साँच्चै, केटी मान्छे लोभी हुन्छन् 

  २०७८ माघ ९ गते १६:५२     आस्था क्षेत्री

यो सृष्टि उस्तो हो कि मेरो दृष्टि उस्तो हो । तर जे भन्छु देखेको भन्छु, भोगेको भन्छु अनि गरेको भन्छु ।

यो लेख्दै जाँदा पक्कै पनि मेरा हातले रोक्किने बाहाना खोज्लान् तर म सत्य लेख्न डगमगाउने भने छैन । शीर्षक हेरेरै बुझिसक्नुभयो होला भन्न खोजेको के हो भनेर । यो लेख्ने म स्वयम् पनि छोरी मान्छे हुँ । जन्मदैमा छोरी मान्छेले धेरै कुरा बोकेर आउने मौका पाउँछन् । जस्तै किः शङ्कालुपन, ईष्या, डाहा, नक्कल, लोभ आदि ईत्यादि ।

पश्चिमाको छोरीहरूको त थाहा भएन तर नेपाली छोरीहरूमा यो लोभ नामक तत्व भरिभराउ हुने गर्छ । महिलाको मुटुको तौल पुरुषको तुलनामा ५० देखि १०० ग्रामसम्म कम हुन्छ । तर महिलाको मुटुमा पुरूषको भन्दा ५० देखि १०० ग्राम लोभ बढि हुने गर्छ ।

मेरी आमा मेरा बाबाभन्दा लोभी हुनुहुन्छ । म आफै पनि मेरो दाजु भन्दा लोभी छु । एक प्रेमिका आफ्नो प्रेमीभन्दा लोभी हुन्छिन् । मावली जाँदा याद गर्नुभएको छ ? मामाभन्दा माइजू नै लोभी लाग्छ । दाजुभन्दा भाउजू लोभी । भाइभन्दा बुहारी ल‍ोभी । खासमा नेपाली समाजमा छोरी मान्छे लोभी हुन्छन् भन्ने कुरा ध्रुवसत्य जस्तै बनिसक्यो ।

महिला लोभी हुन्छन् भन्ने शीर्षक मात्रै बिकिरह्यो । तर किन ? र के का लागि ? लोभी हुन्छन् भन्ने कुराबारे कमैले मात्र विश्लेषण गरे । चेलिबेटीलाई वर्ष दिनमा माइती पुग्दा भएभरको पोको पारेर ल्याउ झै लाग्छ । माइतीकि भाउजू-बुहारीले गरगहना लगाए दाजुभाइले आफुलाई पनि दिए हुन्थ्यो भन्ने लोभ लाग्छ ।

खासमा लोभ हुनु राम्रो हो । इर्ष्या गर्नु चाहिँ गलत हो । लोभ भनेको आफ्नो बचाउनु हो, बचत हो । तर इर्ष्या भनेको अरूको नबचोस् भन्नू हो । छोरी मान्छेहरू लोभी होइनन् बचत गर्ने स्वभावका हुन् ।

हो एक महिला पुरूषको तुलनामा निकै लोभी हुन्छिन् । महिलाहरू घरको ईज्जत्, सम्मान, धन अनि भविष्यको लागि लोभी हुने गर्छन् ।

एउटी आमालाई, कसैले दिएको कुनै सामान वा खानेकुरा धेरै दिए हुन्थ्यो भन्ने कुराको लोभ लाग्छ ताकि घरका अरूको लागि पनि ल्याउन सकु । बाख्राको दाम्ला किन्ने लोभले आफ्नो पुरानो भएको फरिया च्यात्छिन् । सन्तानलाई संसार देखाउन पेट च्यात्छिन्, जवानी च्यात्छिन् ।

आमाहरू निकै लोभी हुने गर्छन् । पुराना साडीहरू फ्याक्दैनन् बरू त्यसैको डसना बनाउछन् । चुहिने बोतल काटेर गमला बनाउछन् । बढी भएका फल फ्याक्नुपर्ने तर उनी तिनै फलको अचार बनाउछिन् । हर्लिक्स सक्किएको बट्टा मिल्काउनुपर्ने तर उनी तिनैमा मह, घिउ अनि अचार राख्छिन् ।

साच्चै छोरी मान्छे लोभी हुन्छन् । र, मलाई लोभी हुन मनपर्छ ।

(गण्डकी, गोरखा)

8 comments on "साँच्चै, केटी मान्छे लोभी हुन्छन् "

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.