मेयर शाक्य भन्छन्ः जिम्मा नपाउँदा टेका अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकिएन

  २०७८ माघ २ गते ११:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट भत्किएका संरचनाको पूनर्निर्माणको जिम्मा नपाउँदा अधिकाशं संरचना टेकाकोे भरमा रहेको बताएका छन् ।

आईतबार १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’

यस्तै, उनले सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए ।

गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताए । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ,’ उनले भने ।

महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको बताए । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो ।

स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछ । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो ।

यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.