर्मचारी त्यहाँ जानु भएको थियो । उहाँ इमान्दार र केही गर्न खोज्ने मान्छे पनि हुनुहुन्थ्यो । मैले उहाँलाई ल यो कम्पनी अडिट गरेर अद्यावधिक गरेर छोडिदेउ त भनेको, तर गर्न सक्नु भएन । अरु कसैले पनि गर्न सक्नु भएन ।

अब त्यो संस्थाको (राष्ट्रिय बीमा कम्पनीको) काम कारबाहीको, यसोत्यसोको मान्छेहरुले कति जानकारी पाए होलान् । त्यही कम्पनीको एउटा सेयरको मूल्य १६/१७ हजार रुपैयाँ छ । मैले यो उदाहरण मात्रै दिएको । यस्तो भने वापत मैले राष्ट्रिय बीमा संस्थानको संचालक समितिसँग माफी माग्नुपर्छ होला, त्यो आफ्नै ठाउँमा रह्यो ।

एकदमै डार्क (अध्यारो) मा रहेको हाइड्रोले सय रुपैयाँमा सुचिकृत भएर आउनु पर्नेमा प्रिमियम मूल्य राखेर २/३ सयमा राख्दा पनि छप्पर फाडेर दिन्छ भन्दै हारालुछ गरेर लिएको अवस्था पनि छ ।

लामो समयदेखि क्रेडिबल देखिएका, नेपाल राष्ट्र बैंकले एकदमै राम्रो भनेर प्रत्येक वर्ष सम्मान गरेका वाणिज्य बैंकहरुको अधिकतम सेयर मूल्य ८/९ सय पुग्ने, होइन भने ४/५ सय रुपैयाँ पुग्ने गरेको छ । अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य प्रतिकित्ता ३ सयदेखि ६ सय रुपैयाँको बीचमा छ जस्तो लाग्छ । तर, एउटा लघुवित्त (जसको लगानीको स्रोत अर्कै छ, आफ्नो छैन, किनभने लघुवित्तले निक्षेप लिन पाउँदैन) जो अर्काबाट बरो गरेर ल्याएको पैसा लगानी गर्नेको सेयर मूल्य ४ हजार, पैतालिस सय, पाँच हजार पुगेको छ ।

यो भनेको के हो त ? र्यासनल्ली बिचार गर्ने मानिसलाई कि त बौलाहा भन्नुपर्यो । मलाई एक पटक त्यसै भनेका पनि छन् । मैले जे कुरा भनेको छु, त्यो वस्तुमा आधारित रहेर भनेको छु । धेरैलाई पच्दो रहेनछ । तर, मैले यो कुरा भन्नछोडेको छैन । म के भनिरहेको छु भने कम्पनीको विषयमा राम्ररी बुझेर लगानी गर्न गएको छ भने समस्यमा परिदैन ।

कम्तिमा छ महिन पर्खन सक्ने गरी लगानी गर्नुपर्छ । छ महिनापछि त्यही कम्पनीले पनि राम्रो दिन सक्छ । पर्खन नसक्ने, आज ५ रुपैयाँ नाफा भयो भने हच्कियो, त्यसको डिफरेन्स बैंकबाट लियो, फेरि १० रुपैयाँ नाफा भयो र जाने बेलामा एकैचोटी २५ गयो भने त टाउको समात्नु पर्ने हुन सक्छ । किनभने बैंकको त्यो डिफरेन्स बुझाउनु पर्ने हुन्छ ।

सेयर बजारमा पर्खन सक्नेहरुले बाजी मार्दा रहेछन् । बेलाबेलामा उफ्रिरहनेहरु भने तावाबाट उफ्रिएर भुंग्रोमा पर्दा रहेछन् ।

५० लाख मानिस सहभागी भएको बजार र्यासनल हुँदैन र ?

