हिमपातले हुम्लामा हवाई उडान अवरुद्ध

  २०७८ माघ ६ गते १८:५१     विकासन्युज

सिमकाेट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराइको क्षेत्रमा बाक्लो हुस्सु तुवालोसहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो ।

हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीबार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो ।

सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज हवाई सेवा ठप्प भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.