म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी !

  २०७८ माघ २७ गते १४:१०     दीपक दाहाल

हो ! ठिक सुन्नुभयो । बिल्कुलै ठिक । म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ ।

मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन् । मलाई यो समाज, परिवार र विद्यालयदेखि डर लाग्छ । यदि मेरो ग्रेड ‘ए प्लस’ भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ ।

मलाई मेरो परिवारले भन्नुहुन्छ, ‘हामीले यत्रो सुविधा देको छौं तँलाई । ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ ।’

मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ ।

जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो ‘हिरो’ कस्तो हो भनेर !

मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका ‘ए प्लस हिरोहरू’ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त ?

हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस् !

जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त !

मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त !

यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु ।

मैले समाज र परिवारको कुरा त गरें । अब पालो आयो विद्यालयको

मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट।

हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा।

अब भन्नुस् कुन राम्रो हो ?

खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु ।

अहिले यो कुरा छोडौं । अब जाऊँ मेरो ग्रेडको विषयमा !

जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा ।

‘कति ट्यालेन्ट छौ तिमी’ भन्नुहुन्छ।

के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो तर मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ ?

के अबको १० वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन ?

हाँस्ने यो अर्थमा कि पढाइको ‘हिरो’को अर्थ र परिभाषा बुझाउन ।

आज म जस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ ? कोही छैन !

‘तँ तेरो जिन्दगीमा के चाहन्छस्’ भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन । म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें ।

अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त ?

(सामाजिक सञ्जालबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X