सेयरमा चलखेल गरेकाे उजुरीपछि सेञ्चुरी बैंकका सञ्चालकमाथि नियामकले थाले छानविन

  २०७८ माघ १६ गते १८:०१     विकासन्युज

काठमाडौं । सेयरमा अस्वभाविक चलखेलकाे उजुरीपछि सेन्चुरी कमर्सियल बैंकका संचालक मनाबहादुर राईमाथि राष्ट्र बैंक र धितोपत्र बोर्डले छानविन सुरु गरेका छन् । उनले एक बैंकसँग भएका छलफल र गाेप्य न्डरस्ट्याण्डिङ अर्काे बैंकमा सुनाउदै मर्जरकाे लागि अस्वस्थ अभ्यास गरेको र आफन्तको नाममा प्रभु बैंकको सेयर खरिद गरेको भन्दै उजुरी परेपछि दुवै निकायले उनीमाथि छानविन सुरु गरेका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार सेञ्चुरी बैंकलाई मर्जरमा लैजान एउटा बैंकसँग निश्चित मूल्यकाे सेयर स्वाप रेसियो तय भएकाे भन्दै अर्को बैंकसँग अस्वस्थ तरिकाले सेयर स्वाप रेसियोमा  बार्गेनिङ गरेको भन्दै उनीमाथि राष्ट्र बैंकले छानविन सुरु गरेको हो । राष्ट्र बैंकले लिखित रूपमा स्पष्टीकरण नै साेधेकाे छ ।

‘सेञ्चुरी बैंक र माछापुच्छ्रे बैंकबीच मर्जरका लागि निश्चित मूल्य तय भएकाे भन्दै प्रभु बैंकसँग स्वाप रेसियोका विषयमा अस्वस्थ नेगोसियसन गरेको र प्रभु बैंकको सेयर आफन्तलाई खरिद गर्न लगाएको भन्ने विषयमा राष्ट्र बैंकमा उजुरी परेको छ, सोही विषयमा रहेर हामीले अध्ययन गर्दैछौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

यस्तै, एक साता अगाडि उनले प्रभु बैंकको सेयर आफन्तका नाममा खरिद गरेको भन्दै धितोपत्र बोर्डमा पनि उजुरी परेको थियो । सोही उजुरीका आधारमा बोर्डले पनि छानविन थालेकाे छ ।

बोर्ड स्रोतका अनुसार उनले आफन्तका नाममा प्रभु बैंककै सेयर खरिद गरेर सेन्चुरी र प्रभु मर्ज हुने प्रचार गराएकाे पनि उजुरीमा उल्लेख छ । सोही उजुरीका आधारमा छानविन थालेको बोर्ड एक अधिकारीले बताए ।

‘भित्री कारोबार गरेको, आफै मर्जर कमिटीको सदस्य भएर प्रभु बैंकको सेयर उठाएको, आफ्नै नामका विभिन्न खाताहरु खोलेर कारोबार गरेको भन्ने उजुरी परेकोछ, अब हामी तथ्यांक उपलब्ध गराउन अनुरोध गर्छौं, र डाटा आएपछि अगाडि बढ्छौं,’ बोर्ड स्रोतले भन्यो ।

सगरमाथा फाइनान्सकाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा हुँदा पनि राइ राष्ट्र बैंककाे कारवाहीमा परेका थिए ।

सञ्चालक राई भन्छन्ः ‘नो कमेन्ट’

सेञ्चुरी बैंकका सञ्चालक राई भने यस विषयमा आफू नबोल्न बताए। सेञ्चुरी बैंक मर्जरको विषयलाई लिएर स्वाप रेसियोमा प्रभु बैंकसँग गरेको अस्वथ बार्गेनिङ र प्रभु बैंकको सेयर खरिद गरेको विषयमा बुझ्न खोज्दा उनले यस विषयमा अहिले आफ्नो कुनै धारणा नरहेको बताए ।

‘त्यो कुरा मलाई नसोध्नुहोस्, जसले भनेको हो उसैलाई सबै कुरा सोध्दा राम्रो होला, यसमा धेरै कुरा गर्न मलाई उपर्युक्त लागेन, तपाईंले सोध्नु स्वभाविक हो, तर म यस विषयमा केही भन्न चाहन्नँ,’ उनले विकासन्युजसँग भने ।

यद्यपि, उनले मर्जरका लागि माछापुच्छ्रे लगायतका ३/४ बैंकसँग छलफल भइरहेको बताए । उनका अनुसार अहिले नै यही बैंकसँग मर्जर गर्ने भन्ने टुङ्गो लाग्न नसके पनि माछापुच्छ्रे बैंकसँग अन्य बैंकभन्दा बढी छलफल भएको बताए ।

उनका अनुसार सेञ्चुरीले स्वाप रेसियो बढी माग्दा पनि माछापुच्छ्रेले सेञ्चुरीले माग गरे अनुसारको दिन मानिरहेको छैन । सोही कारणले पनि सञ्चालक राईले माछापुच्छ्रे बैंकसँग भएको स्वाप रेसियो सम्बन्धि प्रारम्भिक अन्डरस्ट्याण्डिङ देखाएर प्रभु बैंकसँग स्वाप रेसियोको विषयमा बार्गेनिङ गरेको उनीमाथि आराेप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.