दुई तिहाईको सरकार पुरै समय टिक्छ, यसले राम्रो काम गर्छ भनिएको होइन र ? हामीले त त्यो कुरा पनि भोग्यौं । कोभिडको समयमा मान्छेहरुको काम थिएन । एउटा ल्यापटप लियो, डिम्याट खाता खोल्यो, सेयर बजारमा संलग्न भयो ।

मैले एउटा अनुभव गरेको छु । एउटा फोटो लिनुपर्यो भनेर फोटोग्राफरकोमा गएँ । ऊ फोटो राखेको ल्यापटपमा सेयर हेरिरहेको थियो । मैले – ए भाइ, मलाई प्राथमिकता दिनुस् न मलाई फोटो चाहिएको थियो भनें । उसले– पर्खनुस् न, यहाँ सेयरमा यस्तो यस्तो भइरहेको छ, तपाई कहाँ फोटोको कुरा गर्नुहुन्छ भन्यो । मलाई लाग्यो यो भाइलाई निकै नसा लागेको रहेछ । एकछिन पर्खिएँ । त्यहाँबाट सेवा नपाउने देखेपछि निरास भएर फर्किएँ । अर्काे ठाउँमा गएको, बैंकको छेउमा थियो त्यो ठाउँ । त्यहाँ मान्छेहरु कुरा गरिरहेका थिए– हामीले एउटा भाइलाई १० लाखको कर्जाको सीमा तोकेर काम गर्न दिएको, एउटा हाइड्रोमा हालेको, करिब करिब १ करोड रुपैयाँ कमायो । हाम्रो पैसा फिर्ता गरिदियो । ऊ चाही ६०÷७० लाख रुपैयाँ लिएर अहिले पनि काम गरिरहेको छ भन्दै थिए । उसले आफ्नो व्यवसाय छोडेर नै सेयर बजारमा काम गरिहेको रहेछ ।

भनेपछि यसमा फाइदा त रहेछ । सिस्टमभित्रैबाट पनि केही गर्न सकिदो रहेछ । अधिकांश मानिसहरु यही देखेर त्यहाँ झुम्मिएका पनि छन् । कति सक्रिय छन् भन्ने म जान्दिनँ । तर, धेरैजसो साना लगानीकर्ताहरु रहेको परिस्थितिमा ठूला लगानीकर्ताहरुले ८÷१० वटा सेयर फालिदिन्छन् । त्यसपछि त्यसको भाउ बढ्यो भनेर गएपछि ठूलोले सेयर बेचिदिन्छन् । यस्तो बेलामा जसरी माहुरीहरु गुलियोमा अल्झेर बसेका हुन्छन्, त्यहीबेला अरिंगाल आएर माहुरी नै टिपेर लाने जस्तो अवस्था आउँछ । साना लगानीकर्ताहरु घानमा पर्ने र अरिंगालहरुले आफ्नो गुँड बनाउने परिस्थिति आउन सक्छ ।

कतिपय मानिसले भन्छन् कि अहिले अनलाइनबाट कारोबार गर्न सकिने भएपछि यस्तो किन होला र । मसँग त्यसको जवाफ पनि छ । सबै मानिस सबैकुरा बुझेर तर्क संगत ढंगले नै सेयर बजारमा लाग्नु भएको छ भने त समस्या भएन । तर, हाहाको भरमा, फलानोले यसो भनेको थियो भनेर जाने, यो कम्पनीले त पोहोर यति दिएको थियो भनेर जाने जस्तो नबुझेर जानेहरुको लागि बाटो अलि कठिन नै छ भन्ने मेरो भनाई हो । र, गरेर खानेहरुलाई मेरो शुभकामना छ ।

व्यक्तिगत कुरा

मेरो छोराको नाममा सेयर छ कि क्या हो । मलाई थाहा पनि छैन । श्रीमतीको नाममा चाही स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको १० कित्ता आईपीओ परेको थियो । त्यो बढ्दै बढ्दै आएर अहिले कति भयो । म चासो पनि राख्दिनँ । मसँग भने सुचिकृत कम्पनीको एक कित्ता पनि सेयर छैन ।

मलाई सेयर किन्न पनि बढो झन्झट लाग्छ । सिधै, सजिलोसँग गर्ने हो भने बेग्लै कुरा भयो । मेरो बैनीको २÷३ वटा कम्पनीको सेयर रहेछ । डिम्याट खोल्नुपर्ने भयो । म नविकरणको लागि गएँ । अहिले नविकरण भएको छैन जस्तो लाग्छ । किनभने गरिदिनु पर्ने मैले हो । मैले गरिदिएको छैन । त्यहाँ गएर काम गराउन मलाई धेरै झ्याउ लाग्छ । त्यहाँ जानु पर्यो, लाइनमा वस्नु पर्यो, एकदमै बेफुर्सदी भएको क्लर्कले गरेको यी सबै देख्दाखेरि वाक्क लाग्छ ।

