बैंकहरुले छोटो अवधिमा अत्याधिक कर्जा बढाउँदा तरलतामा समस्या देखियोः बिएन घर्ती

  २०७८ माघ २३ गते १४:५२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) तरलता अभाव सम्बन्धी सुझाव कार्यदलका सदस्य बिएन घर्तीले बैंकहरुले छोटो अवधिमा अत्याधिक कर्जा बढाउँदा तरलतामा समस्या देखिएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले आयोजना गरेको तरलता अभावको कारण सम्बन्धी पत्रकार सम्मेलनमा घर्तीले यस्तो बताएका हुन् ।

उनले चालु आ.व.को पहिलो ४ महिनामा निक्षेप करिव १ प्रतिशतले बढ्दा कर्जा भने ९ प्रतिशत बढेकाले तरलतामा चाप परेको उन्ले बताए । बैंकहरुको पुँजी बढेको तर स्प्रेडदर भने पछिल्लो समय घट्दै गएको उनको भनाई छ ।

प्रतिफलको अनुमानमा गरिने लगानी बढेको, कम उत्पादनशील क्षेत्रमा बढ्दा समस्या देखिएको उनी बताउँछन् । उनका अनुसार हाल कम उत्पादनशील क्षेत्रमा करिव ६० प्रतिशत लगानी भएको छ ।

‘२०६० सालदेखिको तथ्यांक केलाउँदा चल्ती र बचतको निक्षेप निरन्तर घटेको छ, फिक्स डिपोजिटको अंश भने बढेर मंसिरमा ५४ प्रतिशत पुगेको छ । कल डिपोजिट ९ प्रतिशत छ । तर दुई वर्षभन्दा बढी अबधीको मुद्दती निक्षेप करिब १० प्रतिशत मात्र रहेको छ । निक्षेप पनि छोटो अबधीको लागि मात्र बढ्नु र कम उत्पादनशील क्षेत्रमा धेरै लगानी बढ्दा नगद प्रवाहमा बेमेल हुन जांदा समस्या आएको हो, कार्यक्रममा बोल्दै घर्तीले भने ।

साथै, उनले पछिल्लो समय रेमिटेन्स पनि घटेको जनाएका छन् ।

कसरी गर्ने समाधान ?

पछिल्लो समय तरलतामा देखिएको समस्यालाई समाधान गर्न राष्ट्र बैंक र बैंकहरुबीच समन्वयात्मक भूमिका हुनुपर्ने उनको भनाई छ । त्यस्तै, बैंकहरुले कर्जा लगानी वृद्धि गर्दा सजग भई नगरेमा सम्पत्ती र दायित्यबीच असन्तुलन भइ ठूलो समस्या आउन सक्ने उनले बताए ।

अस्वभाविकरुपमा तलमाथि हुने गरी पटक पटक व्याजदर परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउदै विदेश जानू अगाडि अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने नीति आवश्यक देखिएको छ र विदेश गएकाहरुको बैंकले दुर्घटनामा बीमा गरिदिने, उनीहरुले पठाएको रकम सटही गर्दा बढी दर प्रदान गर्ने र उनीहरुलाई नेपालमा काम गर्ने कर्मचारी/श्रमिकहरुलाई जस्तै सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

व्यवसायिक योजना पेश गरिने हुनाले आक्रामकरुपमा कर्जा बृद्घि गर्दा नेपाल राष्ट्र बैंक थाहा भएकै भएतापनि समस्या आएपछि मात्रै कर्जा निक्षेपमा सीमा तोक्ने कार्य भएको भन्दै युवा शक्ति बाहिर जांदा पढाइ शुल्कमा मात्रै बर्षेनी ३०/४० अर्व रुपैंयाँ बाहिरिने भएकाले उनीहरुलाई स्वदेशै रोक्ने नीति ल्याउनु पर्ने र अब विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने नीति बनाएर विदेशी मुद्रा भित्र्याउनु पर्ने बताएका छन् ।

साथै, अर्थतन्त्र सहज अबस्थामा नभएतापनि काउन्टर साइकिलिकल बफर क्यापिटल र डोमेस्टिक सिस्टमिकली इम्र्पोटेन्ट बैंक घोषणा गर्ने नीति ल्याउनु पर्ने, निर्यात बढाउनु पर्ने र आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउनु पर्ने घर्तीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.