म पनि राष्ट्र बैंकको एउटा तहमा बसेर काम गरिसकेकोले मेरो अनुहार धेरैले चिन्दा रहेछन् । मलाई देख्ने वित्तिकै पल्याक र पुलुक हेर्ने हुदो रहेछ । त्यसैले त्यहाँ उभिएर यी सबै गर्ने मेरो रहर नभएकोले मसँग सेयर छैन र भविष्यमा पनि होला जस्तो छैन ।

तर, मलाई सेयरका बारेमा यति धेरै गाली गर्ने भएपछि मैले पनि अनुभूति गर्नुपर्छ कि जस्तो लागेको छ । किनभने निर्वाचन आयोगले नेताहरुलाई भनेछ कि सरकारी बाँकी बक्यौता राख्नेहरु उम्मेदवार बन्न पाउदैनन् । मैले त्यसमा एउटा कुरा थपौं न भनेँ । थप्नु पर्ने कुरा के भने त्यो व्यक्ति इन्टरप्रिनर (उद्यमी) हो र गएको वर्ष अडिट (लेखापरीक्षण) गराएर पाँचवटा रुपैयाँ पनि कर तिरेको छैन भने त्यो पनि उम्मेदवार हुन पाउँदैन भनौं । त्यो भएपछि के हुन्छ भने काम गर्न कति दुःख रहेछ, कर तिर्ने भनेको के रहेछ, कर छलि गर्ने भनेको के रहेछ भन्ने कुरा बुझिसिध्याएपछि सरकारमा गएर हाम्रो अर्थतन्त्रको वास्तविकता उसले बुझ्छ । र, त्यहाँ (सरकारमा) गएर घोटला गर्ने, दुनियाभर गर्ने आँट गर्दैन भनेर मैले त्यसो गरौं न भनेको थिएँ । मैले भनेको त्यो कुरा कसलाई पच्छ र ।

राष्ट्र बैंकमा हुँदा पनि सेयर किन्न मन लागेन ?

बैंक वित्तीय संस्थाको अनुमति लिन आउँदा नै कतिपयले त वार्गेन गरेर, कतिपयले छुट्टयाएका छन् भन्ने पनि सुन्छु म । एक जना वरिष्ठ पदाधिकारीलाई त्यो बेलाको अख्तियारका जल्दाबल्दा प्रमुख लोकमान सिंह कार्कीले बयानको लागि बोलाउनु भयो रे । अनि ती पदाधिकारीको ३ करोड रुपैयाँ जतिको सम्पत्ति देखिएको विषयमा उहाँले प्रश्न गर्नुभयो रे । तिमीहरु काम गर्ने कर्मचारीले यसो गर्न हुन्छ, यो त भ्रष्टाचार होइन भनेर सोध्नुभयो रे । जवाफमा ती पदाधिकारीले भन्नुभयो रे– सरल किसिमबाटै हुन्छ हजुर । ३/४ वर्षमा ३ करोड रुपैयाँ सेयरबाट कमाउन कुनै गाह्रो छैन भन्नुभयो रे । यस्तो सुनेपछि साथीभाइहरु त सेयरबाट करोडपति अरबपति भइसकेछन् भन्ने मलाई महसुस भयो । तर मलाई कहिल्यै पनि चाप्लुसी गर्ने र त्यसैबाट अनुचित लाभ लिन पर्छ भन्ने लागेन । बरु मैले त लाइसेन्स पाइसकेको एउटा बैंकको लाइसेन्स नै खारेज गरिदिएँ ।

सेयर बजारप्रति चासो राख्ने युवालाई सुझाव

सेयर कारोबारमा संलग्न हुँदा खाल्डोमा पर्न पनि सकिन्छ । तर, लगानी गर्दा विचार पुर्याएर काम गरिने भएकोले नराम्रो होइन । खासगरी उत्पादनमुलक कम्पनीले रोजगारी सिर्जना गर्न, उत्पादन बृद्धि गर्न र सेवालाई राम्रोसँग परिचालन गर्नको लागि सहयोग पुग्ने हुन्छ । त्यसैले यस्ता कम्पनीहरुमा इन्भेष्टर (लगानीकर्ता) को रुपमा आउनुस् । ट्रेडर (कारोबारी) को रुपमा सकभर नजानुस् भन्ने मेरो सल्लाह हुन्छ ।
(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X